News

ग्रामीण सडकको बेहाल : घाम लागेमात्रै चल्छन् गाडी

July 26, 2017

कान्तिपुर दैनिक, ११ श्रावण २०७४ 

हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँड्डुल गर्न अप्ठेरो हुन्छ। नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन्। गाडी चल्छन् पनि। जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्। 

अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने भएको यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले बताए। ‘केही रुटमा मात्रै हाम्रा बस चलेका छन्, धेरैजसो बन्द भइसके,’ उनले भने। कच्ची सडकमा गोरखा यातायातका १ सय १० बस चल्छन्। ‘छिटपुट गाडी चलेका छन्, पानी परेको दिन ठप्पै हुन्छ,’ उनले भने, ‘लगातार घाम लागेमात्रै बस चल्छन्।’ कच्ची सडक मर्मत नगरेसम्म सार्वजनिक यातायातको सेवा नियमित सञ्चालन नहुने यातायात व्यवसायीको भनाइ छ। घ्याम्पेसाल र बालुवा जोड्नेबाहेक अन्य सडकमा गाडी नियमित छैनन्। 

सहिद लखन गाउँपालिका–७ का अध्यक्ष शरण श्रेष्ठले ऋण काढेर बाटो मर्मत गर्न लगाए। ‘६ लाखमा मर्मतसम्भार गरियो,’ उनले भने, ‘ठूलो पानी आयो भने फेरि बन्द भइहाल्छ।’ उनले गाउँपालिकामा खर्च पेस गर्ने गरी मर्मतसम्भार गरेको बताए। ‘बजेट थिएन, पछि खर्च पेस गर्ने गरी मर्मतसम्भार गरेर हिँडडुल गर्न मिल्ने बनाएका छौं,’ श्रेष्ठले भने। सडकहरू जताततै हिलाम्मे र खाल्डाखुल्डी हुँदा ओहोरदोहोरसमेत जोखिमपूर्ण बनेको छ। भीमसेन गाउँपालिकाका वीरेन्द्र श्रेष्ठले भने, ‘दुई घण्टा लाग्ने बाटो बिग्रेर ४/५ घण्टा लाग्ने भएको छ।’ वर्षाले कच्ची सडक अवरुद्ध भएपछि भूकम्पपछिको पुनर्निर्माण पनि प्रभावित भएको छ। ‘पानी परेर बाटो पहिरो र खाल्डाखुल्डीले अवरुद्ध छ,’ धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले भनिन्, ‘एम्बुलेन्समा राखेर बिरामी अस्पतालसम्म लैजान पनि सकिएको छैन।’ बाटोकै कारण निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी हुन नसकेको उनले बताइन्। 

पर्वतको फलेवास–७ लिमिठानाका ३५ किसानले सहकारीमार्फत २ सय गाईभैंसी पाल्न थालेको ५ वर्ष भयो। गाउँमा सडक पुगेपछि खुलेको चिसापानी दुग्ध उत्पादक कृषि सहकारीले दैनिक ५ सय लिटर दूध सदरमुकाम कुस्मा ल्याउन २० लाख खर्चेर जिप किन्यो। तर वर्षाका ६ महिना सडककै कारण सास्ती छ। ‘झरीले सडक भत्किन्छ, गाडी नचल्दा दूध पठाउँन पाइँदैन,’ सहकारी सचिव शोभा क्षत्रीले भनिन्, ‘बस्तुभाउलाई दाना खुवाउने खर्च बराबर पनि आम्दानी हुँदैन।’ पानी थामिएको भोलिपल्ट सबै जुटेर सडक मर्मत नगरे आउजाउ सुचारु नहुने उनले बताइन्। ‘बाटो मर्मतकै लागि मासिक १५ हजार छुट्याउने गरेका छौं,’ उनले भनिन्, ‘त्यति नगरे दूध फाल्नुपर्छ। पाँच सय लिटर दूध कहाँ पोख्नु।’ 

