News

घरजग्गाबाट २० अर्ब ८७ करोड राजस्व

August 09, 2017

मेनुका कार्की, अन्नपुर्ण पोष्ट, २५ श्रावण २०७४ 

सरकारले आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा कारोबारबाट २० अर्ब ८७ करोड ७५ लाख रुपैयाँ राजस्व असुली गरेको छ । यो राजस्व अघिल्लो आव २०७४/७५ को तुलनामा ५९.६० प्रतिशत बढी हो ।

अघिल्लो आवमा भूमिसुधार तथा व्यवस्थापन विभाग घरजग्गा कारोबारबाट १३ अर्ब सात करोड ६७ लाख राजस्व संकलन गरेको थियो । सरकारले गत आव १४ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

एलआरआईएमएस अनलाइन प्रणाली लागू गरेपछि राजस्वमा वृद्धि उच्च भएको विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । अनलाइन माध्यमबाट राजस्व संकलन नगर्दा अत्यधिक चुहावट भएको सरकारी निष्कर्ष छ । एलआरआईएमएस अनलाइन प्रणाली हाल उपत्यकाका सबै मालपोत कार्यालय र उपत्यकाबाहिरका केही कार्यालयमा लागू भएको छ ।

विभागले चालू आवमा ३९ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । प्रणाली सञ्चालनमा आएपछि करछली न्यूनीकरण भएको आचार्यले बताए । गत आवमा नगरपालिका थपिएको र गाउँपालिको तुलनामा नगरपालिका कर बढी भएकाले पनि राजस्व बढेको हो । नगरपालिका घोषणासँगै घरजग्गाको मूल्यमा आएको अस्वाभाविक कारोबारको प्रत्यक्ष असर राजस्वमा परेको हो । साथै पुँजीगत लाभकरमा पनि बढोत्तरी भएको विभागको भनाइ छ ।

लाभकरमा अनुसन्धान गरी यथार्थ कारोबार गर्नलाई प्रोत्साहन तथा अनुगमन गरेकाले राजस्वमा वृद्धि हुँदै गएको हो । हाल नेपालमा दुई सय १७ वटा नगरपालिका छन् । गएको वर्ष बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएका कारण कर्जा प्रवाह हुन नसक्दा घरजग्गा कारोबार ओरालो लागेको थियो ।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहका सम्बन्धमा राष्ट्रिय बैंकले गरेको कडाइ र बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी अभावका कारण कर्जा प्रवाह घटाएपछि घरजग्गा कारोबारमा कमी आएको हो । राष्ट्र बैंकको कसिलो नीतिका कारण कारोबार कम हुँदा पनि राजस्व बढेको छ । विभागले घरजग्गा दस्तुर, जग्गाको मोल, राफराफ तथा पुर्जा बिक्री, फुटकर दण्डजरिवाना र रोक्का शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

यी शीर्षकमध्ये सबैभन्दा बढी घरजग्गा दस्तुरबाट बढी राजस्व संकलन भएको छ । गएको वर्ष सरकारले यो शीर्षकबाट १९ खर्ब ३१ करोड राजस्व असुली गरेको छ ।

स्रोत: http://annapurnapost.com/news/77201