News

गैरकृषि पेसामा महिलाको पहुँच बढ्दै

January 20, 2020

विद्या राई, कान्तिपुर, माघ ०६, २०७६ 

काठमाडौँ — कमला सुवेदी पहिल्यैदेखि हस्तकलामा रुचि राख्थिन् । एकपटक हस्तकलासम्बन्धी प्रदर्शनीमा बंगलादेश जाने अवसर पाइन् । त्यहाँको महिला उद्यमीले हातले बनाइएका क्रिस्टलका चुरा, माला, ब्रासलेट, टप, झुम्का, औंठी बनाएर व्यापार गरेको देखिन् । प्रदर्शनी अवलोकन गर्दागर्दै बनाउने तरिका, नाफाघाटाबारे जानकारी लिइन् । नेपाल आएपछि ‘सिर्जनशील क्रिस्टल हस्तकला उद्योग’ दर्ता गरिन् ।

छ वर्षअघि कलंकीमा ५ हजार लगानी गरेर थालेको उनको व्यवसाय अहिले १ करोड रुपैयाँ हाराहारीको भएको छ । हेटौंडामा शाखा छ । दुवैतर्फ अरू ५० जनाले रोजगारी पाएका छन् ।

व्यवसायमा लागेपछि सुवेदीप्रति पति, परिवार र समाजको दृष्टिकोण फेरिएको छ । ‘चुलाचौकाभन्दा बाहिर निस्किन पाइँदैनथ्यो,’ ४७ वर्षीया सुवेदी भन्छिन्, ‘आर्थिक रूपमा महिला सक्षम भएपछि अरूको साथ पाइने रहेछ ।’

सुवेदीको विवाह १६ वर्षकै उमेरमा भएको थियो । बिहेपछि खर्चका लागि पति र परिवारको भर पर्नुपर्‍यो । दुई छोरा जन्मिएपछि जिम्मेवारी झनै बढ्यो । ०७० सालमा छोराहरूको पढाइका लागि सुवेदी सपरिवार हेटौंडाबाट काठमाडौं आएकी हुन् ।सुवेदी डिजाइन गरेर अरूलाई बनाउन दिन्छिन् । उनीहरूले कच्चा पदार्थ घरैमा लिएर जान्छन्, बनाउँछन्, ल्याइदिन्छन् । त्यसबापत ज्याला दिन्छिन् ।

सुवेदीले मुलुकभरका २३ हजार महिला उद्यमीलाई सीप विकासको तालिम दिइसकेकी छन् । उनी तालिम, प्रदर्शनी र व्यापारको सिलसिलामा विदेश पनि गइरहन्छिन् । त्यति बेला पतिले व्यवसाय धान्छन् । ‘कुनै बेला घरको दैलोबाट निस्कन श्रीमान् र परिवारको डर मान्नुपर्थ्यो, अहिले चाहेका बेला घरबाट निस्कन सक्छु, आफ्नो कमाइले सन्तुष्ट छु,’ उनले भनिन् ।

स्याङ्जा पुतलीबजारकी २९ वर्षीया सुनीता क्षेत्रीले पनि सफल उद्यमीको परिचय बनाएकी छन् । क्रिस्टल, धातु र मोतीका टप, औंठी, पोते डिजाइन, कुसन र गुडियालगायतका हस्तनिर्मित सामग्री बनाउने उनले चार वर्षअघि क्रिस्टलको सानो पसल खोलेकी थिइन् । ऋणपान गरी १ लाख जुटाएर सुरु गरेको पसल अहिले आदर्श हस्तकला उद्योग बनेको छ ।

व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र पास गरेकी उनलाई स्नातक सकेर बैंकको जागिरे बन्ने लक्ष्य थियो  । पढाइ नसक्दै विवाह भयो  । बच्चाकी आमा भइन् । आवश्यकता बढ्न थाले । उनका पति वैदेशिक रोजगारीका लागि कतार हानिए । उनले घर व्यवहार सम्हाल्न थालिन् । त्यही बेला छरछिमेकीको सिको गरेर व्यवसायमा हामफालेकी हुन् ।

अहिले १० जना महिलालाई जागिर दिएकी छन् । तीन वर्षयता ललितपुर, पोखरा र बेनी तथा जिल्लाका गरी पाँच सयभन्दा बढी महिलालाई तालिम दिइसकेकी छन् । केही समयअघि इन्डोनेसियामा भएको महिला उद्यमी तालिममा छनोट हुने उनी नेपालकी एक्ली थिइन् । उद्यमको कमाइले आठ वर्ष र चार वर्षका छोरालाई निजी स्कुल पढाउन सकेकी छन् । वैदेशिक रोजगारीमा गएका पतिलाई स्वदेश फर्काउने तयारीमा छिन् । दुवै भएर उद्योग थप विस्तार गर्ने उनको लक्ष्य छ ।

राष्ट्रिय योजना आयोगको मानव विकास प्रतिवेदनले पनि पछिल्लो समय कमला र सुनीताजस्तै महिलाको आर्थिक आत्मनिर्भरता बढ्दै गएको देखाएको छ । राष्ट्रिय जनगणनाका आधारमा तयार भएको प्रतिवेदनमा गैरकृषि पेसामा महिलाको पहुँच बढेको पाइएको छ । सन् २००३ मा गैरकृषिमा स्वरोजगार बन्ने महिला ६.७ प्रतिशत मात्रै थिए भने सन् २०११ मा यो अनुपात बढेर १६.७ प्रतिशत पुगेको छ । सन् २००३ मा कृषिमा स्वरोजगार हुने महिला ७४.६ प्रतिशत थिए भने सन् २०११ मा यो अनुपात घटेर ५७.१ प्रतिशतमा झरेको छ ।

महिलाको आर्थिक उपार्जन वृद्धि हुँदै जाँदा देशको विकास र मानव विकास सूचकांकमा सकारात्मक प्रभाव पर्ने राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य एवं राष्ट्रिय सभा सदस्य विमला राई पौडेल बताउँछिन् । ‘आर्थिक रूपमा आत्मनिर्भर हुँदा महिलाले कसैको भर पर्नु परेन, थिचोमिचोमा पर्नु परेन, शिक्षा, स्वास्थ्यमा पहुँच स्वतः बढ्छ,’ उनले भनिन्, ‘महिलाको कमाइको अधिकांश हिस्सा सन्तान र परिवारको पोषणयुक्त खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा खर्च हुन्छ, यसले दिगो विकास लक्ष्यमा सहयोग पुग्छ ।’

दिगो विकास लक्ष्यअनुसार लैंगिक समानताको लक्ष्य प्राप्त गर्न लैंगिक सशक्तीकरणलाई जोड दिइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार नेपालमा लैंगिक सशक्तीकरण सूचकांकको मान ०.५७ छ । सन् २०३० सम्ममा यसलाई बढाएर ०.६९ पुर्‍याउने लक्ष्य छ । यसका लागि राष्ट्रिय योजना आयोगले मातहतका मन्त्रालयमा लैंगिक सशक्तीकरणका कार्यक्रमहरू लागूगरेको छ ।

स्रोत: https://ekantipur.com/business/2020/01/20/15794960584115716.html