सुदूर दक्षिणको पैयुँ गाउँपालिकामा सञ्चालित बस तथा जिप व्यवसायी वर्षाले सडक भत्केकै कारण ५७ किमि दूरीको सदरमुकाम कुस्मा पुग्न १ सय ७४ किमिको स्याङ्जा–पोखरा हुँदै भूपी शेरचन मार्ग प्रयोग गर्न बाध्य छन्। कुस्मा–हुवास जोड्ने दुई सडक भए पनि असारको पहिलो सातादेखि अवरुद्ध छन्। ‘हुवास–वालिङ सडक मर्मत गर्दै साना गाडी मुस्किलले चलाएका छौं,’ व्यवसायी किसान रिजालले भने, ‘ठूला बस ठप्पै छन्।’

जिल्लाभर यस्ता समस्या प्रत्येक गाउँ/नगरमा छन्। पोखरा–बागलुङ र मालढुंगा–बेनी सडक आसपास बाहेकका सर्वसाधारण बर्सेनि यस्तै खालको समस्या झेलिरहेका छन्। हिउँदका ६ महिना सहज चल्ने सडक असारदेखि मंसिरसम्म अवरुद्ध हुन्छन्। सदरमुकाम कुस्मा नगरपालिकाका अधिकांश वडावासीले समेत सडकको समस्या भोग्दैआएका छन्। कुस्माका १, २, ३, १०, ११, १२, १३ र १४ वडावासी सडकको सुविधाबाट वञ्चित छन्। 

त्यस्तै जलजलाको ६, ७, ८, ९ वडामा असारदेखि सडक अवरुद्ध छ। फलेवास नगरपालिका, पैयुँ, बिहादी र महाशिला गाउँपालिकाका अधिकांश वडाका सडक ठप्पजस्तै छन्।

जिल्ला प्राविधिक कार्यालयका अनुसार जिल्लाका १ हजार किमि सडकमध्ये वर्षामा मुस्किलले दुई सय किमिमा गाडी चल्छन्। ‘जिल्लाका सबै सडकमा बाह्रै महिना गाडी सञ्चालनको प्रयास सफल हुन सकेको छैन,’ प्रमुख जिल्ला इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले भने, ‘मापदण्ड नपुर्‍याई ट्रयाक खोलेकाले अहिले जति मर्मत गर्दा पनि सानो बाढीले समेत असर पुर्‍याउँछ।’ पर्वतमा प्राविधिक कार्यालयको तथ्यांकभन्दा दोब्बर बढी सडक सञ्जाल छ। प्राविधिकहरूकै अनुसार अहिले जिल्लामा खुलेका सबै सडकका ट्रयाकको दूरी करिब २ हजार ४ सय किमि छ। तर, जिल्ला सडक सञ्जालका ३२ वटाको मात्रै प्राविधिक कार्यालयमा तथ्यांक छ। बाँकी सडक तत्कालीन गाविस, सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लगायतका बजेटबाट खनिएका हुन्। 
हिउँदमा मात्रै सद्दे सहायक राजमार्गस्तरको तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडकको १८ किमि क्षेत्र लमजुङमा पर्छ। उक्त सडक कालोपत्रे हो। पाउँदीबाट भोटेओडार कटेपछि बेंसीसहर नपुग्दैको सडक भने कच्चीजस्तै छ। 

अविरल वर्षा हुँदा आउने बाढीले ठाउँठाउँमा सवारी अवरुद्ध हुनु यहाँको पुरानै समस्या हो। पुलको माग गर्दै आए पनि भकुन्डे र गैरी लगायतका स्थानमा अझै बनेका छैनन्। बेंसीसहरबाट हिमाली जिल्ला मनाङ जाने एकमात्र बाटो पहिरोले दिनदिनै अवरुद्ध हुने गरेको छ। बेंसीसहर नजिकैको पुमा खोलामा पुल छैन। चण्डीस्थानको बेलौती बिसौना नजिकै उत्तिसघारी खरखरेमा दिनदिनै पहिरो खस्ने गरेको छ। सडक बनेको २४ वर्ष भए पनि स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो देखाएको छैन। ‘मुख्य सडकको अवस्था त यस्तो छ, गाउँ जाने बाटोको के कुरा गरौं,’ जिप चालक हुमप्रसाद गुरुङले भने। 

