मेनुका कार्की, अन्नपूर्ण पोस्ट, २२ माघ २०७४
काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ।
‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो। नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो।’ अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ। गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए। गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए। हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो।
बैंकको लगानी ठूलो मात्रामा बढे पनि निक्षेप संकलन १६ प्रतिशत मात्र वृद्धि हुन सकेको छ। गत वर्षको पुससम्म बैंकले १९ खर्ब १३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। यो पुसमा बैंकको निक्षेप संकलन लगानीको अनुपातमा न्यून भई २२ खर्ब १४ अर्ब ५१ करोड पुगेको छ।
गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा बैंकहरूको लगानी तीन खर्ब २९ अर्ब ८३ करोड वृद्धि।
सबैभन्दा बढी लगानी गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक।
सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक
निक्षेप संकलनको तुलनामा लगानीमा वृद्धि हुँदा अहिले बैंक लगानीयोग्य पुँजीको अभावमा छट्पटाइ रहेका छन्। बैंकहरूको चालू आवको पुससम्मको वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लगानी नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ।
यो बैंकले एक वर्षको अवधिमा करिब साढे १७ प्रतिशतले लगानी बढाएको छ। हालसम्म यो बैंकले एक खर्ब १३ अर्ब ६७ करोड लगानी गरेको छ। गत वर्षको पुससम्म यो बैंकको लगानी ९६ अर्बमात्र थियो। बढी लगानी गर्ने बैंकको दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकको छ।
बैंकले यस अवधिसम्म १७.८४ प्रतिशतले लगानी वृद्धि गरेर एक खर्ब १० अर्ब ६५ करोड पुर्याएको छ। गत आवको यही अवधिसम्म बैंकको लगानी ९३ अर्ब ९० करोड ६० लाख थियो। एनआईसी एसियाले गत वर्षको तुलनामा करिब ५४ प्रतिशतले लगानी बढाएर एक खर्ब दुई अर्ब २० करोड पुगेको छ।
अंकका हिसाबले धेरै लगानी गर्नेको सूचीमा २३ नम्बरमा रहे पनि प्रतिशतका हिसाबले लगानी बढाउने बैंकको पहिलो सूचीमा जनता बैंक सूचीकृत भएको छ। बैंकले यस अवधिमा ४८ अर्ब ६९ करोड १७ लाख लगानी गरेर छ। बैंकले एक वर्षको अवधिमा करिब एक सय १२ प्रतिशत लगानी बढाएको छ। मर्जरका कारण बैंकले लगानी वृद्धि गर्न सकेको जनता बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अजय मि श्रले बताए।
बैंकले असारदेखि पुससम्म वृद्धि गरेको लगानी व्यावसायिक हो’,उनले भने, ‘बैंकले असार यता तीन अर्ब तीन करोड लगानी वृद्धि गरेको छ।’ यस अवधिमा कर्पोरेट कर्जा धरै बढेको छ। मझौला, रिटेल र कृषि क्षेत्रमा जाने कर्जा पनि उल्लेख्य वृद्धि भएको छ। जनता बैंकले कृषिमा राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी लगानी गरेको उनले बताए।
बढी प्रतिशतले लगानी बढाउने बैंकको दोस्रो सूचीमा सेन्चुरी कमर्सियल बैंक परेको छ। बैंकले चालू आवमा ६२ प्रतिशतभन्दा बढी लगानी बढाएर ४७ अर्ब दुई करोड ४३ लाख पुर्याएको छ। गत आवसम्म बैंकको लगानी २९ अर्बको हाराहारीमा थियो। प्रतिशतका हिसाले बढी लगानी गर्ने बैंकको तेस्रो सूचीमा एनआईसी एसिया छ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंकको चुक्ता पुँजी चालू आवदेखि नै आठ अर्ब पुर्याउनु पर्ने व्यवस्था गरे पनि पुँजीअनुसार लगानी गर्न सिभिल बैंक असमर्थ भएको छ। बैंकले गत वर्ष २९ अर्ब लगानी गरे पनि चालू आवको यस अवधिसम्म सबैभन्दा कम लगानी वृद्धि गरेर ३३ अर्ब ५५ प्रतिशत पुर्याएको छ। मेगा बैंकले पनि चालू आवको यस अवधिसम्म ४० अर्ब ७६ करोड लगानी गरेको छ। नेपाल बंगलादेश बैंकले पनि लगानीमा खासै वृद्धि गर्न सकेको छैन। बैंकले समीक्षा अवधिमा साढे १३ प्रतिशतले लगानी बढाएर ४१ अर्ब पुर्याएको छ।
सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक परेको छ। वाणिज्य बैंकले चालू आवको पुससम्म एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेको छ। बैंकको निक्षेप संकलन अन्य वाणिज्य बैंकको भन्दा बढी भए पनि चालू आवको साउनदेखि असारसम्मको अवधिमा भने निक्षेप संकलन चार अर्ब ४७ करोड घटेको छ। सरकारी बैंक भएकाले समयअनुसार निक्षेप संकलनका लागि योजना ल्याउन नसक्दा असर देखिएको हो। निक्षेप संकलनको दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक छ। बैंकले यस अवधिमा एक खर्ब २९ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। हाल बैंकले गरेको निक्षेप संकलन गत आवको पुसभन्दा ११.३५ प्रतिशत बढी हो। बैंकले असार मसान्तको तुलनामा भने ३.३२ प्रतिशतले मात्र निक्षेप संकलनमा वृद्धि गरेको छ। यसैगरी बढी निक्षेप संकलन गर्ने बैंकको सूचीमा नबिल बैंक परेको छ। नबिल बैंकले चालू आवसम्म एक खर्ब २१ अर्ब २८ करोड निक्षेप संकलन गरेको छ। हाल वाणिज्य बैंकहरूको निक्षेप–कर्जा अनुपात औसतमा ७८ प्रतिशत छ।
स्रोत: www.annapurnapost.com/news-details/90157