खुम्बुमा ४५ हजार पर्यटक

April 30, 2019

शिखरजंग  श्रेष्ठ, नागरिक, बैशाख १७, २०७६ 

सोलुखुम्बु - चालु आर्थिक वर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार पिक सिजन र आरोहण सिजनमा गरी ४४ हजार चार सय ५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन्। यो संख्या गएको साउनदेखि चैतसम्मको हो।

बितेको नौ महिनामध्ये कात्तिक महिनामा सबैभन्दा बढी १२ हजार आठ सय ८६ पर्यटक खुम्बु क्षेत्र भित्रिएका छन््।  साउनमा चार सय २६, भदौमा एक हजार ७६,  असोजमा १२ हजार दुई सय ५१, मंसिरमा तीन हजार आठ सय १३ र पुसमा दुई हजार एक सय २५ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्।

आरोहण सिजन लागेपछि माघ महिनामा एक हजार दुई, फागुनमा दुई हजार आठ सय ८१ र चैतमा आठ हजार पर्यटक खुम्बु क्षेत्र भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए। अहिले आरोहण सिजन जारी छ।

आर्थिक वर्ष २०७४/७५ को साउनदेखि चैतसम्म भित्रिएका पर्यटकको दाँजोमा चालु आर्थिक वर्षमा एक हजार ६ सय ८१ पर्यटकले बढी हो। आरोहण सिजनमा भित्रिएका पर्यटकको संख्यालाई तुलना गर्दा चालु वर्षमा कम पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ। आरोहण सिजनको माघ, फागुन र चैतसम्मको तथ्यांकअनुसार अघिल्लो वर्ष १४ हजार एक सय ३७ जना पर्यटक भित्रिएका थिए भने चालु आर्थिक वर्षको सिजनमा ११ हजार आठ सय ८३ पर्यटक भित्रिएका छन्।

प्रतिकूल मौसम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका कारण पनि आरोहण सिजनमा पर्यटकको आवागमन घट्न सक्ने अनुमान गरिएको छ। अहिले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा उडान हुँदै आएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/75415/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More