खाद्यान्न भाउले उपभोक्ता थिचिएको वर्ष ०८१

April 18, 2025

ऋतु काफ्ले, २०८२ वैशाख ५ गते ८:००
गएको एक वर्ष अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा १० प्रतिशतसम्म महँगिएको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाउँछ ।

५ वैशाख, काठमाडौं । नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा वेटर काम गर्छिन् जुना खड्का । उनका श्रीमान दिलकुमार पुरानो बानेश्वरको अर्को रेस्टुरेन्टमा सेफ छन् ।

उनीहरूका ३ छोराछोरी छन् । ४ वर्षअघि छोराछोरीलाई राम्रो शिक्षादीक्षा र जीवनशैली दिन भन्दै रामेछापबाट काठमाडौं आएका थिए ।

दुवै श्रीमान–श्रीमतीको कमाइ जोड्ने हो भने मासिक ६० देखि ६५ हजार रुपैयाँ मात्रै पुग्छ । तर, त्यो कमाइले ५ जनाको परिवार धान्न मुस्किल परेको छ । कारण हो– पछिल्लो समयको महँगी ।

वितेको २०८१ सालमा अचाक्ली बढेको महँगीले काठमाडौंको जीवनयापन असहज बन्दै गएको जुना बताउँछिन् ।

दैनिक उपभोग्य अत्यावश्यक वस्तुको मूल्यवृद्धि बढ्दै जान थालेपछि घर खर्च कसरी धान्ने भन्ने चिन्ताले सताएको छ उनलाई ।

‘पहिले त जेनतेन घर खर्च चलेको थियो, अहिले दैनिक बढेको महँगीले सामान छोइ सक्नु छैन,’ जुनाले अनलाइनखबरसँग दुःखेसो पोखिन्, ‘कमाइ बढ्दैन, खर्च बढेको बढ्यै छ ।’

महँगीले ५ जनाको खर्च धान्नै मुस्किल परेको उनले सुनाइन् । ‘महँगीले बच्चाको स्कुल फिस तिर्न, दाल–चामल, तेल किन्न र घर भाडा तिर्न धौधौ भइरहेको छ,’ उनले भनिन्, ‘कसलाई सुनाउनु यो समस्या ? गरिबले यो देशमा बाँच्न नपाउने स्थिति भइसक्यो ।’

विभिन्न सञ्चारमाध्यममा केही उपभोग्य वस्तुको मूल्य घटेको समाचार प्रकाशित भए पनि आमउपभोक्ताले भने घटेको मूल्यमा सामान किन्न नपाएको जुनाले गुनासो गरिन् ।

‘मूल्य तय गर्ने संघसंस्थाले मूल्य घटेको सूची सार्वजनिक गरे पनि होलसेल र खुद्रामा पनि हामीले घटेको मूल्यमा सामान किनेर राहत महसुस गर्न पाइएन,’ उनले भनिन् ।

उनले सुनाए जस्तै पछिल्लो समय खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको छ ।

अहिले चामल, दाल, गेडागुडी, चिनी, तेल, पिठो, तरकारी लगायत खानेकुराको उपभोक्ताले किन्ने मूल्यमा ब्रह्मलुट छ ।

ठूला व्यापारीले गोदाममा सामान थुपारेर राख्ने र डलरको भाउ बढ्नासाथ सामानको मूल्य बढाएर बेच्ने गरे पनि उनीहरूमाथि अनुगमन पनि नहुने खुद्रा व्यापार संघको आरोप छ

जुना जस्तै हरेक उपभोक्ताले महँगीको चर्को मार खेप्नुपरेको छ । दैनिक ज्यालादारीमा काम गरेर कमाएको पैसाले परिवार पाल्नुपर्ने हरेक उपभोक्ताको पनि अवस्था उस्तै छ ।

