News

चामलमा पोषक तत्त्व मिलाइने

December 19, 2017

अतुल मिश्र, कान्तिपुर राष्ट्रिय दैनिक, ०४ पुष २०७४

सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै सरकारले चामलमा ‘फोर्टिफिकेसन’ अर्थात् सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने तयारी गरेको हो ।

चामलको फोर्टिफिकेसनबारे सोमबार राजधानीमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको पोषक एवं सूक्ष्म पोषक तत्त्वसम्बन्धी कुपोषण कम गर्न नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । दुई दिने कार्यक्रम राष्ट्र्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा बाल स्वास्थ्य महाशाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य संस्थानले गरेका हुन् । 

‘५ वर्षमुनिका ३६ प्रतिशत बालबालिका कुपोषणले गर्दा पुडको छन्, महिला तथा बालबालिकामा रक्तअल्पताको स्थिति बढदो छ,’ बाल स्वास्थ्य महाशाखा, पोषण शाखाका प्रमुख राजकुमार पोखरेलले भने, ‘यही उमेरका बालबालिकामा कुपोषणले गर्दा मृत्युदरसमेत बढी देखिएको छ ।’

‘हामीले खाइरहेका छौं, पेट भरिरहेका छौं तर हाम्रो शरीरमा पोषक तत्त्वको कमी छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्ण वस्तीले भने, ‘खाद्य पदार्थको फोर्टिफिकेसन आम जनसंख्यामा पोषक तत्त्वको उपयोग बढाउन प्रभावकारी मात्र नभई लागतप्रभावी हस्तक्षेप आवश्यक छ ।’ महानिर्देशक कर्णका अनुसार आवश्यक भिटामिन, खनिज लगायतका सूक्ष्म पोषक तत्त्वलाई चामलजस्तो बढी उपयोग गरिने खाद्य पदार्थमा अल्पमात्रामा मिसाउँदा उपभोक्ताको खानपानको व्यवहारसमेत परिवर्तन नभई पोषक तत्त्व पनि पुग्छ । ‘उचित रूपमा विज्ञानसम्मत प्रक्रियाले गरिएको यस्तो प्रयासले समुदायमा देखिएको पोषक तत्त्वसम्बन्धी कमी हटाउन प्रभावकारी भूमिका खेल्न सक्छ,’ उनले भने । 

आयोडिनको कमी एकताका जनस्वास्थ्य समस्याकै रूपमा देखिएको भए पनि सन् २००५ यता नेपालमा गलगाँडको कुनै नयाँ केस देखिएको छैन । महाशाखाको पोषण शाखा प्रमुख पोखरेल भन्छन्, ‘यो सफलता नुनमा आयोडिन मिसाएर वितरण गर्दा भएको हो भने कुपोषणसँग जुध्न चामल वा अन्य वस्तुमा पोषक तत्त्व मिसाएर उपयोग गर्ने प्रक्रियालाई बढावा दिनुको विकल्प छैन ।’

तर सबै नेपालीले एकै प्रकारको चामल नखाने लगायतका कुरामा समेत ध्यान लिएर अधिकतम प्रभाव पार्ने गरी चामलको फोर्टिफिकेसन प्रक्रिया अगाडि बढाउनुपर्ने महाशाखाका निर्देशक डा.विकास लामिछाने बताउँछन् । 

फोर्टिफाइड चामलमा स्थिति हेरेर ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म चामल जस्तै देखिने सूक्ष्म पोषक तत्त्व भएको खाद्य पदार्थ मिसाइएको हुन्छ । 

आम जनसंख्या वा कुनै खास लक्षित जनसंख्यामा देखिएको पोषक तत्त्वको कमीलाई पूरा गर्न सैद्घान्तिक रूपमा कुनै भिटामिन र खनिजको कुनै पनि संयोजनलाई चामलमा थप्न सकिन्छ । 

चामलमा हालसम्म पानीमा घुल्ने भिटामिन बी १ (थाइमिन), बी ३ (नियासिन), फलिक एसिड, बी १२, बी ६ र सी एवं बोसोमा घुल्ने भिटामिन ए, ई र डी सफलतापूर्वक हालिएका छन् । यस्तै, मिनरलअन्तर्गत आइरन, जिंक, सेलिनियम एवं क्याल्सियम तथा वेटा क्यारोटिन, लाइजिन, फाइवरजस्ता पोषक तत्त्व पनि मिसाइएका छन् ।



स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-19/20171219064105.html