News

चामल भारतको, ब्रान्ड नेपाली

April 09, 2017

Kantipur, LilawallabhGhimire, 8th April 2017, Biratnagar

मध्यवर्गीय परिवारको भान्सामा सबैभन्दा बढी प्रयोग हुने चामल जिरा मसिनो हो । बजारबाट खरिद गरेर ल्याएको जिरा मसिनो चामलको बोरामा नेपालको कुनै राइस मिलको उत्पादन भनेर नाम लेखिएको हुन्छ । तर, यो चामल नेपाली उत्पादन नभई भारतीय हुन सक्छ ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा जिरा मसिनो धान उत्पादन घटदो छ । ‘हाम्रोमा जिरा मसिनो धानको उत्पादन छैन भन्दा पनि हुन्छ,’ क्षेत्रीय कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र उप्रेतीले भने, ‘यो धानको उत्पादन कम र रोग बढी लाग्ने भएकाले किसानले खेती गर्न नै छाडे । 

भारतीय चामल ल्याएर नेपालका राइस मिलले आफ्नो उत्पादन र ब्रान्ड दिएर बिक्री गर्ने क्रम बढदो छ । सुनसरी, मोरङ, झापाका अधिकांश राइस मिलहरूले जिरा मसिनो जातको चामल प्याकेजिंग गरि बिक्रि वितरण गर्छन । तर, त्यो धान नेपालमा नै उत्पादन भने भएको हुँदैन । पूर्वमा जिरा मसिनो धानको उत्पादन ५ प्रतिशतमात्रै हुने तर प्याकेजिंग भएर आउने अधिकाश चामल जिरा मसिनो हुने भएकाले उक्त चामल भारतीय भएको बलियो प्रमाण हो ।

पूर्वी तराईका जिल्लामा उत्पादन हुनेमध्ये ५० प्रतिशत रन्जित धान छ । त्यसपछि अन्य धानको उत्पादन हुन्छ । जिरा मसिनो धानको उत्पादन यो क्षेत्रमा ५ प्रतिशतभन्दा कम रहेको उप्रेती बताउँछन् । तर, यस क्षेत्रमा रहेका अधिकांश राइस मिलले बिक्री गर्ने चामलमा सबैभन्दा बढी जिरा मसिनो पर्छ । 

जिरा मसिनो चामलको आकारसमेत सानो र खानका लागि स्वादिलोसमेत हुन्छ । यो चामल बास्मतीभन्दा सस्तो र अन्य चामलभन्दा महँगो भएका कारण मध्यवर्गको रोजाइमा परेको हो । २५ केजीको एक बोरा जिरा मसिनो चामलको उपभोक्ता मूल्य १५ सयदेखि १८ सय रुपैयाँसम्म पर्छ । यसको मूल्य राइस मिल र ब्रान्ड अनुसार घटीबढी रहेको छ । 

जिरा मसिनो धान सबैभन्दा बढी भारतको उत्तर प्रदेश, बिहार र बंगलादेशबाट आउने गरेको व्यवसायी वताउछन । नेपालको भैरहवा र नेपालगन्ज क्षेत्रमा यो धान उत्पादन हुने उप्रेती बताउँछन् । यो धान प्रतिहेक्टर ४ देखि साढे चार टन मात्र उत्पादन हुन्छ भने रन्जित ८ टनसम्म उत्पादन हुन्छ । त्यसैले किसानको रोजाइमा रन्जित नै रहेको उप्रती बताउँछन् । 

‘बढी उत्पादन हुने हुँदा अधिकांश किसान रन्जित लगाउँछन् र बिक्री गर्छन् अनि जिरा मसिनो किनेर खान्छन्,’ उप्रतीले भने, ‘जिरा मसिनो धानमा कालीपोके लागेर दाना नै नलाग्ने हुँदा किसानले लगाउन नै छोडे ।’ 

झापा, मोरङ र सुनसरीलगायतका तराईका जिल्लामा रन्जितपछि बाँसा धानको उत्पादन हुने गर्छ । त्यसपछि राधा १२ उत्पादन हुने गरेको छ । यो धान चिउरा र भुजियाका लागि बढी प्रयोग हुन्छ । नयाँ खुख्या ३ जातको धान पनि पछिल्लो समय किसानको रोजाइमा पर्न थालेको क्षेत्रीय कृषि कार्यालयले जनाएको छ । यसका लागि कम सिँचाइ भए पनि हुने हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । सोना मन्सुली अर्को यस क्षेत्रमा उत्पादन हुने धानको जात हो । पछिल्लो समय मन्सुलीको धानको उत्पादन ज्यादै कम हुँदै गएको छ ।
 
पूर्व क्षेत्रमा मात्र यस वर्ष ४ लाख ४६ हजार हेक्टर जमिनमा धान खेती गरीएको थियो । यसपटक १६ लाख १२ हजार टन धान उत्पादन भएको क्षेत्रीय कृषि विकास कार्यालयले जनाएको छ । त्यसमध्ये ५ प्रतिशतभन्दा कम मात्र जिरा मसिनो धान उत्पादन भएको उप्रेतीले बताए । ८ वर्ष पहिलासम्म यो क्षेत्रमा हुने धान उत्पादनको ५० प्रतिशत मन्सुली धान थियो । रोग लाग्नुका साथै उत्पादनसमेत कम हुने हुँदा अहिले आएर ५ प्रतिशत भन्दा तल झरेको हो । 

नेपाली बजारको कुल हिस्साको ४० प्रतिशतभन्दा बढी भारतीय चामलले ओगटेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादव जिरा मसिनो धान सरकारले उत्पादनका लागि सिफारिस गरेको जात नभएको बताउँछन् । पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा करिब १४ अर्ब रुपैया बराबरको चामल आयात भएको छ । 



Source: http://kantipur.ekantipur.com/news/2017-04-08/20170408202303.html