‘२०८१ सालमा अचाक्ली मूल्यवृद्धिले थिच्यो, कमाएको पैसा बचत पनि गर्न सकिएन,’ जुनाले भनिन्, ‘नयाँ वर्ष सरकारले हामीजस्ता निम्न आय भएका सर्वसाधारणलाई राहत पुग्ने गरी मूल्यवृद्धि नियन्त्रण गरिदिए बाँच्न सजिलो हुन्थ्यो ।’

उपभोग्य वस्तुमा औसत १० प्रतिशत मूल्यवृद्धि

गएको एक वर्ष अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा १० प्रतिशतसम्म महँगिएको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाउँछ ।

संघका महासचिव अमुलकाजी तुलाधर एक वर्षमा हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा मूल्य घटबढ भइरहेको बताउँछन् । उनका अनुसार कुनै पनि वस्तुको मूल्य एकनास नहुने र परिवर्तन भइरहने हुँदा ठ्याक्कै यति नै बढ्यो र घट्यो भन्न सकिने अवस्था छैन ।

‘मूल्य भनेको कहिले घट्छ, कहिले बढ्छ,’ महासचिव तुलाधरले अनलाइनखबरसँग भने, ‘पहिला चामलको भाउ अत्यधिक बढेको थियो, अहिले केही घटेको छ, सबैभन्दा बढी मूल्य बढेको तेलको भाउ पनि अहिले घटेको छ । मूल्यका विषयमा ठ्याक्कै यही भन्ने नै हुँदैन ।’

समग्रमा हेर्दा ५ देखि १० प्रतिशत मूल्यवृद्धि देखिएको उनी बताउँछन् ।

महासचिव तुलाधरका अनुसार उपभोग्य वस्तुको मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजार पनि रहेको छ ।

‘मूल्यवृद्धिको कारण आपूर्ति कम भएर पनि हुन सक्ने भयो, उत्पादन कम हुँदा पनि मूल्य बढ्ने हुन्छ,’ उनी भन्छन्, ‘आपूर्ति बढी हुँदा मूल्य घट्ने भयो । यसकै सेरोफेरोमा बजार भाउ निर्धारण हुने हो । अर्को, आयातित सबै सामान डलरबाट किन्ने हो । डलरको भाउ बढ्दा सामानको मूल्य बढ्छ ।’

सरकारको अनुगमन फितलो हुँदा पनि तोकिएको मूल्यमा वस्तु बिक्री नहुने गरेको उनको भनाइ छ । ठूला व्यापारीले गोदाममा सामान थुपारेर राख्ने र डलरको भाउ बढ्नासाथ सामानको मूल्य बढाएर बेच्ने गरे पनि उनीहरूमाथि अनुगमन पनि नहुने उनको आरोप छ ।

२०८१ मा खाद्यान्न भाउको नालीबेली

चामल

गएको वर्ष मूल्यवृद्धिका हिसाबले चामल, तेल, दाल, चिनी, आँटा, मैदा लगायत दैनिक उपभोग्य वस्तुमा अत्यधिक मात्रामा मूल्यवृद्धि खेप्नुपर्‍यो

खुद्रा व्यापार संघको तथ्यांक अनुसार २०८१ वैशाख पहिलो साता त्रिशूली पोखरेली चामलको भाउ किलोको १ सय ५ रुपैयाँ थियो । साउन पहिलो साता आउँदा १० रुपैयाँ बढेर १ सय १५ पुग्यो ।

त्यस्तै स्टिम जिरा मसिनो चामल वैशाखमा प्रतिकिलो मूल्य ९५ देखि १ सय रुपैयाँ थियो । सोही चामलको मूल्य साउन पहिलो साता आइपुग्दा किलोमा १५ रुपैयाँले बढेर १ सय ५ पुगेको थियो ।

लङग्रेन बास्मती चामल प्रतिकिलो १ सय ७५ रुपैयाँ थियो । सोही चामल साउन पहिलो साता आइपुग्दा १० रुपैयाँ बढेर १ सय ८० पुगेको थियो ।