लमजुङमा साविकका ६१ गाविसका ग्रामीण भेगमा हिउँदमा सजिलै गाडी गुड्छन्। तर यतिबेला गाडी आवतजावत सहज छैन।  पसगाउँमा गत वर्षमात्रै ट्रयाक खुल्यो। केही दिन गाडी चल्न नपाउँदै सडकका विभिन्न स्थान पहिरोले बगाएपछि ठप्प रहेको तत्कालीन गाविस अध्यक्ष बलराम गुरुङले बताए। ‘हामी बेंसीसहर जानुपर्दा पोखरा गएर तनहुँ हुँदै जानुपर्छ,’ उनले भने। यस्तै पूर्वी क्षेत्रको दूधपोखरी, बिचौर, इलमपोखरीका बासिन्दालाई बेंसीसहर आउजाउ गर्न हिँड्नुपर्ने बाध्यता छ। काठमाडौं, पोखरा, चितवन जान आउन गोरखाको भच्चेक गएर आँबुखैरनीको बाटो प्रयोग गर्नुपरेको दूधपोखरीकी कुमारी गुरुङले बताइन्। उनका अनुसार गोरखाको भच्चेकबाटै खाद्यान्न लगायत ढुवानी गर्ने गरिएको छ। 

‘बाटो हिलो छ। पहिरो खसेको छ। गाडी चलाउनै मिल्दैन,’ बेंसीसहर–भुजुङ जिप चलाउँदै आएका रेशम गुरुङले भने। ट्राफिक प्रहरीका अनुसार अहिले नाल्मा, श्रीमञ्ज्याङ, सिउरुङ, पाचोक, हिलेबेंसीलगायत गाउँ जाने सडक अवरुद्ध छन्। आव २०७३/७४ मा मात्रै जिल्ला समन्वय समितिले लमजुङका १ सय ७२ सडकमा निर्माण र मर्मतका लागि १२ करोड ३२ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ। तत्कालीन नगरपालिका र गाविसका धेरै बजेट सडकमै लगानी गरिएका छन्। डिभिजन सडक कार्यालयले पनि सडकमै लगानी गरेको छ। जिल्लाका ४ नगर र ४ गाउँपालिकाले पनि चालु आवमा सडकलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। तर, निर्माण तथा मर्मत गरिएका सडक बर्खायाममा हिलाम्मे, पहिरो खस्ने र बाढीले बगाउने गरेको छ। छेउमा नाला नबनाउने गरेका कारण पनि धेरै सडक वर्षाले बगाएका छन्। 

ग्रामीण सडकमा सास्ती
तनहुँ सदरमुकामबाट घर फर्कंदा तनहुँसुरको पृथ्वी माविका प्रधानाध्यापक हरिमान श्रेष्ठ पैदलै फर्कन बाध्य भए। घाम लाग्दा धुलाम्मे हुने घाँसीकुवादेखि तनहुँसुर सडकमा पानी पर्दा गाडी चल्न सक्दैनन्। उकालो र रातोमाटो भएकाले गाडी चल्न नसक्दा दैनिक आउजाउ गर्नेले पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। 

झरी पर्दा किहुँ र गजरकोटको यात्रा पनि जोखिमपूर्ण हुने गर्छ। हिलाम्मे सडक र खोलामा पक्की पुल नभएपछि सवारी आउजाउ रोकिन्छ। गन्तव्यमा पुग्न नसक्दा यात्रीले सास्ती खेप्छन्। भीमाददेखि माझकोट, साबुँभगवती तर्फका सडक, कलेस्तीदेखि सतिस्वाँरा र मिर्लुङ पुग्ने जस्ता दर्जनौं सडकमा यात्रीले दु:ख पाएका छन्। यस्ता जोखिमपूर्ण सडकमा बसले क्षमताभन्दा बढी यात्री कोच्दा सधैं डराएर यात्रा गर्नुपरेको स्थानीय मना आचार्यले गुनासो गरिन्। 

