News

चक्रपथ बनाउन चिनियाँ कम्पनी इच्छुक

June 23, 2017

अन्नपुर्ण पोस्ट दैनिक, ९ असार, २०७४

काठमाडौं उपत्यकाको बाहि री चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको छ ।

चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको छ ।

एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्र पेस गरेको छ ।

आशपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अन्नपूर्णलाई जानकारी दिनुभयो । उहाँका अनुसार यो चिनियाँ टोलीले भेटेरै आशयपत्र दिएको छ । चिनियाँ सरकारकै रुचिअनुसार यो आयोजना निर्माण गर्न आशयपत्र पेस भएको छ । सिधै चिनियाँ कम्पनीलाई प्राधिकरणले निर्माणको जिम्मा दिन नमिल्ने भएकाले सहरी विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको तिवारीले जानकारी दिनुभयो ।

‘बाहिरी चक्रपथ चिनियाँ कम्पनी बनाउन तयार छ भने हामी जग्गा खाली गरेर दिन तयार छौं', तिवारीले भन्नुभयो । यो आयोजनाको निर्माण गर्न दिने विषयमा नेपाल र चीन सरकारबीच सम्झौता हुनुपर्ने र सरकारी निर्णयले सोही कम्पनीलाई दिन सक्ने जानकारी पनि तिवारीले दिनुभयो । यो आयोजना चीनले बनायो भने समयमा नै बन्ने, गुणस्तरीय हुने र सरकारी रकम पनि खर्च नहुने भएकोले उपयुक्त प्रस्ताव आएको प्राधिकरणको भनाइ छ ।

यो आयोजनाको पहिलो खण्डका लागि जग्गा अधिकरण गर्ने तयारी अन्तिम चरणमा छ । यस विषयमा दुईतीन दिनभित्रमै सूचना प्रकाशन गर्न लागिएको आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो । चिनियाँ कम्पनीको प्रस्ताव आउनु र हामीले पनि निर्माणमा जाने अन्तिम तयारी गर्नु संयोग नै भएको छ ।

जग्गा अधिग्रहणको माध्यमबाट निर्माण गर्न लागिएको सहरी विकासकै उत्कृष्ट नमुनाको यो आयोजनाको पहिलो खण्ड अगाडि बढ्ने अन्तिम तयारीमा छ । चीनले यो सडकको सम्पूर्ण खण्ड ७२ किलोमिटर नै बनाउने रुचि देखाएको छ । पहिलो खण्डको भने प्राधिकरणको बाहिरी चक्रपथ विकास आयोजनाले चोभारदेखि सतुंगलसम्मको ६ किमि सडकका लागि जग्गा अधिग्रहण गर्न लागेको छ । यो परियोजनाका लागि १३ हजार सात सय ६४ कित्तामा आगामी दुई वर्षसम्म कुनै संरचना बनाउन नपाइने र कित्ताकाट पनि नहुने गरी जग्गा रोक्का हुँदैछ । यो आयोनजा दुई वर्षमा नै पूरा गरेर व्यवस्थित बस्तिसहित जग्गा फिर्ता हुने आयोजनाले जानकारी दिएको छ ।

दुई सयवटा घर तत्कालै भत्कने

बाहिरी चक्रपथको पहिलो खण्ड निर्माणका लागि करिब दुई सयवटा घर भत्कने भएका छन् । आयोजनाका अधिकृत सापकोटाले दिनुभएको जानकारी अनुसार १५/२० लाखदेखि डेढ करोडसम्मका घर भत्कने भएका छन् । यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिएर मुख्य बाटोमा परेको घर भत्काउने भएको छ।

हालसम्म सात करोड खर्च

यो आयोजनाले हालसम्म करिब सात करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यसले चालू आवका लागि निकास भएको तीन करोड रुपैयाँ भने खर्च गर्न नसकेर फ्रिज भएको छ । आगामी आवबाट जग्गा अधिग्रहणपछि काम हुने भएकाले चालू आवको पैसा खर्च नगरिएको पनि आयोजनाले जानकारी दिएको छ । यो सडकका लागि आगामी आवको निम्ति पाँच करोड रुपैयाँ विनियोजन भएको छ । आयोजनाको कामले गति लिनुपर्छ आवश्यक खर्च गर्न रकमको अभाव नहुने जानकारी सापकोटाले दिनुभयो । उहाँका अनुसार सरकारले आवश्यक रकम जतिवेला पनि निकास गर्न सक्ने आश्वासन दिएको पनि उनको भनाइ छ ।


१२ उपभोक्ता समितिमार्फत काम

आयोजनाले हरेक एक किमिका लागि एउटा ब्लकका रूपमा विभाजन गरको छ । एउटा ब्लकमा दुईवटा उपभोक्ता समिति गठन गरिने भएको छ । ६ वटा व्लकमा १२ वटा उपभोक्ता समिति गठन गर्ने र प्रत्येक समितिलाई ६० लाखदेखि एक करोड रुपैयाँसम्म निकास दिएर कामको गति अगाडि बढाउने आयोजनाले जानकारी दिएको छ । आयोजनका अधिकृत सापकोटाका अनुसार आगामी दसैंसम्मा बाहिरी चक्रपथ निर्माणका लागि औपचारिक रुपमै डोजर चलाउने गरी तयारी भइरहेको छ ।

पहिलो खण्डको लागि तय भएको ६ दशमल ६ किमिको यो आयोजनामा चोभार, भत्केपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थान पर्छन् । यो क्षेत्रमा निर्माण हुने सडकका लागि सरकारले दुई वर्षभित्र कम्तीमा ६ अर्ब २० करोड रुपैयाँ खर्च गर्दैछ ।

स्रोत: http://annapurnapost.com/news/73833