१५ कात्तिकमा ९० रुपैयाँ किलो पर्ने स्टिम जिरा मसिना चामलको मूल्य फागुन १ मा ८ रुपैयाँ वृद्धि भएर ९८ रुपैयाँमा किनबेच भएको थियो ।

फागुनबाट चैतमा आइपुग्दा भने स्टिम जिरा मसिनो चामल प्रतिकिलोमा ३ रुपैयाँ घटेर ९५ मा आइपुग्यो ।

दाल तथा गेडागुडी

जेठ पहिलो साता प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको रहर दाल साउन पहिलो साता आइपुग्दा ९० रुपैयाँ बढेर ३ सय २० रुपैयाँ पुग्यो । सेतो केराउ प्रतिकिलो १ सय ४० बाट २५ बढेर साउनमा १ सय ६५ रुपैयाँ पुग्यो । हरियो केराउको मूल्य १ सय ४० हुँदा ७० बढेर साउनमा २ सय १० रुपैयाँ किलो पुगेको थियो ।

यसैगरी जेठ पहिलो साता प्रतिकिलो १ सय २५ मा कारोबार भएको चना ३५ रुपैयाँ बढेर १ सय ६० पुगेको संघको तथ्यांकले देखाउँछ ।

राज्माको मूल्य जेठ पहिलो साता प्रतिकिलो २ सय ३० रुपैयाँ तोकिएकोमा साउन पहिलो साता पुग्दा ३० रुपैयाँले बढेर २ सय ६० पुगेको थियो । भदौ पहिलो साता पुग्दा चामल, दालको मूल्य यथावत रहँदा सेतो केराउमा प्रतिकिलो २५, हरियो केराउ ७५, चना ५० र राज्मामा ६० रुपैयाँ मूल्यवृद्धि भएको थियो ।

यस्तै कात्तिकमा दलहनमा प्रतिकिलो ५ देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ । कात्तिकमा मास दाल प्रतिकिलो २ सय १५ रहेकोमा फागुनमा ५ रुपैयाँ बढेर २ सय २० रुपैयाँ, मुङ खोस्टामा ५ बढेर १ सय ८० रुपैयाँ र एनपी रहर दालमा ३० बढेर ३ सय १० रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

मास दाल २ सय २० रुपैयाँबाट १ सय ९५ रुपैयाँ, मुङ खोस्टा १ सय ८० रुपैयाँमा १० रुपैयाँ बढेर १ सय ९० रुपैयाँ कायम भयो ।

तेल

वैशाख २०८१ मा खाने तेलतर्फ भुटेको तोरीको तेल प्रतिलिटर ३ सय ७०, काँचो तोरीको तेल ३ सय, भटमास तेल २ सय १० र सनफ्लावर तेल २ सय १० रुपैयाँ थियो ।

यी तेलको मूल्य मंसिर पहिलो साता आइपुग्दा भुटेको तोरीको तेलमा ३०, काँचो तोरीको तेलमा २५ र सनफ्लावर तथा भटमासको तेलमा प्रतिलिटर २५–२५ रुपैयाँले मूल्यवृद्धि भएको संघको तथ्यांकमा उल्लेख छ ।

यस्तै कात्तिकमा खाने तेलको मूल्य प्रतिलिटर ५ देखि २० रुपैयाँसम्म वृद्धि भएको थियो । कात्तिकमा भुटेको तोरीको तेल ३ सय ५० रहेकोमा फागुनमा ३ सय ७०, भटमासको तेल १ सय ९५ रहेकोमा २ सय ५ र सनफ्लावर २ सय रहेकोमा फागुनमा २ सय ५ रुपैयाँ पुगेको थियो ।

मरमसला

सरकारको आपूर्ति नीति कमजोर, अनुगमन नियमन कमजोर, बजारमा सरकारभन्दा अनियन्त्रित संघसंस्थाको उपस्थिति हाबी हुँदा मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको छ

