News

गोरखा साक्षर जिल्ला घोषणा

August 26, 2017

शिव उप्रेती, अन्नपुर्ण पोष्ट, ०९ भाद्र २०७४ 

उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शुक्रबार एक समारोहका बीच गोरखालाई साक्षरता जिल्ला घोषणा गरेका छन्।

जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहमा घोषणापत्र पढेर सुनाउँदै मन्त्री श्रेष्ठले गोरखालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० बर्ष उमेर समूहका जनसंख्यामध्य ९७.२ प्रतिशत जनसंख्या साक्षर भएपछि मन्त्रीले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेको मन्त्री श्रेष्ठले जनाए।

जिल्लालाई साक्षर घोषणा गर्न २०६८ सालदेखि अभियान सुरु गरिएको थियो । त्यसबेला गोरखामा निरक्षरता संख्या ६६ हजार सातसय ४४ जना थियो । ‘छ बर्षको प्रयासपछि हामीले एकलाख ४१ हजार सातसय १४ जना निरक्षरलाई साक्षर बनायौं’ जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले घोषणा सभामा भने ‘अझै पनि चारहजार ७९ जना निरक्षर नै छन् । तर नेपाल सरकारको नीति अनुसार ९५ प्रतिशत भन्दा बढि साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सकिने भएकाले घोषणा गरिएको हो ।’

जिल्ला अनौपचारिक शिक्षा समितिको निर्णय अनुसार गोरखालाई साक्षर जिल्ला घोषणा गरिएको उनले बताए । साक्षर जिल्ला घोषणा गर्ने वातावरण तयार गर्न शैक्षिक स्रोत तथा विकास केन्द्रहरुले साक्षर अभियान सञ्चालन गरेका थिए।

घोषणा सभामा बोल्दै मन्त्री श्रेष्ठले आर्थिक र कृषि क्रान्तिका लागि ब्यबसायिक शिक्षा अपरिहार्य रहेको बताए । घोकन्ते शिक्षा र कोरा शिक्षाले सर्टिफिकेट मात्रै दिएको भन्दै उनले प्राबिधिक शिक्षा बिद्यालय तहबाटै लागू गर्नुपर्ने बताए।

देशमा राजनीतिक क्रान्तिपछि संबिधानसभाबाट संबिधान निर्माण भएर अहिले कार्यान्वयनको चरणमा रहेपनि सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गर्न नसकेको स्वीकार गरे।

भूकम्पका बेला भत्किएका सबै बिद्यालय भबनहरु पुननिर्माण गर्न नसकेको पनि उनले स्वीकार गरे। 'सरकारी बिद्यालयबाटै गुणस्तरीय शिक्षा दिनुपर्छ। रोजगारीका अबसरहरु छन् त्यसका लागि प्राबिधिक शिक्षाको पढाइ हुने बिद्यालय र क्याम्पसहरु खोल्नु जरुरी छ' उनले भने।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले गोरखाका कार्यालय प्रमुखहरुसंगको भेटघाटमा जनताको काम फटाफट गर्न निर्देशन दिएका थिए।अर्को फरक प्रसंगमा उनले प्रदेश नं. २ को निर्वाचन र प्रदेश, केन्द्रको निर्वाचन तोकिएकै समयभित्र सरकारले पूरा गर्ने जनाए।

स्रोत: 

http://annapurnapost.com/news/78560