गौतम बुद्ध विमानस्थलमा चिनियाँ ठेकेदारलाई फेरि एक वर्ष

March 09, 2018

केदार दाहाल, कारोबार,  शुक्रवार, फाल्गुन २५, २०७४

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपिने भएको छ । यसअघि पनि ६ महिना समय थपिएको राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै बिलम्ब गरेका कारण पुनः म्याद थपिएको हो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थल अझै पनि निर्धारित मितिमै सम्पन्न हुनेमा आशंका छ । 


हालसम्म आयोजनाको काम ३० प्रतिशतमात्र सम्पन्न भएको छ । जुन महिनासम्म ९० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा मुश्किलले ३५ प्रतिशत पनि नपुग्ने देखिएपछि एक वर्ष समय थप्ने तयारी गरिएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले समयमा काम सम्पन्न गर्न नसकेपछि थप एक वर्षको समय दिने तयारी गरिएको हो । नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आयोजनको लागि ऋण सहयोग गरेको एसियाली बिकास बैंक (एडीबी)बीचको छलफलपछि एक वर्ष समय दिने तयारी गरिएको हो । 
अहिले ठेक्का तोडेर नयाँ कम्पनीलाई दिँदा समय झनै लम्बिने भएकोले सर्तहरू राखेर एक वर्ष समय दिनुको विकल्प नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना महाशाखाका प्रमुख डुन्डुराज घिमिरेले बताए । “सन् २०१९ को मध्यबाट विमानस्थल सञ्चालनमा ल्याउने जिम्मेवारीसहित समय थप्ने छौं, तर निर्णय भने भएको छैन,” घिमिरेले भने । वृहत्तर लुम्बिनी विकास गुरुयोजनाका निर्देशकसमेत रहेका घिमिरे अहिले चिनियाँ कम्पनीले राम्रो काम गरिरहेको दावी गर्दछन् । 
एडीबीले काम सन्तोषजनक नभएको भन्दै ऋण सहयोग रोक्ने चेतावनी सरकारलाई दिँदै आएको छ । दाता भएकोले उनीहरूले काम छिटो होस् भन्नु राम्रो पक्ष भएपनि एडीबीका अधिकारीहरू अहिले भने सन्तुष्ट रहेको घिमिरेले दावी गरे । एडीबीले दुई महिनाअघि आयोजना निर्माणबाट बाहिरिहने आसयसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । चिनियाँ ठेकदार कम्पनीले विभिन्न बहाना बनाउँदै आयोजना निर्माणमा ढिलाइ गरिरहेको आरोप एडीबीको थियो । 
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो । एडीबीको ऋण सहयोगमा निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ भने काम सुरु भएको २ वर्षसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । जबकी यो समयमा ९० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएको थियो । “एडीबी बाहिरिनेभन्दा पनि उहाँहरूले काम चाँडो होस् भन्ने आसय हो,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले भने । अहिले चिनियाँ ठेकदारले कामदार बढाएर कामको गति बढाएको समेत श्रेष्ठले बताए । 
भैरहवा विमानस्थलले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप हुँदा घन्टौंसम्म जहाज आकाशमै होल्ड हुनुपर्ने बाध्यता छ । 
गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।
विमानस्थलदेखि लुम्बिनीसम्म विद्युतीय गाडी 
सरकारले निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलदेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मका लागि विद्युतीय सवारी सञ्चालन गर्ने भएको छ । जसका लागि ६ वटा ठूला इलेक्ट्रिक बस र ११ वटा इलेक्ट्रिक कार किन्ने तयारी गरिएको छ । “पर्यटकलाई लुम्बिनी भ्रमणको लागि इलेक्ट्रिक गाडी प्रयोग गर्न खोजेका हौं,” घिमिरेले भने । गाडी खरिदको लागि अहिले लुम्बिनी विकास कोषले प्रक्रिया अगाडि बढाएको घिमिरेले जानकारी दिए ।

स्रोत: https://karobardaily.com/news/tourism/2968

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More