भीमाददेखि दक्षिणका दर्जन गाविसमा पुग्ने सबै सडक कच्ची छन्। ती सडकमा ठाउँठाउँमा सवारी फस्ने गरी खाडल बनेका छन्। ‘हिँडेर गए पनि एक दिन पुरै लाग्छ,’ गजरकोट–५ का बलबहादुर विकले भने, ‘गाडी फसेर आफंैले सामान बोकेर जानुपर्दा हैरान भइयो।’ साउन लागेदेखि ट्रयाक्टर मात्र समयमा गन्तव्यमा पुग्न सकेको विकले बताए। व्यवसायी श्रीकृष्ण सिग्देल भन्छन्, ‘चाहेर पनि गन्तव्यमा जिप पुर्‍याउन सकिएन।’

यात्रीले ठाउँठाउँमा ठेलेर गाडी गन्तव्यमा पुर्‍याउने गरेका छन्। साँघुरा सडक भएकाले दुईतर्फी सवारी चल्न पनि मुस्किल पर्छ। जिल्ला समन्वय समितिले अघिल्ला वर्ष सडक मर्मतमा बजेट विनियोजन गथ्र्यो। यो वर्षदेखि अन्योल भएको इन्जिनियर सुरेश अधिकारीले बताए। ‘जिल्लाभित्र ५ सय किमि कच्ची सडकको सञ्जाल छ, सबैलाई सामान्य मर्मत गरेर वर्षातमा नियमित चल्ने बनाउन नगरपालिका र समन्वय समितिले पहल गरेका छन्,’ उनले भने, ‘नगर र गाउँपालिकाको क्षेत्रमा बजेट गएकाले समन्वय समितिले पुराना योजनाबारे जानकारी गराएका छौं।’ सबै सडक बाह्रै महिना चल्ने बनाउने योजना भए पनि नसकिएको उनले बताए। 

बाह्रै महिना चलाउने लक्ष्य 
महानगर बन्नेक्रममा कास्कीको पोखरा–लेखनाथ महानगरमा धेरै पहाडी र ग्रामीण भूभाग गाभिए। महानगरको मेयरका प्राय: उम्मेदवारले सडकलाई नै मुख्य मुद्दा बनाए। मेयर मानबहादुर जीसीले पनि निर्वाचित भएकै दिन सडकलाई नै मुख्य प्राथमिकता दिने योजना सुनाए। तर महानगरसहित कास्कीका अधिकांश गाउँपालिकाका ग्रामीण सडक बाह्रैमास सजिलै गाडी चल्ने अवस्थामा छैनन्। वर्षाका बेला ती अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। 

महानगरभित्र १ सय २४ किलोमिटर कालोपत्रे, १ सय ६ किमि ग्राभेल र ३ सय १५ किमि कच्ची सडक छन्। कालिका, माझठाना, भरतपोखरी, निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी, चापाकोट, सराङकोट, कास्कीकोट, भदौरेलगायत ग्रामीण इलाकामा बाह्रैमास यातायात चल्न सक्दैनन्। फेवातालको किनारैकिनार भदौरे हुँदै पञ्चासे पुग्ने बाटो बर्सेनि अवरुद्ध हुन्छ। फेवातालको मुहान हर्पन खोलामा मोटरेबल पुल नहुँदा र ठाउँठाउँमा पहिरो खस्दा वर्षायाममा यातायात ठप्प हुन्छ। पोखराबाट कालिका सौर्य हुँदै पात्ले, नौरु, बेतेनी, राम्चे पुग्ने बाटो पहिरोका कारण अवरुद्ध भएको एक साता भइसक्यो। बाटो अवरुद्ध हुँदा सर्वसाधारण र विद्यार्थी दैनिक ४ किलोमिटर हिँड्न बाध्य छन्। पहिरो पन्छाउन जनप्रतिनिधिलाई बारम्बार भन्दा पनि समस्या समाधान नभएको माझठानाका लालमोहन तिवारी बताउँछन्। महानगरले पूर्वाधार विकासमा मात्रै १ अर्ब ३६ करोड ५३ लाख १८ हजार रुपैयाँ छुट्याएको छ। जुन कुल बजेटको ३३.८ प्रतिशत हो। 

