चार अर्ब ४३ करोडको तेल निर्यात

May 08, 2019

रितेश त्रिपाठी, नागरिक, बैशाख २५, २०७६ 

वीरगन्ज - वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो।

सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगन्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए। आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ। २०७५ असोज २२ गते भारतले निर्यात अनुमति दिएपछि मंसिरदेखि फेरि तेल निकासी सुरु भएको थियो।

वीरगन्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट २०७५ चैतसम्म ३१ हजार एक सय ७३ टन पाम आयल निर्यात भएको छ। पाम आयल निर्यातबाट नेपाली उद्योगले तीन अर्ब ४० करोड १५ लाख ९० हजार रुपैयाँ आर्जन गरेका छन्। त्यस्तै, भटमासको तेल निर्यातबाट एक अर्ब तीन करोड ३२ लाख ६ हजार रुपैयाँ भिœयाएका छन्। दुवैथरी गरेर ३९ हजार एक सय ८६ टन तेल निकासी भएको छ। यसबाट चार अर्ब ४३ करोड ४१ लाख रुपैयाँ भित्रिएको हो।

सुरुमा नेपाली उद्योगले भारतीय बजारतिर वनस्पति घिउ–तेल निर्यात गर्न पाएका बेला त्यस्ता उद्योगमा धमाधम लगानी थपिए। नेपाली वनस्पति घिउ–तेल उद्योगको त्यो सुनौलो समय धेरै चलेन। आर्थिक वर्ष ०५८/५९ मा भारतले वार्षिक एक लाख टन नेपाली वनस्पति घिउ खरिदको कोटा तोकिदियो। कोटाले निर्यातको परिमाण सीमित भएपछि वनस्पति घिउ–तेल उद्योगका लागि खराब समय सुरु भयो।

स्वदेशी मागको तेल आपूर्ति धान्नेभन्दा बढी क्षमतामा उत्पादन गर्न सक्ने गरी धमाधम उद्योग खुलेका थिए। त्यसपछि भारतमा लागू भएको नयाँ करको दरले गर्दा करिब पाँच वर्षअघि वनस्पति घिउ निर्यात बन्द हुन पुगेको उद्योगी ओमप्रकाश सिकारिया बताउँछन्।

भारतीय कर नीति परिवर्तनपछि नेपालका वनस्पति घिउ उद्योग समस्यामा पर्न थाले। कतिपय उद्योग बन्द भए। नेपाली उद्योगले वनस्पति घिउ बनाउने एकाइलाई ‘रिफाइन्ड’ तेल उत्पादन गर्ने एकाइमा रुपान्तरित गरे। अब लामो अन्तरालपछि पाम आयल (खजुरको तेल) र भटमास तेलको निर्यात सुरु भएको छ। पाम आयलको निर्यात अनुपात बढी छ।

नेपालसँगै भारतीय बजारमा वनस्पति घिउ प्रयोगकर्ता न्यून भइसकेकाले त्यसको निर्यात फेरि ब्युँतिने आशा भने नेपाली उद्योगीले गरेका छैनन्। अहिले आएर तेल निर्यात सुरु भएपछि उद्योग फेरि तंग्रिने विश्वास उद्योगीमा जागेको छ। विदेशबाट कच्चा तेल आयात गरी उद्योगले प्रशोधन र पुनः ‘प्याकिङ’ गर्ने गरेका छन्। अहिले त्यही तेल निर्यात सुरु भएको हो।

‘हामीले आफैं र सम्बन्धित सरकारी निकायको सहयोगमा निर्यात अनुमतिका लागि भारतसँग माग गरिरहेका थियौं। यो वर्ष चाहिँ आधिकारिक पत्र प्राप्त भएपछि निर्यात सुरु भयो,’ नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले भने, ‘यो नेपाली तेल उद्योग क्षेत्रका लागि ठूलो उपलब्धि हो। देशका लागि पनि किन महŒवपूर्ण छ भने व्यापार घाटा कम गर्नका लागि निर्यात क्षेत्र बढाउँदै लैजानुपर्ने हाम्रो आवश्यकता हो।’

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुप्ता तेल उद्योगलाई सम्भावनायुक्त क्षेत्रका रुपमा लिन्छन्। गुप्ताले पिनामा लाग्दै आएको निकासी शुल्क सरकारले हटाउनुपर्ने बताए। ‘हामीले अहिले निर्यात सुरु गरेका छौं, मागअनुसार निर्यात बढाउँदै लैजाने हो,’ शिवशक्ति घिउ उद्योगका प्रशासकीय अधिकृत उमेशजंग पाण्डेले भने, ‘निर्यात प्रक्रिया अलि अझ सहज हुन जरुरी छ। वारिबाट निस्केपछि पारिको भन्सारमा लाग्ने समय घटाउन सरकारी पहल नै भए सजिलो हुन्थ्यो।’

स्रोत: https://nagariknews.nagariknetwork.com/news/76222/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More