News

चार महिनामा साढे ४ खर्ब घाटा

November 30, 2018

राजु चौधरी, कान्तिपुर दैनिक, मंसिर १४, २०७५

काठमाडौँ — चार महिनामा मुुलुकको व्यापार घाटा साढे ४ खर्ब रुपैयाँ नाघेको छ । न्यून उत्पादनसँगै आयात प्रतिस्थापन गर्न नसक्दा व्यापार घाटा बढेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार ४ महिनामा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा २९ अर्ब २८ करोड रुपैयाँ मात्रै निर्यात भएको छ ।

‘आयात बढेको बढयै छ, ४ महिनामै व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ,’ केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले भने, ‘आयातमा केही गर्न सकेनौं ।’ यो अघिल्लो वर्षको सोही अवधिमा ४०.३ प्रतिशतले बढी हो ।
तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ४ महिनामा व्यापार घाटा ३ खर्ब २३ अर्ब रुपैयाँ भएको थियो । आयात प्रतिस्थापनमा ध्यान नदिँदा पनि व्यापार घाटा बर्सेनि बढेको हो । जानकारका अनुसार आयात/निर्यातका लागि मुख्यत: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, वन मन्त्रालयलगायतको भूमिका महत्त्वपूर्ण हुन्छ । यी मन्त्रालयबीच समन्वय नहुँदा पनि घाटा बढेको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । ४ महिनाको अवधिमा ६९ अर्ब ७ करोड रुपैयाँको पेट्रोलियम आयात भएको छ । अघिल्लो वर्षको तुलनमा ६८ प्रतिशतले बढी हो । दोस्रोमा फलाम तथा फलामका उत्पादनहरू आयात भएको उल्लेख छ । यस अवधिमा ५८ अर्ब २० करोडको आयात भएको छ । जानकारका अनुसार आयातित फलाममध्ये केही निर्यात पनि हुन्छ ।
केन्द्रको तथ्यांकअनुसार ४ महिनामा २ अर्ब २१ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात पनि भएको छ । ३७ अर्ब १० करोडको मेसिनरी तथा पार्टस, ३७ अर्ब ८ करोडको यातायातका साधन तथा पार्टस, १८ अर्ब ३४ करोडको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान, १७ अर्ब ५३ करोडको हवाईजहाज तथा पार्टस आयात भएको तथ्यांकमा छ ।
मुलुक कृषिप्रधान दाबी गरिए पनि अन्न किन्नका लागि १४ अर्ब ९० करोड रुपैयाँ बाहिरिएको छ । ‘इन्धन र कृषिले कुल आयातको ३० प्रतिशत ओगटेको छ,’ खनालले भने । उनले आयात रोक्न नसके पनि निर्यातमा भने केही सुधार भएको दाबी गरे । ‘केन्द्रले जुनजुन वस्तुमा हात हालेको छ, समग्रमा ती वस्तुहरूको निर्यात बढेको छ,’ उनले भने, ‘निर्यात प्रवद्र्धन राम्रो भएको छ ।’ जानकारका अनुसार पूर्वाधार विकाससँगै किसानलाई जमिनमा उत्पादन गर्नुभन्दा बेचेर फाइदा भएको छ । जसले गर्दा किसानहरू प्लटिङतर्फ आकर्षित भएका छन् ।
खेतीयोग्य जमिन प्लटिङसँगै खेतीबाली रूपान्तरण भएपछि अन्नबालीको क्षेत्रफल घट्ने र उत्पादनमा पनि कम भएको उनीहरू बताउँछन् । यस्तै १३ अर्ब ८८ करोड रुपैयाँको तयारी पोसाक, ११ अर्ब २६ करोडको सुन आयात भएको उल्लेख छ ।
वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरेले निर्यात प्रतिस्थापनका लागि उत्पादनमै जोड दिनुपर्ने बताए । ‘कतिपय वस्तु आफैं उत्पादन गर्न सकिने वस्तु पनि उत्पादन गरेका छैनौं,’ उनले भने, ‘आयात पनि व्यवस्थित गर्नुपर्छ ।’ उनका अनुसार अन्य मुलुकमा बोर्डमा निगरानी हुन्छ । कुन वस्तु आयात गर्ने, गुणस्तरको अवस्थाबारे सीमामा निगरानी हुन्छ । ‘त्यसका लागि डब्लूटीओले पनि अधिकार दिएको छ ।भन्सार अवरोधलाई हटाउ भनेको छ, गुणस्तर आफैंले तय गर्न भनेको छ,’ सचिव घिमिरेले भने, ‘बोर्डरमा कन्ट्रोल भएन । खुला आयात भएको छ । जसले गर्दा व्यापार घाटामा ठूलो धक्का दिएको छ ।’

तथ्यांकअनुसार निर्यातमा भने सबैभन्दा अगाडि धागो छ । ४ महिनाको अवधिमा२ अर्ब ९३ करोड रुपैयाँको धागो निर्यात भएको छ ।
धागो मुख्यत: टर्की र भारतमा निर्यात हुन्छ । पछिल्लो समय बंगलादेश पनि निर्यात भएको केन्द्रले जनाएको छ । २ अर्ब ७६ करोडको उनी गलैंचा, २ अर्ब ४० करोडको तयारी पोसाक १ अर्ब ५५ करोडको जुस निर्यात भएको छ । नायब कार्यकारी निर्देशक खनालले कामदारको कमीले पनि उत्पादनमा समस्या भएको बताए । दक्ष कामदार उत्पादनका लागि केन्द्रले तालिम दिइरहेको बताए ।
यस्तै विभिन्न व्यापारिक मेला, प्रदेश सरकारको सहकार्यमा प्रोडक्ट प्रोफाइलको पनि तयारी भएको बताए । ‘वस्तुको प्रोफाइल बनेपछि निकासी प्रवद्र्धनमा तीव्र प्रचार गर्छौं,’ उनले भने । व्यापार घाटा निरन्तर बढिरहे लगानीको वातावरण बिग्रन सक्ने सचिव घिमिरे बताए ।

‘घाटालाई तुलनात्मक लाभका वस्तु (एनटीआईएस) ले मात्रै सम्बोधन गर्न सक्दैन । एउटा क्षेत्रको नीतिले मात्रै सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘व्यापार, लगानी नीति, कृषि, वन, स्वास्थलगायतका नीतिमार्फत सम्बोधन गर्नुपर्छ ।’

स्रोत:https://www.kantipurdaily.com/business/2018/11/30/154354894512986558.html