News

घरैपिच्छे ऋणी

January 14, 2019

विनोद भण्डारी, कान्तिपुर, ३० पुष २०७५ 

विराटनगर — मोरङको जहदा ५ का हिरालाल ठाकुर दशक पहिला सुकुम्बासी थिए । अहिले १० धुर जमिनका मालिक भएका छन् । त्यो जमिन उनलाई कसैले उपहार दिएको होइन । आफनै पौरखले जोडेका हुन् । उनलाई त्यो जमिन जोडदा डेढ लाख ऋण लागेको छ ।ऋण पनि कुनै व्यक्तिको होइन । गाउँमा सञ्चालन भएका विभिन्न वित्तीय संस्थाको हो । उनले त्यहाँ सञ्चालन भएका जीवन विकास, नेरुडे, फरवाडलगायतका लघुवित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्दा जमिन जोडन सफल भएका हुन् । ठाकुरले ती तीनवटै वित्तीय संस्थाबाट डेढ लाख ऋण लिएका छन् ।

जहदा गाउँपालिका वडा ५ का अध्यक्ष जगदिश सिंहले पनि तीनवटा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्दै आएका छन् । ठाकुर र सिंहले समूह बनाएर ऋण लिएका हुन् । एउटा समूहमा कम्तीमा २५ सदस्य हुन्छन् । ती सवै सदस्यले वित्तीय संस्थाबाट अनिवार्य रूपमा ऋण लिएकै हुन्छन्, त्यो पनि एउटाबाट होइन तीनवटा वित्तीय संस्थाबाट ।
गाउँपालिकामा ८ हजार दुई सय घरधुरी छन् । तीमध्ये ९५ प्रतिशत घरधनीले कम्तीमा तीनवटा लघुवित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्दै गरेको पाइएको छ । यो गाउँपालिकामा जीवन विकास समाज, फरवाड, नेरुडे, डिप्रोस नेपाल, गरिवी निवारण, सहारा नेपाल र नेसनल माइक्रो लघु वित्त संस्थाले स्थानीयवासीलाई समूह बनाएर ऋण लगानी गर्दै आएको छ ।
ती वित्तीय सस्थाले व्यापार, आवास, शिक्षा, कृषि, सिटी रिक्सा र टेम्पो खदि शीर्षकमा समूह बनाएर न्यूनतम १० हजारदेखि ३ लाख रुपैयाँसम्म समूहलाई धितो मानेर कम्तीमा १८ प्रतिशत व्याजमा ऋण लगानी गर्दै आएका छन् । ‘यो गाउँपालिकामा विभिन्न लघुवित्तीय संस्थाबाट ऋण नलिने घर परिवार नै भेट्टिदैन,’ गाउँपालिका वडा ५ का अध्यक्ष सिंहले भने, ‘त्यो पनि एउटा वित्तीय संस्थाबाटमात्र नभई कम्तीमा तीन वटासम्मबाट ऋण लिनेको संख्या अध्यधिक छ ।’
आफैंले पनि विभिन्न तीन वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख गर्दै सिंहले ऋण लिने सवैले केही न केही व्यवसाय गरेर परिवारको गुजरा चलाउने र व्याज तिर्ने काम गरिरहेका छन् । उनका अनुसार केहीले त घर जमिन समेत जोडन सफल भएका छन् । आफनो समूहमा २५ सदस्य छन् ।
सिंहले ती सवैले कम्तीमा ३० हजारदेखि ३ लाखसम्म ऋण लिएका छन् । जहदा ५ मा ८ सय घरधुरी छन् । तीमध्ये ९५ प्रतिशत परिवारले ऋण लिएका छन् । त्यसैगरी वडा १ मा १ हजार २ सय ४६ घरधुरी छन् । वडा अध्यक्ष प्रदीपचन्द्र यादवका अनुसार तीमध्ये वित्तीय संस्थाबाट ऋण नलिने कुनै पनि घर भेट्टिदैनन् ।
यहाँ विभिन्न लघुवित्तीय संस्थाबाट ऋण लिनेले रकमको दुरुपयोग गरेको भने पाइँदैन । गाउँमा लघुवित्तीय संस्था आएपछि स्थानीयलाई जागरूक बनाएको उनीहरूको भनाइ छ । स्थानीय रामविलास सिंह सात वर्षअघिसम्म सुकुम्बासी थिए । अहिले उनको नाममा १० धुर जमिन र जस्ताको छानो भएको कच्ची घर छ । उनी भन्छन्, लघुवित्तीय संस्थाबाट लिएको ऋणको सदुपयोगले यो उन्नति भएको हो । छिमेकीले पनि समूह बनाएका छन् ।
त्यो समूहमा मेरो परिवारलाई पनि समेटे । उनले सुरुमा एउटा वित्तीय संस्थाबाट ३० हजार ऋण लिएर सानो व्यवसायी सुरु गरे । त्यसबाट आएको आम्दानीले किस्ता तिर्दै घर खर्च चलाए । उनले त्यसपछि समूहका सदस्यहरूसँगै अरू संस्थाबाट पनि ऋण लिए । तीनवटा वित्तीय संस्थाबाट एक लाखभन्दा बढी ऋण लिएर कारोवार गर्दा आम्दानी पनि बढदै गएपछि १० धुर जमिन किन्न भ्याएको उनको भनाइ छ ।
यस गाउँमा विभिन्न लघुवित्त संस्थाले लगानी नगर्दा गाउँका प्राय: सवै पुरुष दिनभरि तास खेल्ने र मदिरा खाएर बस्थे । स्थानीय विनिता सिंहले भनिन्, ‘जब विभिन्न लघुवित्त संस्थाले गाउँलेलाई लगानी गर्न सुरु गर्‍यो तब महिलाले पुरुषलाई चलायमान बनाए ।’आफनो नेतृत्वमा २७ महिलाको समूह भएको र समूहका सवै महिलाले कम्तीमा तीनवटा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेको सिंहको भनाइ छ । महिलाले लिएको ऋणबाट व्यवसाय गरेका छन् । व्यवसायबाट हुने आम्दानीले परिवारको गुजरा चलाउँदै वचत पनि गर्दै आएका छन् । सिंहले भनिन्, ‘त्यसरी व्यवसाय गर्ने महिलाले आफनो लोग्ने मानिसलाई दिनभरि तास खेलेर र जाँड खाएर बस्न दिँदैनन् ।’
उनीहरूलाई आफूले लिएको ऋणको किस्ता तिर्ने जिम्मेवारी महिलाले लिएका छन् । त्यसैले उनीहरू तास खेल्न र दिनभरि जाँडरक्सी खाएर दिन बिताउन छाडेर अहिले मजदुरी गर्न बजार जान थालेको सिंहको भनाइ छ । जहदा गाउँपालिकामा जीवन विकास समाजका मात्र ४ हजार २ सय घरधुरी सदस्य छन् ।

तीमध्ये ३ हजार १ सय ८२ परिवारलाई १८ करोड १८ लाखभन्दा बढी ऋण लगानीमा रहेको जहदा शाखाका सहायक मुकेश कुमार चौधरीले बताए । त्यसैगरी फरवाडमा गाउँका १ हजार ९ सय घरधुरी सदस्य छन् । जहदा शाखाका निर्देशक स्वरूपलाल माझीका अनुसार तीमध्ये १ हजार ३ सयलाई संस्थाले ६ करोड ऋण लगानी गरेको छ ।

सोर्त : https://www.kantipurdaily.com/pradesh-1/2019/01/14/154743788150492739.html