चिया गणना सुरु गर्ने तयारी

February 11, 2018

नागरिक दैनिक, माघ २८, २०७४

काठमाडौं – चिया खेतीको वास्तविक तथ्यांक तयार गरेर भावी रणनीति तयार गर्न चिया गणना गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा देशभर चियाको विवरण संकलन गर्न लागिएको हो।

अहिलेसम्मको तथ्यांक पर्याप्त नभएकाले चियाका बोट, बागन, चिया किसान, बगानका कामदार, उद्योग लगायत सबैको वास्तविक विवरण संकलनका लागि गणना गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।

‘चिया गणना–२०७४ बाट सबै डाटा लिने योजनामा छौं,’ गौतमले भने, ‘भावी योजना बनाउन सहयोग पुग्छ ।’ सर्वेक्षणका लागि उन्नति परियोजनाले सघाएको छ । केन्द्रीय तथ्यांक विभागको नेतृत्वमा गरिने भएकाले वास्तविक तथ्यांक आउने गौतमले बताए । त्यसको लागि झापाको विर्तामोडमा तालिम पनि सञ्चालन गरिएको बोर्डले जनाएको छ।

मुख्य गरी पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लाका किसानले चियाको व्यावसायिक खेती हुँदै आएको छ । अहिलेसम्मको विवरण अनुसार झापामा ११ हजार चार सय २३ हेक्टरमा, इलाममा सात हजार आठ सय पाँच, पाँचथरमा एक हजार एक सय ३८, धनकुटामा नौ सय ४०, तेह्रथुममा तीन सय ३७ र अन्य जिल्लामा चार हजार पाँच सय २२ हेक्टरमा चिया खेती लगाइएको बोर्डले जनाएको छ । कुल २६ हजार एक सय ८५ हेक्टरमा चिया लगाइएको छ । अब नयाँ यकिन तथ्यांक आउने छ।

चालु आर्थिक वर्षमा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने बोर्डको अनुमान छ । गत वर्ष करिब तीन अर्ब रूपैयाँको चिया निर्यात हुने गरको छ । उत्पादन बढेसँगै यो वर्ष निर्यात बढ्ने अपेक्षा गरिएको छ।

नेपालको चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ।

अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले उत्पादन बढाउँदै लगेका छन् । सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगी सिधै विदेश बिक्री गर्ने गरेका छन्।

सिसिटी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्सको भने भारतसहित अमेरिका, फ्रान्स, जर्मनलगायत मूलुकमा निर्यात हुन्छ ।  यो वर्षमात्र करिब २० हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार गरिएको छ । ‘करिब १५ लाख बिरुवा यो वर्ष रोपण गरिएको छ,’ गौतमले भने।

यो वर्ष ललिपुर, भोजपुर, रामेछापलगायत जिल्लामा चिया खेती विस्तार गरिएको छ।

गत वर्ष करिब ५० लाख मेट्रिक टन अर्थोडक्स चिया उत्पादन भएको थियो । अर्थोडक्स चिया प्रतिकिलो ६० डलर रूपैयाँसम्म बिक्री हुन्छ । अर्थोडक्स चिया उत्पादनको करिब ८८ प्रतिशत  निर्यात हुने गरेको छ।

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले ठमेललगायत पर्यटकीय क्षेत्रबाट पनि चिया लैजाने गरेका छन् । अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटालगायत क्षेत्रमा उत्पादन हुने गरेको छ । पछिल्लो सयम लमजुङमा पनि विस्तार भएको छ । इलामको पूर्वी फिक्कल आसपासको चियामा विषादी प्रयोग गरेकाले निर्यातमा केही कठिनाई भएको व्यवसायी बताउँछन्।

चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा यसको खेती हुँदै आएको छ । बोर्डका अनुसार अहिले १८ हजार किसानले खेती गरिरहेका छन् । चिया कात्तिक – मंसिर र फागुन–चैतमा टिप्ने गरिन्छ।

स्रोत: http://www.nagariknews.com/news/37544/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More