बद्री नारायण यादव, नयाँ पत्रिका, फागुन १०, २०७४
सिरहा नगरपालिका–१४ स्थित वडा कार्यालयमा चर्पी नहुँदा स्थानीय खुला शौच गर्न बाध्य छन् । ०७३ कातिक १ मा यस वडालाई ‘खुला दिसामुक्त वडा’ घोषणा गरिएको थियो ।
‘हामी सबैले आफ्नो घरमा चर्पी बनायौँ । प्रयोग पनि थाल्यौँ । तर, वडाबाट सेवा लिन आउनुपर्दा बाहिरै शौच गर्नुपर्छ,’ स्थानीय लक्ष्मी पासमानले भने ।
स्थानीयले वडा कार्यालयमा चर्पी निर्माण गर्न माग गरेका छन् । स्थानीय उपेन्द्र मण्डलले सर्वसाधारणको घरमा शौचालय भए पनि सरकारी अड्डामै चर्पी नहुनु हाँसोको विषय भएको बताए ।
‘वडा कार्यालयमै चर्पी छैन’, उपेन्द्रले भने, ‘अन्यत्रबाट आउनेलाई पिसाब फेर्न कार्यालयपछाडि र खेततिर जानुपर्छ ।’
फितलो अनुगमन
खुला दिसामुक्त क्षेत्र घोषणापूर्व जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवास सिसी) प्रतिनिधि सम्मिलित टोलीले राम्रोसँग अनुगमन नगरेको खिरौनाका स्थानीय शशीकुमार मण्डलको आरोप छ ।
‘फितलो अनुगमनका कारण यस्तो समस्या भएको हो । अन्यथा, वडा कार्यालयमा आँखा किन परेन ?’ वडा कार्यालयमा चर्पी नहुँदा त्यसैलाई बहाना बनाएर गाउँलेहरूले खुला रूपमा शौच गर्ने क्रम बढेको गुनासो गरे ।
डिवास सिसीका ऊर्जा तथा वातावरण अधिकृत रमेश निधिले वडा कार्यालयमा चर्पी नभए पनि छिमेकीको चर्पी प्रयोग गर्दै आएको बताए ।
उनले चर्पी नभएका वडा कार्यालयमा केही दिनभित्रै चर्पी बनाउने योजना अन्तिम चरणमा पुगेको जनाए । तर, खिरौनाको वडा कार्यालयको छेउमा कुनै बस्ती वा अरू कसैको चर्पी नभएको स्थानीय बताउँछन् ।
‘व्यवस्थापकीय पक्षले अरू काममा खर्च गरे पनि चर्पी बनाउन खासै चासो दिएको छैन । कार्यालयमा आउने सेवाग्राही खुला रूपमा शौच गर्न बाध्य छन् वा चर्पी भएको ठाउँमा पुगेर मात्रै शौच गर्ने गरेका छन् ,’ मण्डलले भने ।
चर्पी निर्माणमा चलखेल
चर्पी बनाउन खाल्डो खनेर इँटाको पर्खाल पनि लगाएको छ । चर्पी निर्माण सुरु गरे पनि आर्थिक चलखेलमा काम अधुरै छाडको स्थानीय दुर्गान्नद पासमानको आरोप छ ।
अहिले चर्पीका लागि बनाएको हौद (सेफ्टी ट्यांकी) माथि स्थानीयले गुइँठा बनाएका छन् । चर्पी नभएपछि घुइँठा सुखाउने ठाउँ भएको स्थानीय मोहन पासमानले बताए ।
वडाध्यक्ष देवरञ्जन गोइतले चर्पी नहुँदा सेवाग्राहीलाई समस्या भएको स्वीकार गरेका छन् । उनले भने, ‘हामी चाँडै चर्पी बनाउँछौँ । नगरपालिकाले बजेट नदिएकाले काम अगाडि बढाउन सकिएको छैन ।’
स्रोत: www.enayapatrika.com/2018/02/22/26280/