खविन लुइटेल, आर्थिक अभियान, फागुन ७, २०७४
पाँचथर । अलैंचीको गुणस्तर सुधार्नका लागि अहिले दर्जनांै कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । मेची पहाडका कृषकको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको अलैंचीको मूल्यमा आइरहने उतारचढावले व्यवसायी तथा कृषकहरू बारम्बार चिन्तित बन्ने गरेका छन् ।
नेपालको उत्पादन गुणस्तरीय नभएको भन्दै भारतले न्यूनमात्रै मूल्य दिएको छ । ६ वर्ष अगाडि प्रतिमन (४० किलो) अलैंचीको १ लाख २० हजार रुपैयाँसम्म दाम थापेका कृषकहरू अहिले त्यही परिमाणको अलैंचीको मूल्य ३५ हजारको हाराहारीमा मात्रै पाइरहेका छन् ।
गुणस्तर सुधार गर्न यो अवधिमा आधुनिक भट्टीको प्रविधि भित्रियो । केही कृषकले पुरानो (आगोको धूँवासहित ज्वालामा अलैंची सुकाउने) प्रविधिलाई हटाएर नयाँ प्रविधिको अवलम्बन गर्दै गुणस्तरीय अलैंची उत्पादन गर्ने प्रयास गरे । तर, गुणस्तरको आधारमा थप मूल्य प्राप्त नगर्दा आफूहरूले मेहनत गर्न आवश्यक नठानेको यतिबेला कृषकहरू बताउँछन् । नयाँ पद्धतिले सुकाइएको अलैंचीको गुणस्तर राम्रो हुने, तर उक्त कार्य झन्झटिलो रहेको कृषकको भनाइ छ ।
‘मेहनत गरेर गुणस्तर सुधार्दासमेत व्यवसायीले थप दाम नदिएकोले मेहनत किन गर्ने ?’ पाँचथरका कृषकले शुक्रवार फिदिममा अलैंची व्यवसायी महासङ्घका कन्द्रीय अध्यक्षसहितको टोलीलाई प्रश्न गरे । रानीटारका अलैंची कृषक चन्द्रकुमार राईले सबै अलैंची व्यवसायीका अगाडि अलैंचीको गुणस्तरमा सुधार हुन व्यापारी सुध्रिनुपर्ने टिप्पणी गरे । उनले अहिलेसम्म सुधारिएको भट्टीबाट राम्रो गुणस्तरको अलैंची उत्पादन गर्दै आएको तर उनका छिमेकीले पुरानै प्रविधिबाट धूँवासहितको अलैंची उत्पादन गरेर बजारमा ल्याउँदासमेत उही मूल्यमा व्यापारीले किन्न होडबाजी गर्दा गुणस्तर सुध्रिन नसकेको बताए ।
अलैंची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपक नेपालले भने अलंैचीले गुणस्तरको आधारमा दाम पाउने दिन आइसकेको सुनाए । उनका अनुसार अहिले अलैंचीलाई तीन वर्गमा विभाजन गरेर खरीद गरिँदै आएको छ । उत्कृष्ट गुणस्तर भएको अलैंचीलाई जम्बो जेट (जेजे), मध्यम गुणस्तरको अलैंचीलाई स्टेण्डर्ड (एस.डी) र कमसल अलैंचीलाई चलन चल्तीको भनेर वर्गीकरण गरेर सोहीअनुरूप मूल्यमा समेत केही अन्तर रहेको नेपाल बताउँछन् ।
तर, गुणस्तर मापन गर्ने आधिकारिक मेशिन नहुँदा अलैंचीको साइजलाई गुणस्तरको आधार बनाइएको उनको भनाइ छ । जति ठूलो गेडा अलंैची भयो, त्यति नै गुणस्तरीय भन्ने मान्यता रहेको उनी बताउँछन् । अन्तरराष्ट्रिय श्रम सङ्गठन आईएलओको सहयोगमा फिदिममा आयोजित कार्यक्रममा अलैंची उत्पादक कृषकहरू र व्यवसायीहरूले अन्तरक्रिया गरेका थिए ।
स्रोत: www.abhiyan.com.np/2018/02/19/181385