चार जिल्लाका ३० हजार करदाता करको दायरामा

November 01, 2019

नागरिक, १५ कार्तिक, २०७६ 

तनहुँ – आन्तरिक राजश्व कार्यालयमा चार जिल्लाका करीब तीस हजार करदाता करको दायरामा आएका छन्। तनहुँको सदरमुकाम दमौली कार्यालय रहेको उक्त कार्यालयमा तनहुँसहित गोरखा, लमजुङ, मनाङ गरी चार जिल्लाका व्यवसायीहरु करको दायरामा आएका हुन्।

व्यवसायीहरुलाई करको दायरामा ल्याउन कार्यक्षेत्र रहेका चार वटै जिल्लाका विभिन्न स्थानमा गएर करसम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाँई जानकारी दिए। कार्यालयले दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिरी बसेका करदातालाई कर तिर्न आग्रह गर्ने, करदाताहरुलाई कर तिर्ने वातावरण सिर्जना गर्ने लगायतको कार्यहरु गर्दै आएको उनले बताए।

उक्त कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा एक अर्ब पाँच करोड ६१ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ। कार्यालयले आव ०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने आव ०७५/७६ मा पाँच अर्ब ३० करोड आठ लाख ५० हजार राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत सेढाँईले बताए।

उनका अनुसार पाँच अर्ब १९ करोड ५२ लाख राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ। उनले भने, “यसरी बढी राजश्व सङ्कलन गर्नेमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयहरु रहेका छन्।” करदाता सेवा कार्यालयका रूपमा रहेर सेवा प्रवाह गर्दै आएको उक्त कार्यालयलाई विसं २०७५ असार २० गतेदेखि आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नति गरिएको थियो। रासस

स्रोत: https://nagariknews.nagariknetwork.com/news/99890/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More