चार महिनामा साढे १२ हजार पर्यटक निकुञ्ज भित्रिए

November 22, 2019

हिमनाथ देवकोटा, नागरिक, मङ्सिर ०६, २०७६ 

रसुवा – चालु आर्थिक ०७६÷७७ को पहिलो चार महिनामा १२ हजारभन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका छन्। निकुञ्जका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा १२ हजार सात सय ६१ पर्यटक भित्रिएका छन्। जसमा सात हजार आठ सय १७ नेपाली, चार हजार आठ सय ७३ विदेशी र ७१ जना सार्क राष्ट्रका पर्यटक छन्।

निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष सात हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन्। साउन महिनामा पाँच हजार चार सय ९० नेपाली, दुई सय १२ विदेशी र सार्क राष्ट्रका तीन पर्यटक आएका थिए। त्यस्तै भदौ महिनामा एक सय ५७ नेपाली, तीन सय ८३ विदेशी र एक जना सार्क राष्ट्रका पर्यटक आएका थिए।

त्यसैगरी असोजमा नौ सय १३ नेपाली, एक हजार आठ सय ७६ विदेशी र सार्क राष्ट्रका ३९, कात्तिकमा एक हजार दुई सय १७ नेपाली, एक हजार चार सय दुई विदेशी र सार्कका २८ जना पर्यटक आएका छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।

असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर, तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

स्वदेशी पर्यटक नभए रसुवा मात्र नभइ अन्य पर्यटकीय जिल्लाको पर्यटन तथा होटल व्यवसाय धरासायी हुने अवस्था आएको  होटल तथा पर्यटन व्यावसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए।

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायत देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्ड लगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायत जनावर पनि देख्न सकिन्छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/103737/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More