गिनिज रेकर्ड राख्न रक्तदान र र्‍याली

March 09, 2018

सुदिप कैनी, कान्तिपुर, फाल्गुन २५, २०७४

काठमाडौँ — गिनिज बुकमा नेपालको नाम लेखाउन बुधबार राजधानीमा निर्धारित ८ घण्टाभित्र एक हजार ५ सय ५० जनाले रक्तदान गरेका छन् । लायन्स क्लब, काठमाडौं र लायन्स क्लब काठमाडौं हिमचुलीको संयुक्त आयोजनामा टुँडिखेलमा बिहीबार रक्तदान गरिएको हो ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा अखिल भारतीय तेरापन्थ महिला मण्डल, काठमाडौंले बिहीबार राजधानीमा निकालेको र्‍याली (माथि) । नेपाल, भारत र दुबईमा रहेका संस्थाका ४२५ शाखाले गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न एकै समय (अपराह्न ४ बजे) र्‍याली निकालेका छन् । गिनिज बुक रेकर्डकै लागि बिहीबारै राजधानीको टुँडिखेलमा लायन्स क्लबले गरेको रक्तदानमा भाग लिन लामबद्ध दाता । तस्बिर : अंगद ढकाल, इलिट जोशी/कान्तिपुर

गिनिज बुकले निर्धारण गरेको बिहान ९:३० देखि साँझ ५:३० (८ घण्टा) को समयावधिमा रक्तदान गरिएको कार्यक्रमका प्रेस संयोजक सुदीपचन्द्र बख्रेललेजानकारी दिए ।

‘गिनिज बुकको रेकर्डमा कीर्तिमान कायम गर्न पहिले नै योजना बनाएर रक्तदान गरिएको हो,’ उनले भने, ‘८ घण्टामा एकै ठाउँमा सबभन्दा बढी व्यक्तिले रक्तदान गरेको भनेर नेपालको नाम गिनिज बुकमा रेकर्ड भएको छ ।’ गिनिज बुकका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको उनले जनाए । रेकर्ड कायम गर्न रक्तदान गर्न इच्छुकको नाम पहिल्यै फारम भराएर संकलन गरिएको थियो । ‘गिनिज बुकले तोकेको स्थान र समयमा एक हजारभन्दा बढीको रक्त संकलन गर्न सफल भए रेकर्ड कायम हुन्छ भनेको थियो,’ उनले भने, ‘हामीले १५५० जनाको रगत लिएर कीर्तिमान कायम गर्‍यौं ।’ गिनिज बुकबाट आधिकारिक रूपमा नयाँ रेकर्ड कायम गरेको मान्यता पाउन भने केही दिन लाग्नेछ । कार्यक्रमबारेको सम्पूर्ण विवरण गिनिज बुकको इमेलमा पठाएपछि आधिकारिक मान्यता प्राप्त हुने बख्रेलले बताए ।

क्लबले ४ हजार बढी रक्तदान गर्न इच्छुकलाई फारम वितरण गरेको थियो । एकपटकमा ५० जनाले रक्तदान गरेका थिए । समय/समयमा हरेक व्यक्तिले रगत दान गर्नुपर्छ भन्ने चेतना फैलाउनसमेत यस्तो कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संकलन भएको रगत रक्तसञ्चार केन्द्र र ठूला अस्पतालहरूलाई वितरण गरिनेछ । ‘रक्तदान गर्नुपर्छ भन्ने चेतना फैलाउन पनि कार्यक्रमले सहयोग गरेको छ,’ उनले भने, ‘पहिलोपटक ब्लड दिनेको संख्या बढी छ ।’ रगत दिन चाहनेको संख्या अझै धेरै रहेको तर तोकिएको समयभित्र नभ्याइएको उनले बताए । ‘नाम दर्ता गराएकाहरूका लागि पुन: रक्तदान कार्यक्रम आयोजना गर्छौं,’ उनले भने ।

क्लबका अनुसार रक्तदान गर्नेको संख्या बढाउनु कार्यक्रमको अर्को उद्देश्य हो । स्वास्थ्य संस्थाहरूमा हुने रगत अभाव घटाउन ठूला खाले रक्तदान कार्यक्रमले मद्दत गर्ने बख्रेलले बताए । ‘गिनिज बुकमा नाम पनि रेकर्ड गरायौं,’ उनले भने, ‘केही समयका लागि भए पनि रगतको अभाव अन्त्य भयो, यस्तै खाले धेरै जनाको संख्यामा रक्तदान गर्ने कार्यक्रम आवश्यक छ ।’ साना प्रकृतिका मात्रै रक्तदान कार्यक्रम हुँदा रक्तसञ्चार केन्द्रमा रगत अभाव हुने र अस्पतालमा उपचार गराइराखेका बिरामीले समयमा रगत नपाउने समस्या छ ।

स्रोत: www.kantipurdaily.com/news/2018/03/09/20180309065717.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More