कास्कीका रुपा, मादी र माछापुच्छ्ेरमा कालोपत्रे सडक छैनन्। रुपामा ३३ किलोमिटरको बेगनास–भोर्लेटार, ३४ किलोमिटरको रुपाकोट–थुम्की र २७ किलोमिटरको शिशुवा–पोल्याङ्टार मुख्य ग्रामीण सडक छन्। यी सडक खण्डमा पोखरा लेखनाथ महानगरमा पर्ने भागबाहेक कालोपत्रे छैनन्। शिशुवाबाट पोल्याङटार जोड्ने सडकको सालघारी किनाराक्षेत्रमा बर्सेनि पहिरो खस्छ। ठकुरी गाउँमा बाटो अप्ठेरो हुँदामा वर्षायाममा यातायात चल्न सक्दैनन्। पहिरो खसेको ठाउँमा उतिखेरै डोजर लगाएर हटाउने गरेको गाउँपालिका प्रमुख नवराज ओझाले बताए। गाउँपालिकाले सडक स्तरोन्नतिका लागि मात्रै यस वर्ष ३ करोड ६५ लाख १९ हजार रुपैयाँ छुटयाएको छ। खोलाको छेउ–रुपाकोट–थुम्की सडक कालोपत्रे गर्ने राष्ट्रिय योजनामा परेको छ। शिशुवा–पोल्याङटार सडक यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको ओझाले सुनाए। 

गाउँपालिकामध्येकै विकट मादीमा पनि कालोपत्रे पुग्न सकेको छैन। काहुँखोलाबाट सिक्लेस जाने बाटोमा पर्ने विजयपुर खोलामा मोटरेबल पुल नहँ‘दा वर्षायाममा गाडी वारपार गर्न सक्दैनन्। विजयपुरबाट भगवतीटार हुँदै मिजुरे जाने बाटो पनि अवरुद्ध छ। थुम्सीकोटबाट मिजुरे पुग्न बार्दीखोलामा पुल नहुँदा समस्या परेको हो। सिक्लेस, ताङतिङ, मिजुरे जाने ग्रामीण सडकमा ठाउँठाउँमा मोटरेबल पुल नहुँदा र पहिरो जाँदा ३ महिना यातायात ठप्प हुने गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ बताउँछन्। कसेरीबाट भैंसे हुँदै गाउँपालिकाको केन्द्र याङ्जाकोट पुग्ने बाटो मात्रै जेनतेन बर्खामा चल्ने बनाएको उनले बताए। मादीले ६ करोड १० लाख रुपैयाँ सडकका लागि छुटयाएको छ। 

माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोलामा केही भाग कालोपत्रे भए पनि हाल उप्किसकेको छ। गाउँपालिकाको केन्द्र लाहाचोकबाट पोखरा जोड्ने बाटोको चोर खोल्सामा बारम्बार पहिरोले दु:ख दिइरहन्छ। ल्वाङघलेलको सैतिघट्टबाट सिदिङ र घलेलबाट सिदिङ जोड्ने मोटरबाटो समेत हाल अवरुद्ध छ। मर्दीखोलामा मोटरेबल पुल नहुँदा र पहिरो खस्दा नै ती बाटा अवरुद्ध भएका हुन्। चालु आर्थिक वर्षमा गाउँपालिकाको केन्द्र लाहाचोकबाट पोखरा जोड्ने सडकलाई कालोपत्रे गर्ने गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले बताए। उक्त बाटोका लागि १ करोड रुपैयाँ छुटयाएको उनले जनाए। उनले आर्थिक वर्षको बजेटमा विकास बजेटको ७० प्रतिशत सडक स्तरोन्नतिका लागि छुटयाएको उल्लेख गरे। उनले भने, ‘कम्तीमा यो वर्ष मुख्य मुख्य सडक बाह्रै महिना सञ्चालन गर्ने लक्ष्य लिएका छौं।’ अन्नपूर्ण गाउँपालिकामा १२ सयदेखि २२ किलोमिटरसम्मका ३३ ग्रामीण सडक छन्। 

