News

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा पढेका ३६ पटकसम्म फेल

February 20, 2018

अर्जुन अधिकारी, नयाँ पत्रिका, फागुन ८, २०७४

नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका वेला विदेशमा अध्ययन गरेका चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर आएका चिकित्सकले ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास गर्न नसकेको तथ्य खुलेको हो ।

नेपालमा मेडिकल शिक्षाको गुणस्तर कामै नलाग्ने अवस्थामा रहेको भ्रम छरेर विद्यार्थी विदेश पढ्न जान बाध्य बनाउन थालेपछि मेडिकल काउन्सिलले नेपाल र विदेशमा अध्ययन गरेर आएका चिकित्सकको क्षमता मापन गरेको हो । काउन्सिलले बताएअनुसार चीन, पाकिस्तान, बेलारुस, कार्जकिस्तान, जर्जिया र बंगलादेशमा अध्ययन गरेर आएका धेरै चिकित्सक लाइसेन्स परीक्षामा निरन्तर फेल भएका छन् । काउन्सिल स्रोत भन्छ, ‘१२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास नभएपछि विदेशबाट एमबिबिएस पढेर आएका थुप्रैले परीक्षा दिन छाडेका छन् । केहीले अझै दिइरहेको पाइएको छ ।’

नेपालकै मेडिकल शिक्षा अब्बल
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले नेपालको मेडिकल शिक्षा अब्बल रहेको दाबी गरे । ‘नेपालको मेडिकल शिक्षाको गुणस्तरमा हालसम्म कुनै घुनपुत्ला लागेको छैन,’ उनले भने, ‘काउन्सिलले वर्षको तीनपटक चिकित्सक लाइसेन्स परीक्षा लिँदै आएको छ । नेपालमा अध्ययन गरेका चिकित्सकले बढीमा दुईपटकमा लाइसेन्स परीक्षा पास गरेका छन् । तर, विदेशमा पढेर आएका ८० प्रतिशतले ३६ पटकसम्म पनि पास गर्न सकेका छैनन् ।’

उनले फेल भएका चिकित्सकको नाम र संख्या भने बताउन चाहेनन् । उनले यसअघि नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षाको नतिजा हेर्दा पनि सहज रूपमा अनुमान लगाउन सकिने दाबी गरे । नेपाल मेडिकल काउन्सिलले पछिल्लोपटक कात्तिकमा लिएको लाइसेन्स परीक्षामा पाकिस्तान, बेलारुस, कार्जकिस्तान र जर्जियाको पासदर शून्य छ भने चीन, पाकिस्तान, बंगलादेश, फिलिपिन्समा पढेर आएका चिकित्सक न्यून मात्र पास भएका छन् ।

३६ पटकमा पास गरे पनि गुणस्तरमा शून्य
अध्यक्ष बाँस्कोटाले परीक्षा दिइरहन पाउने प्रावधानलाई हटाउने तयारीमा काउन्सिल लागेको बताए । ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर विनाप्राक्टिस परीक्षा दिएर पास गरे पनि स्वास्थ्योपचारमा संलग्न हुन ज्ञानको पूर्ण अभाव हुने बाँस्कोटाले बताए । उनले भने, विदेशबाट पढेर आउनेको संख्या बढ्दै गएको छ । तर, चिकित्सक लाइसेन्स परीक्षा पास गर्न सक्दैनन्, सकेका पनि न्यून गुणस्तरका छन् । उनीहरूबाट हामीले कस्तो स्वास्थ्य सेवाको अपेक्षा गर्ने ?’

कहाँ जान्छन् फेल भएका डाक्टर ?
एमबिबिएस अध्ययन सके पनि मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा पास नगर्दासम्म डाक्टरले स्वास्थ्योपचारमा संलग्न हुन पाउँदैनन् । यदि कोही बिरामी जाँच्ने कार्यमा संलग्न भएको पाइए त्यो गैरकानुनी ठहरिनेछ । तर, ३६ पटकसम्म फेल भएर परीक्षा दिन छाडेका डाक्टर के गरिरहका छन् भन्नेमा काउन्सिलका पदाधिकारीलाई नै कौतुहल जागेको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा गैरकानुनी रूपमा लुकेर स्वास्थ्योपचारमा संलग्न भएको हुन सक्ने बताउँछन् । ‘डाक्टर बन्ने नाममा करोडौँ रुपैयाँ सकेका छन् । तर, पटक–पटक लाइसेन्स परीक्षा दिँदा पनि असफल भएका उनीहरू लुकेर बिरामीको सेवामा लागेको हुन सक्छ,’ शर्माले भने ।

स्रोत: www.enayapatrika.com/2018/02/20/25564/