ग्यास आयात पर्याप्त

March 17, 2020

अन्नपूर्ण पोष्ट, चैत्र ०४, २०७६ 

काठमाडौं : ग्यास उद्योगीको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले घरमा आवश्यकताभन्दा बढी ग्यास भरिएका सिलिन्डर नराख्न आग्रह गरेको छ। ग्यास बिक्रेता महासंघ र संघले संयुक्त रूपमा सोमबार पत्रकार सम्मेलन गरी ग्यास अति प्रज्ज्वलनशील पदार्थ भएकाले आवश्यकताभन्दा बढी संख्यामा सिलिन्डर नराख्न उपभोक्तालाई आग्रह गरेको हो।

संघका अध्यक्ष गोकुल भण्डारीले घरमा सिलिन्डर थुपार्दा यसले जोखिम बढाउन सक्ने जानकारी दिए। ‘ग्यास आफैमा अति प्रज्जवलनशील पदार्थ हो, धेरै संख्यामा घरमा थुपार्दा यो बमजस्तै हो। यसर्थ संवेदनशील भएर खपतका आधारमा मात्रै सिलिन्डर राखौं’, उनले भने,‘धेरै थुपार्दा दैनिक रूपमा ज्यालादारी काम गर्ने र एक सिलिन्डर मात्रै हुनेले सास्ती व्यहोरेका छन्।’ भण्डारीले उपभोक्तालाई नयाँ कम्पनीको सिलिन्डर बिक्रीमा रोक लगाइएको र बिक्रेताबाट एकै व्यक्तिलाई बढी परिमाणमा सिलिन्डर बिक्री नगर्न निर्देशन दिइएको जानकारी दिए।

ग्यास पर्याप्त आयात भइरहेको उनले जानकारी दिए। ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले हल्लाका भरमा घरघरमा अत्यधिक संख्यामा ग्यासको सिलिन्डर थुपारिएका कारण सामान्य वर्गलाई समस्या परेको बताए। उनले ग्यास डिलर प्रमाणीकरण र उपभोक्ता ग्यास कार्ड प्रणाली कार्यान्वयनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय साकारात्मक भएको जानकारी दिए। यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगम, ग्यास उद्योगी र ग्यास बिक्रेता महासंघलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए। मन्त्रीभट्टले बजारमा तत्कालै ग्यास सहज आपूर्ति र पारदर्शी वितरण नभए दोषि उद्योग र बिक्रेतालाई कानुन प्रयोग गरी थुन्नेसम्मको चेतावनी दिएका थिए। स्रोतका अनुसार मन्त्रीभट्टले उपभोक्ताले सहज रूपमा ग्यास नपाए सबै उद्योगको ग्यास सरकारले नियन्त्रणमा लिएर आफै वितरण गर्नेसमेत बताएका छन्। ‘उद्योगी र बिक्रेताबाट कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ भएको प्रमाण फेला परे सबै कानुन प्रयोग गरी त्यस्ता उद्योगी र बिक्रेतालाई थुन्न पछि पर्दिन्’, मन्त्रीभट्टले उद्योगी र बिक्रेतालाई चेतावनी दिँदै भनेका थिए। स्रोतका अनुसार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजारमा सिलिन्डरको कालोबजारी भएको बताएका थिए।

स्रोत: http://annapurnapost.com/news/150545

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More