News

गैंडाको अध्ययन: वासस्थान विनाश र पोथी गैंडाको चोरी सिकार नरोकिए सय वर्षमा शून्यमै झर्ने

January 03, 2018

कान्तिपुर राष्ट्रिय दैनिक, १९ पुष २०७४

चितवन निकुञ्जमा वासस्थान विनाश ५० प्रतिशतले ह्रास आए सय वर्षपछि एकसिंगे गैंडाको संख्या चार सयको हाराहारीमा सीमित हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

चितवन निकुञ्जमा वासस्थान विनाश ५० प्रतिशतले ह्रास आए सय वर्षपछि एकसिंगे गैंडाको संख्या चार सयको हाराहारीमा सीमित हुने विज्ञहरुले चेतावनी दिएका छन्। चोरी सिकारी पूर्णत: रोकिए पनि वासस्थान विनाशको दर बढदै जाँदा त्यसको प्रत्यक्ष असर गैंडाको वंश विस्तारमा परेको विज्ञहरुको निष्कर्ष छ।

वर्षेनी दुई प्रतिशतका दरले चितवन निकुञ्जमा गैंडाको आहार, घाँसे मैदान, पानीका घोल र तालतलैयालगायतका वासस्थान विनाश हुँदै गएको छ। ‘माइकेनिया म्याकारान्था’ नामको मिचाहा प्रजातिको वनस्पतिको उच्च दरको फैलावटका कारण गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोलहरु छोपिएका छन्।

गैंडामा विद्यावारिधी गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी, वन्यजन्तुमै विद्यावारिधी गरिरहेका बाबुराम लामिछाने, जुलोजिक सोसाइटी अफ लण्डन, बेलायतका राजन अमिन र ‘वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया’ का यादभेन्द्रदेभ भि झालाले चितवन निकुञ्जमा ७ वर्ष गरेको अध्ययनले पछिल्लो समयमा गैंडाका लागि वासस्थान विनाश सबभन्दा चुनौती बनेको निष्कर्ष निकालेको हो। उनीहरुले पछिल्ला वर्षमा चोरी सिकार भन्दा पनि वासस्थान विनाश चिन्ताको विषय बनेको उल्लेख गरेका छन्।

उनीहरुले सन् २००९ देखि २०१५ सम्म चितवन निकुञ्जका गैंडाबारे अध्ययन गरेका हुन्। अध्ययनअनुसार बितेका २६ वर्षमा निकुञ्जको मुख्यालय रहेको कसरादेखि पूर्वी क्षेत्रमा ४९ प्रतिशतले गैंडाको संख्यामा ह्रास आएको छ। चितवनका गैंडाको बासस्थान र आहारको अवस्थाका साथै माइकेनिया म्याकारान्थाबारे विद्यावारिधी गरेका सुवेदीका अनुसार सन् २००० मा चितवनमा पहिलोपटक माइकेनिया देखा परेको हो।

९५२.६३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चितवन निकुञ्जमा गैंडाको मुख्य बासस्थान २५ प्रतिशतमात्र छ। त्यसमा पनि वर्षेनी दुई प्रतिशतका दरले वासस्थान विनाश भइरहँदा त्यसको प्रत्यक्ष असर एकसिंगे गैंडा र तिनको वंश विस्तारमा परेको उनीहरुको निष्कर्ष छ। चितवन निकुञ्जमा गैंडा पर्यटकका मुख्य आकर्षण हुन् भने तिनै पर्यटक निकुञ्जको आम्दानीका स्रोत हुन्। वन्यजन्तु सफारीका लागि चितवन निकुञ्ज विश्वमै विख्यात छ। विश्वमै चितवन गैंडाको दोस्रो ठूलो वासस्थान भएको निकुञ्ज हो। पहिलो नम्बरमा भने भारतको काजीरंगा पर्छ।

उनीहरुले निकुञ्जले धान्न सक्ने (क्यारिङ क्यापासिटी) गैंडाको संख्या ८ सयलाई आधार मानेर गैंडाको विद्यमान अवस्था, वासस्थानको अवस्था, चोरी सिकार, आहारको उपलव्धता र एक सय वर्षपछि पर्न सक्ने संभावित चुनौंतीबारे अध्ययन गरेका हुन्। विशेषज्ञहरुले चितवन निकुञ्जसंग ८ सय गैंडा धान्न सक्ने क्षमता रहेको पहिल्यैदेखि बताउँदै आएका छन्। पछिल्लो गणना अनुसार चितवनमा ६ सय ५ बयस्क गैंडा छन्।

अध्ययनले गैंडा चोरी सिकार वर्षेनी शुन्य कायम गराउन सफल भए पनि अहिले भएको वासस्थानमध्ये ५० प्रतिशत वासस्थान विनाश हुँदा अबको एक सय वर्षपछि गैंडाको संख्या ३ सय ९५ मा झर्न सक्ने संकेत गरेको छ। तर, वासस्थान विनाश पूर्णरुपमा रोकेर सुधार ल्याए पनि वर्षेनी १० का दरले बयस्क पोथी गैंडाको चोरी सिकार भए सय वर्षपछि चितवनबाट गैंडाको वंश विनाश हुन (शून्य) सक्ने उनीहरुको दाबी छ।

