गुम्यो १६ लाखको रोजगारी

August 11, 2020

अन्नपूर्ण पोष्ट, साउन २७, २०७७ 

होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सर्वाधिक ४० प्रतिशत र शिक्षा क्षेत्रमा सबैभन्दा कम अर्थात् साढे ५ प्रतिशत कामदार कटौती।


काठमाडौं : सरकारले कोरोना भाइरस महामारीबाट जोगिन लागू गरेको लकडाउनका कारण देशभरमा करिब १६ लाखको रोजगारी गुमेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। ‘कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार औसतमा २२ दशमलव ५० प्रतिशत कामदार कटौती गरिएको छ। विशेष गरी निजी क्षेत्रले यसरी कामदार कटौती गरेका छन्।

कटौतीमा पर्नेमा ७० प्रतिशतभन्दा धेरै अस्थायी वा करारमा नियुक्त गरिएका कामदार छन्। केन्द्रीय तथ्यांक विभागले २०७५ मा गरेको राष्ट्रिय श्रम शक्ति सर्वेक्षणमा मुलुकभर करिब ७० लाख ८६ हजार मानिस कुनै न कुनै किसिमको रोजगारीमा संलग्न रहेको उल्लेख छ। दुई वर्ष अघिकै आँकडालाई आधार मान्ने हो भने पनि कोरोना भाइसरका कारण १५ लाख ९४ हजारभन्दा धेरै मानिसको रोजगारी खोसिएको छ।

राष्ट्र बैंकले गएको २६ जेठदेखि १० असारसम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीमा सर्वेक्षण गरेर प्रतिवेदन तयार पारेको हो। त्यसयता रोजगारी गुमाउने र तलब कटौती हुनेको विवरण यो सर्वेक्षण समावेस छैन। प्रतिवेदनले असार पहिले सातासम्म ३९ प्रतिशत उद्योग व्यवसाय पूर्ण वा आंशिक रूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग व्यवसाय पूर्णतः बन्द रहेको उल्लेख गरेको छ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रले सर्वाधिक ४० प्रतिशत र शिक्षा क्षेत्रले सबैभन्दा कम अर्थात् साढे ५ प्रतिशतमात्रै कामदार कटौती गरेका छन्। रोजगारी नगुमाएका कामदारको पनि तलब घटेको छ। व्यवसायीले औसत १८.२ प्रतिशत तलब कटौती गरेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकका अनुसार होटल तथा रेस्टुरेन्टमा सर्वाधिक साढे ३६ प्रतिशत तलब कटौती गरिएको छ।

स्रोत: http://annapurnapost.com/news/163377

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More