लुम्ले घुम्तीदेखि तान्चोक, तोल्का हुँदै लान्द्रुक जोड्ने बाटो २२ किलोमिटरको छ। हिउँदमा ठूलै बस चल्ने भए पनि यो बाटोमा बर्खामा जिप मात्रै चल्छन्। नयाँपुलबाट पर्यटकीय गाउँ घान्द्रुक जोड्ने सडकमा पहिरो खस्दा बारम्बार अवरुद्ध भइरहन्छ। गाउँपालिका प्रमुख युवराज कुँवरले आइतबार मात्रै पहिरो पन्छयाएर यातायात खुलाएको बताए। मोदी खोलामा मोटरेबल पुल नहुँदा लान्द्रुक र घान्द्रुक मोटरबाटोले जोडिन सकेको छैन। अन्नपूर्णले १० किलोमिटरभन्दा लामो दूरीका सडकलाई विशेष प्राथमिकतामा राखेको छ। ठूला सडक योजनालाई १ करोड ६५ लाख रुपैयाँ र आर्थिक केन्द्र जोड्ने सडक योजनामा १ करोड २० लाख रुपैयाँ गाउँपालिकाले छुटयाएको छ।
 
(सुदीप कैनी/अगन्धर तिवारी/आश गुरुङ/प्रकाश बराल/पूर्ण बिके/ दीपक परियारको रिपोर्ट)


सधैं जोखिमको यात्रा

बागलुङ– वर्षाले क्षति पुर्‍याएका सडक मर्मत नै नभई सञ्चालन गरिएका कारण बागलुङमा यात्रुको ज्यान जोखिममा परेको छ। मध्य पहाडी लोकमार्गको रिघा–मनेवा खण्डमा ६ महिनाअघि खसेको पहिरो अझै हटाइसकिएको छैन। एकतर्फी आवागमन हुने यहाँ गाडी दिनहुँ लामो जाममा पर्छन्। पहिरो खस्न अझै रोकिएको छैन। ‘वर्षामा कच्चीबाटोको यात्रामा दु:खको त कुरै नगरौं,’ बुर्तिबाङबाट काठमाडौं हिँडेका शरद सापकोटाले भने, ‘हिउँदमा नै बाटो बनाउने चलन भए वर्षामा यति साह्रो सास्ती हुन्थेन होला।’ जोखिम रहेका स्थानमा वर्षायाममै काम गरिनु ठीक नभएको 
उनले बताए। 

मध्यपहाडी लोकमार्ग आयोजनाले उक्त सडकखण्डमा अहिले काम गरिरहेको छ। लोकमार्गबाहेक ग्वालीचौरदेखि जलजला, बुर्तिबाङदेखि बुंगादोभान र सदरमुकाम बागलुङदेखि सिगाना हुँदै बरेङलगायत स्थानमा जाने सडक मर्मत नभएर अलपत्र जस्तै छन्। वर्षाको समयमा सडकमा सवारी गुडाउने अनुमति छैन। तर, जोखिमलाई चुनौती दिँदै जबर्जस्ती सञ्चालनको क्रम रोकिएको छैन। 

बागलुङमा मध्यपहाडी लोकमार्गको १ सय ४० किमि खण्ड र बागलुङ–कुश्मीसेरा खण्डले पूर्ण अनुमति पाएको छ भने बुर्तिवाङदेखि ढोरपाटन, सदरमुकामदेखि सिगाना हँ‘दै गाजादहजस्ता केही सडकमा अस्थायी अनुमति दिइएको छ। ‘रुट इजाजत नलिएका सडकमा धेरै दुर्घटना भएका छन्’ यातायात व्यवस्था कार्यालयका नासु रामप्रसाद शर्माले भने। १ हजार २ सय किमि सडक सञ्जाल छ। तर, अधिकांश सडकमा वर्षामा गाडी चलाउन सकिने अवस्था नभएको जिल्ला समन्वय समितिका प्राविधिक बताउँछन्। ‘गत वर्षसम्म जिविसमार्फत मर्मतसम्भार हुन्थ्यो,’ स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले भने, ‘अब बजेट र अख्तियारी गाउँ र नगरपालिकालाई छ। जनप्रतिनिधिले अवस्थाअनुसार काम गर्नुहुनेछ।’ तीन सातायता बागलुङका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने तीन दर्जन यात्रु घाइते भएका छन्। 


स्रोत: http://bit.ly/2tBvYWU