‘पोथी गैंडाको लगातार चोरी सिकार हुँदा वंश विस्तारमै असर पुग्छ,’ अनुसन्धानकर्ता सुवेदीले कान्तिपुरसित भने, ‘सिकार पूर्ण रोकिए पनि वासस्थान विनाश दर बढ्यो भने पनि गैंडाको संख्या घट्छ।’ अध्ययनअनुसार वर्षेनी ६ बयस्क पोथी र ६ बयस्क भालेको चोरी सिकार र अहिले भएको वासस्थानमा ५० प्रतिशत वासस्थान विनाश भयो भने सय वर्षपछि गैंडाको संख्या १ सय ६१ मा सीमित हुन सक्ने देखिन्छ।

सन् २०११ पछि चितवन निकुञ्जमा चोरी सिकार नियन्त्रणमा आए पनि गैंडाले मन पराउने आहार र पानीका घोललगायत घाँसे मैदानजस्ता वासस्थानको विनाश भने बढदो छ। वंश विस्तारका लागि आहारको सन्तुलन आवश्यक पर्छ। उनीहरुका अनुसार वर्षेनी ५ बयस्क पोथी र ५ बयस्क भाले गैंडाको चोरी सिकार भए पनि वासस्थान विनाश पूर्णत: रोक्न सके गैंडाको संख्या निराशजनक हिसाबले घट्ने छैन।

थोरै संख्यामा चोरी सिकार भइरहँदा पनि वासस्थान व्यवस्थापन गर्न सके एक सय वर्षपछि पनि गैंडाको संख्या ७ सय ८६ को हाराहारीमै रहने सुवेदीले उल्लेख गरे। वर्षेनी १८ बयस्क भालेको चोरी सिकार भयो र अहिले भएको वासस्थानमा ५० प्रतिशत विनाश भयो भने पनि गैंडाको संख्यामा त्यती धेरै उतार चढाब आउने देखिन्न। त्यसो भइहाल्यो भने पनि एक सय वर्षपछि गैंडाको संख्या ७ सय ८६ को हाराहारीमा पुग्ने निक्र्योल छ।

तर, वर्षेनी ५ बयस्क पोथी र ५ बयस्क भालेको चोरी सिकार भयो र अहिले भएको वासस्थान पनि ५० प्रतिशत विनाश भयो भने संख्या २ सय ६७ मा खुम्चिनेछ। पछिल्ला दुई वर्षयता चितवन निकुञ्जमा चोरी सिकारले दुई गैंडा मरेका छन्। त्यो भन्दा बढी करिब दुई दर्जन गैंडा प्राकृतिक, विद्युतीय तारबार र खाडलमा परेर मरेका छन्। कतिपय गैंडा निकुञ्ज भित्रको सिमसार, घोल र खाडलमा परेर पनि मरेका छन्। त्यसले अहिलेको वासस्थान व्यवस्थापनपक्षमा त्यति ध्यान नपुगेको प्रष्टिने विज्ञहरु बताउँछन्।

अध्ययनले चोरी सिकार पनि नियन्त्रण भयो र माइकेनिया म्याकारान्थाको पनि नियन्त्रण गर्न सके चितवनबाट वर्षेनी ८ भाले र ५ पोथी गरी १३ गैंडा अन्य स्थानमा स्थानान्तरण गर्न सकिने आशलाग्दो परिणाम देखाएको छ। अहिले पनि चितवनबाट बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा स्थानान्तरण भइरहेको छ। उनीहरुले अध्ययनका क्रममा विभिन्न मोडलको प्रयोग गरेका छन्। उनीहरुको अध्ययनले चोरी सिकार नियन्त्रणसंगै वासस्थान विनाश रोक्नेतिर पहलकदमी गर्न सुझाएको छ।

वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख सहसचिव महेश्वर ढकालले ढिलो वंश विस्तार हुने र दुर्लभ प्रजातिका वन्यजन्तुको दिगो संरक्षणणका लागि वासस्थान व्यवस्थापनमा ध्यान दिन ढिला गर्न नहुने तर्क गरे। ‘वासस्थान व्यवस्थापनमा लगानी आवश्यक छ,’ उनले भने, ‘अब ध्यान त्यतातिर दिनुपर्ने देखिन्छ।’ राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडकाले भने विशेषज्ञहरुले आफ्नो विद्यावारिधीका लागि गरेको अध्ययनको निष्कर्षलाई विश्वास गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरे। ‘उहाँहरुले गरेको निष्कर्षलाई मानिहाल्नुपर्छ भन्ने पनि छैन,’ उनले भने, ‘गरीब मुलुक भए पनि वासस्थान व्यवस्थापनमा लगानी भइरहेको छ।’ तर, विशेषज्ञहरुले भनेजस्तै मिचाहा प्रजातिका वनस्पतिका कारण निकुञ्जको वासस्थान र आहारमा भने असर परेको खडाले स्विकारे।

स्रोत: https://www.kantipurdaily.com/news/2018/01/03/20180103164103.html