यसैगरी संघले जारी गरेको तथ्यांक अनुसार धनियाँ पाउडर कात्तिकमा किलोको ३ सय ७५ रहेकामा २५ रुपैयाँ बढेर फागुनमा ४ सय रुपैयाँ कायम थियो । धनियाँ पाउडर फागुनको तुलनामा चैतमा ४ सयबाट १ सय रुपैयाँ घटेर ३ सय रुपैयाँमा आइपुग्यो ।

केही वस्तुमा घट्यो मूल्य

खुद्रा व्यापार संघको तथ्यांक अनुसार कात्तिकदेखि फागुनसम्म मसुर दाल, काँचो तोरीको तेल, जिरा पाउडर, चिनी लगायत खाद्यान्नको मूल्य भने केही घटेको छ ।

कात्तिकमा प्रतिकिलो १ सय ७० रुपैयाँ रहेको मसुर दाल फागुनमा आइपुग्दा ५ रुपैयाँ घटेर १ सय ६५ भयो । यस्तै चैतमा भने उक्त दालको मूल्य यथावत रह्यो ।

त्यस्तै कात्तिकमा काँचो तोरीको तेलको मूल्य ३ सय १० रुपैयाँ रहेकोमा फागुनमा १० रुपैयाँ घटेर ३ सय कायम भयो । जिरा पाउडर कात्तिकमा किलोको १ हजार २ सय रुपैयाँ रहेकामा फागुनमा आइपुग्दा ३ सय रुपैयाँ घटेर ९ सय कायम भयो । चैतमा भने जिरा पाउडरको मूल्य यथावत छ ।

संघका अनुसार कात्तिकमा चिनीको मूल्य किलोको १ सय १५ रहेकोमा १० रुपैयाँ घटेर फागुनमा १ सय ५ कायम भयो । चैतमा पनि चिनीको मूल्य यथावत रह्यो ।

मूल्यवृद्धि नियोजित र कृत्रिम : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना २०८१ सालमा मूल्यवृद्धिका कारण उपपभोक्ताले धेरै सास्ती खेपेको बताउँछन् ।

उनका अनुसार गएको वर्ष मूल्यवृद्धिका हिसाबले चामल, तेल, दाल, चिनी, आँटा, मैदा लगायत दैनिक उपभोग्य वस्तुमा अत्यधिक मात्रामा मूल्यवृद्धि खेप्नुपर्‍यो ।

सरकारको आपूर्ति नीति कमजोर, अनुगमन नियमन कमजोर, बजारमा सरकारभन्दा अनियन्त्रित संघसंस्थाको उपस्थिति हाबी हुँदा मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन् ।

‘२०८१ सालमा मूल्यवृद्धि नियन्त्रण नहुनुमा सरकारको कमजोरी देखियो,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘अनुगमन, नियमन कडाइ गर्नुपर्ने थियो, विशेषगरी खाने तेल, चिनी, चामल, आँटा र मैदाजन्य वस्तु आपूर्तिमा समस्या देखिएको थियो । त्यसको समाधान निकाल्नुपर्नेमा त्यो हुन सकेन । यो मूल्यवृद्धि नियोजित र कृत्रिम थियो ।’

नयाँ वर्ष २०८२ सालमा भने सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न कार्ययोजना नै बनाउनुपर्ने उनी बताउँछन् । यसका लागि सरकारी निकायबीच समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘सरकारले हाम्रो बजार माग के हो, आपूर्ति कति हो र उत्पादन कति हुन्छ भन्ने समयमै आकलन गर्नुपर्छ,’ उनी भन्छन्, ‘आयात गर्नुपर्ने चिनी, गहुँ लगायत वस्तुको आधिकारिक तथ्यांक लिएर सरकारी संस्थानबाट समयमै आयात गराएर त्यसलाई बजार हस्तक्षेप गर्नका निमित्त सरकार दरिलो हुनुपर्छ ।’

स्रोत: https://www.onlinekhabar.com/2025/04/1664216/the-year-2081-when-consumers-were-hit-by-food-prices 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More