गत वर्षभन्दा तीन लाख बढी पर्यटक लुम्बिनीमा

November 08, 2017

लक्ष्मण पोखरेल, अन्नपुर्ण पोस्ट, २२ कार्तिक २०७४ 

बुटवल : बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष लुम्बिनी आउने पर्यटकको संख्या बढेको लुम्बिनी क्षेत्र विकास कोषले जानकारी दिएको छ । सन् २०१७ को १० महिनामा १२ लाख १४ हजार चार सय ५४ पर्यटक लुम्बिनी आएको कोषको तथ्यांक छ ।

सन् २०१७ को १० महिनामा तेस्रो मुलुकबाट एक लाख ११ हजार तीन सय ९० जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । भारतीय पर्यटक एक लाख १३ हजार एक सय १३ र नौ लाख ८९ हजार नौ सय ५१ जना नेपाली रहेको विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । गत वर्षको सोही अवधि र विगतको तुलनामा पर्यटक आगमन संख्या सबैभन्दा बढी रहेको उनले बताए ।

गत वर्ष सोही अवधिमा तेस्रो मुलुकका एक लाख पाँच हजार सात सय आठ जना, भारतीय ९७ हजार ९९ र नेपाली ६ लाख ८९ हजार तीन सय १६ गरी आठ लाख ९२ हजार एक सय २३ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यस वर्ष गत वर्षको तुलनामा तीन लाख २२ हजार तीन सय ३१ बढी पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । विगतको तुलनामा संख्यात्मक रूपमा पर्यटक आगमन बढी भएको पर्यटन व्यवसायीको भनाइ छ ।

यस वर्ष सबैभन्दा बढी श्रीलंकन पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । सो अवधिमा ४४ हजार तीन सय ७९ जना श्रीलंकनले लुम्बिनी भ्रमण गरेका छन् । त्यस्तै १७ हजार तीन सय ६० थाई, १५ हजार एक सय ५७ बर्मिज, १२ हजार चार सय ९७ चिनियाँ, तीन हजार पाँच सय ७४ दक्षिण कोरिया, तीन हजार ४९ भियतनामी, दुई हजार ९६ भुटानी, एक हजार तीन सय २७ बेलायती, एक हजार दुई सय १७ अस्ट्रेलियन, एक हजार एक सय ९० जर्मनी र एक हजार एक सय २२ जना जापानी पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ ।


यस वर्ष सबैभन्दा बढी श्रीलंकन पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । सो अवधिमा ४४ हजार तीन सय ७९ जना श्रीलंकनले लुम्बिनी भ्रमण गरेका छन् ।

१० महिनाको अवधिमा विश्वका ८५ देशका पर्यटक लुम्बिनी भ्रमणमा आएका हुन् । विगत वर्षको तुलनामा अहिले विदेशी मात्र नभई नेपाली र भारतीय पर्यटक पनि आउने क्रम बढेको लुम्बिनीका पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष मिथुनमान श्रेष्ठले बताए । ‘यस वर्षको सुरुदेखि नै पर्यटक आगमन राम्रो छ । आन्तरिक पर्यटक पनि लुम्बिनी आउने क्रम बढेको छ', श्रेष्ठले भने ।

यति हुँदाहुँदै पनि तेस्रो मुलुकका पर्यटकको बसाइ अवधि भने लम्बिन सकेको छैन । पर्यटक आकर्षित गर्ने र बसाइ अवधि बढाउने गतिविधि नहुँदा लुम्बिनी घुम्ने र उसै दिन फर्किने गरेका छन् । पर्यटक प्रायः स्थलमार्ग हुँदै लुम्बिनी आउने गर्छन् । बुद्धिस्ट मुलुकका पर्यटक लुम्बिनीबाटै फर्कन्छन् भने युरोपेली तथा अन्य मुलुकका यहाँबाट पोखरा, चितवन, मनाङ, मुस्ताङलगायत स्थानमा भ्रमणका लागि जाने गर्छन् ।

स्रोत: http://annapurnapost.com/news-details/83634

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More