घट्न थाल्यो तरकारीको भाउ

November 25, 2017

राजु चौधरी, कान्तिपुर राष्ट्रिय दैनिक, ०८ मंसिर २०७४

दुई साताअघि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । सहज आपूर्ति र बिचौलियाहरू निरुत्साहित हुँदा मूल्य घटेको हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार दुई साताको अवधिमा हरियो तरकारीको भाउ ४० प्रतिशतसम्म घटेको छ । बिचौलियका कारण अकासिएको मूल्य तरकारी क्षेत्रमा अनुगमन भएपछि घटेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको दाबी छ । ‘हिजोअस्ति व्यवसायीले चलखेल गरेका थिए । मूल्यमा कार्टेलिङ भएको थियो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘व्यवसायी, संकलन केन्द्र र किसानसँग भएको छलफल/अध्ययन विश्लेषणले प्रस्ट पारेको छ । हाल अनुगमनकै कारण मूल्य घटेको छ ।’

तरकारीको आपूर्ति प्रशस्त भएकाले १५ दिनभित्र मूल्य थप घट्ने उनले दाबी गरे । तरकारीको मूल्यमा परिवर्तन नभए अनुगमनलाई पुन: तीव्र बनाइने उनले बताए । ‘विभिन्न क्षेत्रका किसानले मूल्य नपाएको, अनुगमन गरिदिन अनुरोध गर्दै आएका छन्,’ उनले भने, ‘१५ दिनभित्र मूल्य नघटे फेरि अनुगमन गर्छौं ।’ समितिको तथ्यांकअनुसार गोलभेडा, आलु, काउली स्थानीय, भिन्डी, प्याज हरियो, ब्रोकाउली, भन्टा लाम्चो, बोडी, घिउ सिमी, लौका, फर्सी हरियो, बन्दा, धनिया, मटरकोसा, खुर्सानीलगायत तरकारीको मूल्य घटेको छ ।

समितिले भने आपूर्तिमा सुधार भएकाले मूल्य घटेको दाबी गरेको छ । ‘अनुगमनकै कारण मूल्य घटेको होइन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘केही दिनयता तरकारीको आपूर्तिमा सुधार भएको छ । आपूर्ति बढदा मूल्य स्वाभाविक रूपमा घट्छ ।’ श्रेष्ठका अनुसार दुई साताअघि दैनिक करिब साढे ४ सय टन तरकारी भित्रिन्थ्यो । अहिले साढे ६ सय टनसम्म आयात भइरहेको छ । सिजन सुरु भएसँगै धादिङको धार्के, पालुङलगायत वरिपरिका क्षेत्रबाट भित्रिने क्रम बढेको श्रेष्ठले बताए । उत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रेबाट भित्रिन्छ । केही दिनपश्चात् चितवन, मकवानपुरबाट पनि आउने उनले बताए । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । सामान्य अवस्थामा कालीमाटी तरकारी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिन्छ ।

तथ्यांकअनुसार कात्तिक २४ गते प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने गोलभेडा सानो घटेर ९५ रुपैयाँ पुगेको छ । किलाको ६५ रुपैयाँ पर्ने आलु रातो ५५ रुपैयाँ, ९५ रुपैयाँ पर्ने काउली स्थानीय ७५ रुपैयाँ, १ सय ५ रुपैयाँ पर्ने भिन्डी घटेर ७५ रुपैयाँ पुगेको छ । किलोको १ सय २५ रुपैयाँ पर्ने ब्रोकाउली ७५ रुपैयाँ, १ सय ४५ रुपैयाँ पर्ने प्याज हरियो किलोको १ सय १५ रुपैयाँ, ७५ रुपैयाँ पर्ने भन्टा लाम्चो घटेर ४५ रुपैयाँ पुगेको छ ।

स्थानीय उत्पादनसँगै भारतबाट पनि आयात बढेकाले भाउ घटेको समितिले जनाएको छ । ‘स्थानीय उत्पादन सस्तो छ । त्यसमा पनि भारतबाट पर्याप्त मात्रामा भित्रिन थाल्यो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘मूल्य थप घट्न सक्छ ।’ खुद्रा व्यवसायीले कालीमाटी बजारबाट खरिद गरेपछि पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । विभागका अनुसार समितिले निर्धारण गरेको मूल्य व्यवसायीबाट पालना हुँदैन । तर, पनि समितिबाट बजार हस्तक्षेप हुँदैन । विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ ले पनि तहतहमा मूल्य निर्धारण हुँदा उपभोक्ता मारमा परेको जनाएको छ । 

कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने हुँदा उपभोक्तालाई भार परेको विभागको दाबी छ । समितिले हस्तक्षेपकारी भूमिका निर्वाह गरे मूल्य थप घट्ने विभागका अधिकारीहरू बताउँछन् । तथ्यांकअनुसार दुई साताको अवधिमा किलोको १ सय २५ रुपैयाँ पर्ने बोडी घटेर ७५ रुपैयाँ, १ सय ५ रुपैयाँ पर्ने घिउसिमी ८५ रुपैयाँ, ६५ रुपैयाँ पर्ने हरियो फर्सी ४५ रुपैयाँ पुगेको छ । ८५ रुपैयाँ पर्ने बन्दा घटेर ७५, १ सय २५ रुपैयाँ पर्ने भेडे खुर्सानी ८५, ३ सय ९५ रुपैयाँ पर्ने हरियो धनियाँ २ सय ३५ रुपैयाँमा झरेको छ । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-24/20171124072832.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More