चाइनाबाट मात्रै १७ अर्बको मोबाइल आयात

July 26, 2017

रञ्जनहरि कोइराला, अन्नपुर्ण पोष्ट ,११ श्रवण २०७४ 

नेपाली स्मार्टफोनको बजारमा चाइनिज कम्पनीको बढ्दो प्रभावलाई आर्थिक वर्ष ०७३÷७४ मा आयात भएको मोबाइल तथ्यांकले दर्शाउँछ । गत आवमा चाइनाबाट मात्रै १७ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । यो क्रममा ५२ लाखभन्दा बढी मोबाइल सेट चाइना हुँदै नेपाली बजारमा भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार गत आवमा नेपालमा चाइनाबाट १७ अर्ब ४२ करोड ६२ लाख रुपैयाँको ५२ लाख ४१ हजार पाँच सय ७८ सेट आयात भएको छ । यो चाइनाबाट आयात भएको आव ०७२÷७३ को तुलनामा २५ प्रतिशतले वृद्धि हो । उक्त आवमा चाइनाबाट १३ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ बराबरको ४४ लाख ६२ हजार मोबाइल सेट नेपालमा भित्रिएको थियो ।

नेपालमा अहिले ६२ भन्दा बढी देशबाट मोबाइल आयात हुँदै आएको छ । त्यसमा चाइनाबाट सबैभन्दा बढी मोबाइल आयात भएको छ । गत आवमा कुल २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको ५९ लाख ५४ हजार पाँच सय ३८ वटा मोबाइल सेट भित्रिएकोमा ८८.०२ प्रतिशत मोबाइल सेट चाइनाबाटै आयात भएको छ भने भ्यालुको आधारमा चीनबाट आउने मोबाइलले ७७ प्रतिशत बजार ओगटेको छ ।

यसको प्रमुख कारणका रूपमा बजारमा बढ्दो चाइनिज मोबाइल ब्रान्डको उपस्थिति पनि हो । नेपालमा यो वर्ष मात्र झन्डै आधा दर्जन नयाँ चाइनिज ब्रान्डका स्मार्टफोन भित्रिएका छन् । भित्रिएकामध्ये कतिले ब्रान्डले आफ्नो बजार सिर्जना गर्न सफल भएका छन् भने कतिपय ब्रान्ड बन्द नै भइसकेका छन् । त्यस्तै, नेपालमा भित्रिने सामसुङबाहेकका सबै ब्रान्डका मोबाइल चाइनामा एसेम्बल भएर आउने भएकाले पनि यस्तो भएको हो ।

यसका साथै पछिल्लो समय चाइनिज स्मार्टफोनप्रति ग्राहकको बढ्दो आकर्षणले पनि यो अवस्था सिर्जना भएको बताउँछन् हुवावे मोबाइलका नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांग । उनका अनुसार चाइनाबाट एसेम्बल भएर अन्य ब्रान्डका मोबाइल पनि नेपालमा भित्रिने भएकाले पनि चाइनाबाट आयात हुने मोबाइलको संख्या ठूलो भएको हो।

चाइनापछि नेपालमा दोस्रो घेरै मोबाइल आयात हुने देशका रूपमा भियतनाम रहेको छ । भियतनामबाट चार अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको चार लाख २८ हजार ४३ वटा मोबाइल सेट भित्रिएको छ । भियतनामको बाटो हुँदै नेपालमा सामसङका मोबाइल आयात हुँदै आएको छ । कुल मोबाइल आयातको ७.१८ प्रतिशत मोबाइल भियतनामबाट भित्रिएको छ । भ्यालुको आधारमा भियतनामबाट २० प्रतिशत मोबाइल आयात हुने गरेको छ । आव ०७२÷७३ मा भारतबाट ४६ करोड ८० लाख रुपैयाँ बराबरको दुई लाख ७४ हजार ६ सय ८० मोबाइल सेट भित्रिएको छ ।

नेपालमा मोबाइल आयात हुने देशमध्ये भारत तेस्रो ठूलो देशका रूपमा रहेको छ । नेपाल मोबाइल आयातमा हुने तीन ठूला देश चाइना, भियतनाम र भारतबाट कुल मोबाइल सेट आयातको ९९.८३ प्रतिशत मोबाइल आयात हुने गरेको छ भने भ्यालुका आधारमा ९९.६० प्रतिशत मोबाइल यी तीन देशबाट आयात हुने गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, नेपालमा सबैभन्दा बटी मोबाइल आयात हुने देशको क्रममा चौथो स्थानमा हङकङ रहेको छ । हङकङबाट नेपालमा ६ करोड चार लाख रुपैयाँको आठ हजार १४ वटा मोबाइल सेट आयात भएको छ । त्यस्तै, पाँचौं नम्बरमा स्विजरल्यान्डबाट मोबाइल आयात हुने गरेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार नेपालमा स्विजरल्यान्डबाट ६१ लाख ८४ हजार रुपैयाँ बराबरको पाँच सय एउटा मोबाइल सेट आयात भएको छ ।

स्रोत : http://annapurnapost.com/news/76162

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More