अशोक पहाडी, नयाँ पत्रिका, फागुन १४, २०७४
सरकारद्वारा ७१ प्रकारका औषधिको निःशुल्क व्यवस्था
जिल्ला अस्पताल गौरमा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएको औषधि अस्पतालमा नहुँदा बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।
सरकारले जिल्ला अस्पतालबाट ७१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने बताए पनि गौर अस्पतालबाट सेवाग्राहीले मुस्किलले १० देखि १५ प्रकारका औषधि मात्र पाउने गरेका छन् ।
सरकारले निःशुल्क दिने भनेको सबै औषधि नदिँदा बिरामीलाई उपलब्ध गराउन नसकिएको जनस्वास्थ्य कार्यालय गौरका प्रमुख राधेकृष्ण साहले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयमै औषधि नभएपछि जिल्लाका अरू ९८ वटा स्वास्थ्य संस्थामा पर्याप्त औषधि हुने कुरै भएन ।
जिल्लाका कुनै पनि सरकारी स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनेको सबै औषधि नभएको जनस्वास्थ्य कार्यालयका स्टोर किपर नासु रामअस्रे मुखियाले बताए ।
स्थानीय निकायले औषधि खरिद नगर्दा सरकारले निःशुल्क दिने भनेको औषधिको अभाव भएको जनस्वास्थ्य प्रमुख साहको भनाइ छ ।
औषधि खरिदका लागि जनस्वास्थ्य कार्यालयमा चालू आर्थिक वर्षका लागि १३ लाख रुपैयाँ मात्र आएको छ ।
गत साउनमा आएको बाढीका वेला १० लाख रुपैयाँबराबरको औषधि किनेर वितरण गरिएको र अब तीन लाख रुपैयाँ मात्र कार्यालयमा रहेको साहले जानकारी दिए ।
औषधि बाहिर किन्नुपर्ने बाध्यता
जिल्ला जनस्वास्थ्य कार्यालयमै राज्यले निःशुल्क दिने भनेको औषधि नभएपछि बिरामीले निजी औषधि पसलमा गएर औषधि किन्नुपर्ने बाध्यता छ ।
गौरका स्थानीय बासिन्दा नन्दन साहले जिल्ला अस्पतालले औषधि नदिँदा बाहिरका औषधि पसलमा किन्नुपर्ने बाध्यता रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले सेवाग्राहीबाट टिकट र एक्सरेबापत मासिक करिब एक लाख २० हजार रुपैयाँ संकलन गर्दै आएका छन् ।
तर, कर्मचारी खर्चमै मासिक एक लाख ३० हजार रुपैयाँ खर्च हुने गरेको जनस्वास्थ्य प्रमुख साहको भनाइ छ ।
जिल्लाका अधिकांश सरकारी स्वास्थ्य संस्थामा कुकुरले टोक्दा लगाउने एन्टिरेबिज भ्याक्सिन छैन । महिनौँदेखि स्वास्थ्य संस्थामा एन्टिरेबिज भ्याक्सिन अभाव हुँदा पनि त्यसको आपूर्तिमा सम्बन्धित निकायले ध्यान दिएको छैन ।
सरकारी स्वास्थ्य संस्थामा भ्याक्सिन नहुँदा बिरामीले महँगो मूल्य तिरेर निजी क्लिनिकमा गएर भ्याक्सिन लगाउनुपर्ने बाध्यता छ ।
‘माथिबाटै रेबिजको भ्याक्सिन नआउँदा स्वास्थ्य संस्थालाई दिन सकेका छैनौँ,’ जनस्वास्थ्य प्रमुख साहले भने ।
क्यान्टिनको भाडा माग्दा ज्यान मार्ने धम्की
जनस्वास्थ्य कार्यालयले क्यान्टिन सञ्चालनका लागि कोठा भाडामा लगाएको छ । मासिक ३१ हजार रुपैयाँमा कोठा भाडामा लगाए पनि जनस्वास्थ्यले लामो समयदेखि भाडाबापतको रकमसमेत उठाउन सकेको छैन ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम साह स्वयंले क्यान्टिन सञ्चालन गरेका हुन् । अध्यक्ष साहले क्यान्टिन सञ्चालनका लागि लिएको कोठाको १८ महिनादेखि भाडा नतिरेको अस्पताल प्रशासनले जनाएको छ ।
भाडा माग्दा क्यान्टिन सञ्चालक साहका दुईजना भाइले आफूलाई ज्यान मार्ने धम्की दिने गरेका जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर रामअस्रे मुखियाले बताए ।
केही समयअघि अध्यक्ष साहका भाइले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाका लागि मुखियाले पत्रकार सम्मेलन नै गरेका थिए ।
अस्पताल दुर्गन्धित
जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको भवनको भ¥याङको खुड्किलैपिच्छे पान र गुट्खा खाएर थुकेको फोहोर छ ।
अस्पतालको शौचालय जानै नसक्ने दुर्गन्धित छ । शौचालयको बेसन बिग्रेको लामो समय हुँदा पनि मर्मत गरिएको छैन । शौचालयमा जाँदा नाकमुख थुनेर जानुपर्ने अवस्था रहेको सेवाग्राहीले बताएका छन् ।
स्रोत: www.enayapatrika.com/2018/02/26/27425/