चिनियाँ जहाजका ६० प्रतिशत सिट खाली

September 22, 2017

कारोबार आर्थिक दैनिक, ०६ आश्विन २०७४ 

काठमाडौं : नेपाल वायुसेवा निगमले उडान भरिरहेको चिनियाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ । निगमले उडान भर्दै आएको एमए–६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा बढी सिट खाली उडाउनु परेको छ । 

गत आर्थिक वर्षको तथ्यांकअनुसार एमए–६० ले १ हजार २ सय ८१ उडान गर्दै ३६ हजार ४ सय ७५ यात्रुलाई मात्रै सेवा दिएको छ । यो कुल सिट क्षमताको ६५ प्रतिशत खाली हो ।  

यस्तै, वाई–१२ ई मा भने यसभन्दा केही बढी नै अकुपेन्सी देखिएको छ । यो जहाज ५४ प्रतिशत खाली उडेको तथ्यांक छ । गत आर्थिक वर्षमा वाई १२ ई ले ६ सय ६१ उडानमार्फत ४ हजार ६ सय ४४ यात्रुलाई सेवा दिएको छ ।  खासगरी दुर्गम क्षेत्रमा उडान गर्ने भने पनि हालसम्म पनि वाई १२ सुगम क्षेत्रमै उडान गरिरहेको छ । 

उडान तथा यात्रु संख्या
जहाज     उडान           यात्रु     खाली सिट 

एमए–६०    १२८१    ३६,४७५    ६५ प्रतिशत
वाई–१२ इ    ६६१    ४,६४४    ५४ प्रतिशत
 स्रोत : नेपाल वायुसेवा निगम

निगमको एमए–६० जहाजले धनगढी र विराटनगरमा दैनिक उडान गर्दै आएको छ भने भद्रपुर र नेपालगन्जमा साताको ३ वटा उडान गर्दै आएको छ । वाई १२ ई ले पोखरामा दैनिक २ तथा भैरहवा र सिमरामा दैनिक एक/एक उडान गर्दै आएको छ । निगमले  जेठदेखि थप दुई चिनियाँ जहाजमार्फत उडान गर्दै आएको छ । लामो समयदेखि चिनियाँ जहाजको समस्याका कारण सोचेजस्तो सिट क्षमतामा उड्न नसकेको भए पनि अहिले केही सुधार आएको निगमका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए ।  

चीन सरकारको अनुदानका जहाज एमए–६०, २०७१ वैशाख १४ मा काठमाडौं ल्याइएको थियो भने १८ सिटयुक्त वाई १२–ई कात्तिक १७ मा आएको थियो । एमए–६० ले असार ११ तथा वाई १२–ई ले पुस ३ बाट नियमित उडान सुरु गरेका थिए । चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलव्ध गराइएको हो ।

 उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो भने बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ५ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो । 

सम्झौताअनुसार थप दुई वाई १२ ई जहाज यसैवर्ष नेपाल आउँदैछ । चिनियाँ जहाज निर्माता कम्पनीले स्पेयर्स पार्ट्स तथा तालिमलगायत सेवा उपलव्ध गराउने सहमति जनाएकोले आगामी दिन आन्तरिक उडानमा राम्रो गर्ने कंसाकार बताउँछन् । 

स्रोत: 

https://www.karobardaily.com/news/82491

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More