घट्यो डेंगी संक्रमण

December 16, 2022

कान्तिपुर, मंसिर १६, २०७९

कञ्चनपुर — चिसो सुरु भएसँंगै सुदूरपश्चिममा डेंगीको संक्रमण पनि घटेको छ । एक/डेढ महिनाअघिसम्म पनि तीव्र गतिमा बढिरहेको संक्रमण अहिले फाटफुट रूपमा मात्रै देखिइरहेको छ । एक महिनाअघिको तुलनामा संक्रमण निकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो एक महिनामा ७५ जनामा संक्रमण देखिएको छ । जुन अघिल्लो महिनाको तुलनामा आधाभन्दा कम हो । ‘अहिले त निकै कम भइसकेको छ, फाटफुट रूपमा एक/दुई केश मात्रै आउन थालेका छन्,’ प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भने, ‘चिसोमा लामखुट्टेको वृद्धिविकास कम हुन्छ, अहिले बाहिर जमेको पानी पनि सुकिसकेको छ ।’

निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा जनवरीदेखि नोभेम्बरसम्म १२ सय ८७ जनामा डेंगी संक्रमण देखिएको थियो । डेंगीबाट कैलालीमा २, कञ्चनपुर र अछाममा १/१ जना गरी ४ जनाको मृत्यु भएको छ । पछिल्लो ११ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा ४३० र दार्चुलामा ३३८ जनामा डेंगी संक्रमण देखिएको छ ।

यसैगरी कञ्चनपुरमा २२१, बैतडीमा ७३, अछाममा ४०, डडेल्धुरामा ४२, बझाङमा ३३ र बाजुरामा २६ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । असोज र कात्तिक अन्तिमसम्म पनि प्रदेशका सबै जिल्लामा संक्रमण दर बढ्दो अवस्थामा थियो । त्यतिबेला परीक्षणका लागि कीटको अभाव चर्केको थियो । कतिपय पालिकाले कीट खरिद गरेर परीक्षण गरेका थिए । अहिले भने संक्रमण नगण्य अवस्थामा रहेको जोशीले बताए ।

स्रोत: https://ekantipur.com/pradesh-7/2022/12/02/166994695410644796.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter