नागरिक दैनिक, २६ मंसिर २०७४
काठमाडौं- बर्सेनि महिलाहिंसा विरुद्धका गतिविधि चले पनि महिला हिंसाका घटना घट्न नसकेको भन्दै सरोकारवालाहरूले चासो देखाएका छन् । राजधानीमा सम्पन्न महिला हिंसाविरुद्ध १६ दिने अभियानको समापन कार्यक्रममा सहभागी वक्ताले महिलाहिंसा अन्त्यका लागि प्रभावकारी कार्यक्रम हुनुपर्नेमा जोड दिएका छन् ।
‘बर्सेनि चलेको अभियानले उजुरी गर्ने चलन बढेको देखिन्छ तर हिंसाका घटनामा भने कमी आएको छैन,’ राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाइँले भने ।
हिंसाको स्वरूपमा परिवर्तन हुँदै गएकाले यसको स्वरूपका बारेमा गहन छलफल आवश्यक भएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सचिव राधिका अर्यालले बताइन् । ‘चेलिबेटी बेचबिखनबाट हुने हिंसा, फेसबुकमार्फत हुने हिंसा महिलाहिंसाका नयाँ स्वरूप हुन्’ सचिव अर्यालले भनिन् ।
आर्थिक वर्ष ०७३ ÷०७४ मा नेपाल प्रहरीमा १४ हजार ९३ वटा महिला हिंसाका उजुरी परेका छन् । तीमध्ये सबैभन्दा बढी घरेलुहिंसा ११ हजार छ सय ५२ छ । बलात्कारका घटना दोस्रो स्थानमा पर्छ । यसअनुसार चालु आव ११ सय ३९ बलात्कारका, पाँच सय ३१ बहुविवाह, पाँच सय ६५ जबरजस्ती करणी, दुई सय २७ चेलीबेटी बेचबिखन र २९ बालविवाह र २४ बोक्सीको आरोपका छन् ।
नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार नेपालमा ६६ प्रतिशत महिलाले आपूmमाथि भएको शारीरिक तथा यौनिक हिंसाविरुद्ध उजुरी तथा सहयोगको खोजी गर्ने गर्दैनन् । ३४ प्रतिशत महिलाले पतिबाटै यौनिक हिंसा भोगेका हुन्छन्् । विश्व बैंकको तथ्यांकअनुसार पति या आत्मीय साथीबाट हुने शारीरिक हिंसा व्याप्त भएको देशमध्ये नेपाल १४ औं स्थानमा पर्छ ।
सम्बोधन परियोजनाको प्रारम्भिक सर्वेक्षणअनुसार देखेका लैगिंक हिंसामध्येमा ४५ प्रतिशत पुरुष पीडक छन् । विगत एक वर्षको अवधिमा भएका लैगिंक हिंसामध्ये ९६ प्रतिशत पीडित महिला पीडित छन् । ३७ प्रतिशतले हिंसाविरुद्ध सहयोग या उजुरी लिन खोजी नै नगरेको तथ्यांक छ ।
तथ्यांकअनुसार संसारभर कम्तीमा तीन जनामध्ये एक महिलाले आफ्नो जीवनभर चिनेको व्यक्तिबाट यौनिकहिंसा भोगका हुन्छन् । ३५ प्रतिशत महिलाले शारीरिक या यौनिकहिंसा भोगेका हुन्छन् ।
महिलामाथिको लैंगिक हिंसामा ताŒिवक कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै न्यायाधीश सपना मल्लले उजुरीको साथै एकमुष्ट पुर्नस्थापनाको कार्यक्रम लैजान सकेमा मात्र हिंसामा कमी आउने बताइन् । राष्ट्रिय महिला आयोगले हालै सुरु गरेको ११४५ नम्बरको हेल्पलाइनले हिंसापीडितलाई राहत मिले पनि यससँगै अन्य कार्यक्रम हुनुपर्नेमा उनले जोड दिइन् ।
