टोपलाल अर्याल, नयाँ पत्रिका गुल्मी, फागुन ४, २०७४
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तर, स्थानीय तहमा जनप्रतिनिधि आएको ६ महिना बितिसक्दा पनि कुनै पनि स्थानीय तहको आफ्नै कार्यालय भवन छैन । स्थानीय निर्वाचनपछि गाउँगाउँमै सिंहदरबारको जस्तै सेवा उपलब्ध हुने भन्ने जनप्रतिनिधि नै अहिले भाडाको घरमा बस्न बाध्य छन् ।
जिल्लाका सबै स्थानीय तह घरभाडामा लिएर सेवा प्रवाह गरिरहेका छन् । भाडामा लिएका घर पनि सबैजसो कच्ची छन् । बजार क्षेत्रमा रहेका केही कार्यालय मात्रै पक्की रहेका छन् । गुल्मीका १२ स्थानीय तहको घरभाडाका लागि मात्रै वार्षिक ४० लाख ८० हजार तिर्ने गरेका छन् ।
महिला समूहको भवनमा सिंहदरबार
वरिपरि खाली चौर । माथि मदानेको घना जंगल । चौरको एकापट्टि सानो टिनको एकतले भवन । जहाँ मालिका गाउँपालिकाको कार्यालय भनेर लेखिएको छ । आमा समूहले बनाएको यो चारकोठे कच्ची भवन मालिका गाउँपालिकाको ‘सिंहदरबार’ हो । एउटा कोठा अध्यक्षलाई अर्को उपाध्यक्षलाई ।
बाँकी दुई कोठामा प्रमुख प्रशासकीय अधिकृतदेखि सबै विषयगत कार्यालय र सहयोगीसम्म अटाएका छन् । जिल्लाबाट ११ कोस टाढा मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा पर्छ । जहाँ बस्ती विकास भएको छैन ।
स्थानीयका घर पनि निकै पुरानो रहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । ‘भवन नहुँदा बिजोग छ, अलि धेरै सेवाग्राही कार्यालय आए सेवा दिन समस्या छ,’ उनले भने, ‘गाउँसभा बस्नु परे ठुलीचौर प्राविमा पुग्छाँ।’
गाउँपालिकाले प्रयोग गर्ने गरेको छ । गिरीका अनुसार अर्खबाङको ठुलीचौरमा गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना कोठा लिएर बस्छन् । काम लिएर दुई–चारजना आए त्यहाँ बस्ने ठाउँसमेत छैन ।
गाउँपालिकाको भवन अभावको समस्या टार्न ट्रस्ट निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष रीतबहादुर थापाले बताए । त्यस्तै धुर्कोट गाउँपालिकाको कार्यालय पनि अत्यन्तै जीर्ण भवनमा छ । विषयगत कार्यालयका कर्मचारी निहुँरिएर कोठामा छिर्नुपर्ने अवस्था छ ।
‘कर्मचारी कुर्सीबाट निहुँरिएर उठ्नुपर्ने अवस्था छ, नत्र ठोकिन्छ,’ स्थानीय हुमाकान्त पोखरेलले भने, ‘कर्मचारी पनि गाउँमा मुस्किलले बसेका छन् ।’ इस्मा गाउँपालिकाको कार्यालयमा पनि एउटै कोठामा तीन–चारवटा विषयगत कार्यालय सञ्चालन भइरहेका छन् । एकैचोटि धेरै सेवाग्राही आए बाहिर उभिनुपर्ने बाध्यता छ ।
चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवन भाडामा लिएर काम चलाइरहेको छ । ठूलो राजस्व आउने कुनै स्रोत गाउँपालिकामा छैन, तर गाउँपालिकाले मासिक ७० हजार घरभाडा तिर्दै आएको छ । गाउँपालिकाले कार्यालय बनाउन नसके एक वर्षमा आठ लाख ४० हजार घरभाडामा मात्रै खर्च हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
कुन स्थानीय तहले कति तिर्छन् भाडा ?
जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रेसुंगा नगरपालिका हो । ०७३ मा रेसुंगा नगरपालिकाको घोषणा भएको थियो । नगरपालिका घोषणा भएको चार वर्ष पूरा भए पनि आफ्नै भवन छैन । अहिलेसम्म तीनवटा घरमा नगरपालिका कार्यालय सरिसकेको छ ।
नगरपालिकाले मासिक ४५ हजार घरभाडा बुझाउँदै आएको छ । यस्तै मुसिकोट नगरपालिकाले पनि मासिक २० हजार घरभाडामै खर्च गर्छ । इस्मा गाउँपालिकाले मासिक २४ हजार, कालिगण्डकी गाउँपालिकाले २५ हजार, गुल्मीदरबार गाउँपालिकाले ४० हजार, सत्यवती गाउपालिकाले २० हजार घरभाडा बुझाइरहेका छन् ।
जिल्लामा सबैभन्दा कम भाडामा बुझाउने गाउँपालिका रुरु हो । उसले मासिक १५ हजार भाडा बुझाउने गाउँप्रमुख नीलकण्ठ गौतमले जानकारी दिए । दुईवटा घरलाई छत्रकोट गाउँपालिकाले ४० हजार र १० वटा कोठासहितको घरलाई मदाने गाउँपालिकाले २८ हजार भाडा बुझाउने सम्झौता गरेको छ ।
धुर्कोट गाउँपालिकाले पनि मासिक ३५ हजार घरभाडा बुझाउँदै आएको गाउपालिकाका कर्मचारी ईश्वरी भण्डारीले जानकारी दिए ।
स्रोत: www.enayapatrika.com/2018/02/16/24415/