News

खोजी लोकल खसीकै

October 21, 2020

राजेश बर्मा, अन्नपूर्ण पोष्ट, कार्तिक ०५, २०७७ 

दसैंमा मासुको जोहो गर्न खोज्दै हुनुहुन्छ ? सकभर खसीबोकासम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ। आवश्यक जानकारीबिना खरिद गरिने खसीबोकाले दसैंको रमझमलाई खल्लो बनाउँछ। 

उपत्यकाको कलंकीस्थित खसीबजार, टुकुचा बजार, बिजुलीबजारलगायत दर्जनौं स्थानमा भारतबाट आयात गरिएका र लोकल खसीबोका बिक्रीका लागि राखिएका छन्। विभिन्न रङ र बान्कीका खसीबोका बजारमा यत्रतत्र छन्। झट्ट हेर्दा सबै किनौं किनौं जस्तो लाग्छ। सबैको मूल्य समान नै छ। यो सोचाइले खसीबोका खरिद गर्दै हुनुहुन्छ भने छनोट गलत हुनसक्छ।    

खसीबोका खरिद गर्दा केही आधारभूत विषयवस्तुमा ध्यान दिनुपर्ने हुन्छ। लोकल खसीबोकाको तुलनामा भारतबाट आयात गरिएका खसीबोका व्यावसायिक प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल नै राम्रो मानिन्छ। चौपाया खरिदबिक्री सेवा संघका पूर्व अध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्य र स्वादका हिसाबले लोकल जातकै उत्तम हुन्छ। दसैंमा बिक्री हुने खसीबोकामध्ये सिङमा ‘हरियो’ रङ लगाएको रोज्नुपर्छ।  पशुपन्छी मन्त्रालयका पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार खसीबोकाको शरीरमा रहेका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको छ वा छैन हेर्नुपर्छ। लोकल जातको खसीबोकाको शरीरका भुत्ला काटिएको हुँदैन भने भारतीयको काटिएको हुन्छ। 

‘लोकल खसीबोका फुर्तिला, स्याउला, घाँसपात, मकैलगायत चरन सामग्री खाने हुन्छन् भने भारतीय खसीबोका एकलकाटे टाढाबाट हेर्दा बिरामीजस्तो लाग्छ। लोकलमा भारतीयको तुलनामा मासु र बोसो पनि कम हुन्छ। तर, स्वस्थ्यकर र मासु स्वादिलो हुन्छ’, डा. उपाध्यायले भने। भारतीय खसीबोका खरिद गरेर धेरै दिनसम्म राख्दा हावापानी अमिल्दो भएर बिरामी हुने खतरा हुन्छ। यसबाहेक खसीबोका किन्दा अन्य कुरामा पनि ध्यान दिनुपर्छ।  

यस्ता खसीबोका नकिनौं
नाक, मुख र आँखाबाट र्‍याल र सिगान आएका खसीबोका खरिद गर्नुहुन्न। टाउको आकाशतिर उचालेर फनफनी घुमाउने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि खरिद गर्नुहुन्न। त्यसैगरी खसीबोकाको गिँजा र खुरमा घाउ आएको, झोक्राउने खसीबोका पनि मासुको लागि राम्रो मानिँदैन। 

बजार मूल्य
भारतीय खसीबोकाको मूल्य प्रतिकिलो पाँच सय २५ देखि पाँच सय ३५ रुपैयाँमा बिक्री भइरहेको छ भने लोकल जिउँदो खसीबोका प्रतिकिलो चार सय ८० देखि पाँच सय पर्छ। लोकल खसीबोका लाहान, जनकपुर, कटारी, सल्यान, सुर्खेत, कोहलपुर, बर्दिया, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट उपत्यका भित्र्याइन्छ। दसैंमा राजधानीमा ५८ करोडको खसीबोकाको कारोबार हुन्छ त्यसमध्ये ७० प्रतिशत भारतबाट आयात हुन्छ। 

दसैंलाई भनेर यो वर्ष सरकारी निकाय र निजी क्षेत्रले करिब ५२ हजार खसीबोका र च्याङग्रा बिक्री गर्ने तयारी गरेका छन्। नेपाल खाद्य संस्थानले एक हजार गोटा खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको छ।  विभागका पूर्व महानिर्देशक जीवनप्रभा लामाकाअनुसार डिप फ्रिजमा राखिएको मासु मानव स्वास्थ्यका लागि खान अयोग्य हुन्छ। प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायत जीवाणु भेटिए खान अयोग्य मानिन्छ। यस्ता जिवाणुले झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने तथा प्रजनन क्षमतामा असर पुर्‍याउने लामाले जानकारी दिइन्। 

खानपिनमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटको समस्या हुने गरेको खाद्य विज्ञको भनाइ छ। ‘धेरै दिनलाई पुग्ने गरी मासु पकाएर राखी खाँदा फुड प्वाइजन हुने खतरा हुन्छ,’ लामाले भनिन। 

मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावितले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने लामाको सुझाव छ। खसीबोकाको मासुसँगै कुखुरा, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी पनि सन्तुलन मिलाई खानुपर्छ। यसरी खाँदा शरीरलाई फाइदा पुग्छ। 

पशुपन्छी विकास मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरमा गरेको एक सर्वेक्षणअनुसार मासु पसलबाट उत्पादित मासु स्वास्थ्यका लागि स्वस्थ्यकर छैन। अत्याधुनिक मिट सेन्टर सञ्चालनमा आए पनि मासुको गुणस्तरमा अझै कमी रहेको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलको ठहर छ। 

दसैंमा मासुसँगै त्यसमा प्रयोग गरिने मसला र खानेतेलले पनि उत्तिकै महत्व राख्छ। मसला र खानेतेल अशुद्ध परेमा फुड प्वाइजन, झाडा वान्तालगायत समस्या आइपर्छ। स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने लामाको सुझाव छ।  

मासुमा साढे ८ अर्ब खर्च  
नेपालीले मासिक अर्बौं मूल्यबराबरको खसीबोकाको मासु खपत गर्छन्। आयस्रोत कम भए पनि मासुको खपत उच्च रहेको तथ्यांकले देखाएको छ। उपभोक्ता मूल्यलाई आधार मान्ने हो भने मासिक ८ अर्ब २५ करोड रुपैयाँ बराबरको खसीबोकाको मासु खपत हुन्छ। 

पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ। यसमध्ये ३० देखि ४० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिन्छ। दसैंको कारोबारलाई जोड्ने हो भने वार्षिक रुपमा करिब डेढ खर्ब मूल्यबराबरको खसीबोकाको मासु नेपाली उपभोक्ताले उपभोग गर्दै आएका छन्। चौपाया खरिदबिक्री सेवा संघका अनुसार बढ्दो सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै खसीबोकाको मासु खाने प्रचलन बढेको छ। ‘खसीबोकाको मासुबाट बनाइने विभिन्न प्रकारका परिकारले पनि खपत बढ्दै गएको हो,’ संघका अध्यक्ष गोविन्द पाठकले भने।

खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कवाफ, सिंक कवाफ, भरेको फोक्सो, मटन चप्स, मटन वल, रोगन जोस, मुस्लिम कवाफ, सुख्खा मासु, प्याजी मासु, हाँडी कवाफ, सेकुवा, मटन विरियानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकार बन्छन्। 

मासिक २२ करोडको खसीबोका आयात
नेपालमा मासिक २२ करोड मूल्य बराबरको खसीबोका आयात हुन्छ। दसैंबाहेक सामान्य समयमा भारत, अमेरिका र अस्ट्रेलियाबाट मासिक २१ करोड मूल्यबराबरको ३० हजार गोटा खसीबोका नेपालमा भित्रिने गर्छन्।

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने गत साउनमा मात्रै भारतसहित तस्रो मुलुकबाट यो परिमाणमा खसीबोका आयात भएको हो। विभागको तथ्यांकअनुसार गत साउन (मध्य जुलाईदेखि मध्य अगस्त)सम्म मात्रै २२ करोड मूल्यबराबरको ३० हजार चार सय ९४ गोटा खसीबोका नेपालमा आयात भएको थियो। वार्षिक रुपमा डेढ अर्बदेखि अढाई अर्ब मूल्यबराबरको खसीबोका आयात हुने गरेको छ।

व्यवसायीका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ। ‘स्वदेशमै पर्याप्त परिमाणमा खसीबोका उत्पादन हुन्छ,’ चौपाया खरिदबिक्री सेवा संघका पूर्व अध्यक्ष दिपक थापाले भने, ‘बाटोघाटो र ढुवानीको असुविधाले उत्पादन भएका खसीबोका सहरसम्म आउन पाउँदैनन्।’ उनका अनुसार आयातित खसीबोकामध्ये झन्डै शतप्रतिशत ठूला सहरमा मात्रै खपत हुन्छ। 

दसैंमा अत्यधिक खपत
पशु सेवा विभागका महानिर्देशक डा. विमल निर्मलका अनुसार उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंको समयमा करिब दैनिक तीनहजारको संख्यामा बिक्री हुन्छ। दसैंको अवधिमा मात्रै उपत्यकामा करिब ६० हजार खसीबोका, १० हजार च्याङ्ग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगाको खपत हुन्छ। 

मासु पनि आयात
नेपालमा खसीबोका मात्रै होइन तयारी र प्रशोधित मासु पनि आयात हुने गर्छ। नेपालमा भारतबाट ७८ लाख ३३ हजार मूल्य बराबरको ३४ हजार चार सय ७५ किलो तयारी मासु आयात भएको भन्सार विभागसँग तथ्यांक छ। आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक बर्ष २०७४/७५ सम्मको एक महिनामा गरी एक करोड २४ लाख १५ हजार मूल्य बराबरको ४६ हजार ९ सय ५५ किलो तयारी मासु आयात भएको छ।

स्रोत: http://annapurnapost.com/news/168817