मल्लका अनुसार उजुरी आएका हिंसापीडित महिलालाई तत्कालै उद्दार गरिने, उद्दारपछि चाहिने मानसिक स्वास्थ्यको सुरक्षा, तत्कालै स्वास्थ्य सेवा, पीडितलाई कानुनी उपचार, सामाजिक उपचार र आर्थिक सशक्तीकरण गर्न सकेमा मात्र प्रभावकारी हुन्छ । ‘हिंसाबाट मुक्ति पाउने मुख्य विषय भनेको आर्थिक सशक्तीकरणको कुरा आउँछ, पीडितलाई राज्यकोषबाटै आर्थिक सशक्तीकरण गर्ने व्यवस्था हुनुपर्छ,’ न्यायधीश मल्लले भनिन् ।
महिलामाथि हुने हिंसाको अन्त्यको लागि विश्व महिला आन्दोलनले यो वर्षदेखि महिलाहिंसा अन्त्यका लागि कसैलाई नछोड, महिला तथा बालबालिका विरुद्धको हिंसा अन्त्य गर र सँगसँगै जाऔं’ भन्ने नारा अघि सारेको छ । नेपालले महिलाहिंसा अन्त्यका लागि समुदायमा युवा र महिलालाई सहभागी गराउने निर्णय गरेको छ ।
महिला हिंसाको उजुरी गर्न हेल्पलाइन सुरु
टोल छिमेकमा महिलामाथि हिंसा भएको देख्नु भएको छ ? छ भने तपाईंले तुरुन्तै ११४५ नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुनेछ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
फोन गर्नेवित्तिकै हिंसापीडित महिलाको उद्धार प्रयास थालिन्छ । हिंसापीडित महिला तथा महिलामाथि हिंसा भएको देख्ने जो कोहीले फोन गर्न सक्छन् । साथै, सो नम्बरमा एसएमएस गरेर पनि हिंसाबारे जानकारी गराउन सकिन्छ ।
महिलाहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोगले आइतबार सेवाको सार्वजनिक गरेको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले औपचारिक उद्घाटन गरे । बर्सेनि महिलाहिंसा विरोधी अभियान चलाए पनि महिला हिंसामा कमी नआएपछि राष्ट्रिय महिला आयोगले यो हेल्पलाइन सेवा सुरु गरेको जनाएको छ ।
यो नम्बरमा देशको कुनै ठाउँबाट महिलामाथि हिंसा हुन सक्छ भन्ने थाहा पाउने व्यक्ति वा संस्था, हिंसा प्रत्यक्ष देख्ने, पीडितका आफन्त जो सुकैले खबर गर्न सक्नेछन् । खबर गरेपछि आयोगले आफ्ना अधिकारीमार्फत पीडितलाई कानुनी सहयोग, मनोसामाजिक परामर्श, सुरक्षित बास, प्रहरी सहयोग, बालबालिकाई विशेष सेवा, स्वास्थ्य उपचार तथा अन्य खालका सेवाहरू उपलब्ध गराउनेछ । ललितपुर, काठमाडौं, भक्तपुर र नुवाकोटलाई नमुना जिल्लाको रूपमा परियोजना लिएको छ ।
आयोगका अनुसार लिंगका आधारमा गरिने शारीरिक, यौनजन्य, सामाजिक, सांस्कृतिक, आर्थिक, यौनिक वा मानसिक क्षति वा पीडा पु¥याउने कुनै पनि कार्यलाई लैगिंकताका आधारित हिंसा मानिन्छ । सामाजिक रूपमा स्रोत, साधन, अवसर, जिम्मेवारी, अधिकारको असमान वितरण, बालविवाह, बहुविवाह, महिलालाई प्रजनन् अधिकारको प्रयोग नगर्नु, महिलाको कामको मूल्यांकन नगर्नु, असमान ज्याला दिनु जस्ता कुटपिट, गालीगलौज, बेचबिखन, दाइजोको कारणले हुने हिंसा, दुव्र्यवहार, अपहेलना, वैवाहिक बलात्कार, यौनजन्य हिंसालगायतका व्यवहारहरू लैंगिक हिंसाभित्र पर्दछन् ।