नवीनराज कुइँकेल, अन्नपुर्ण पोष्ट, ०४ माघ २०७५
बेसीसहर : अत्यधिक चिसो बढेपछि मनाङमा रहेका हिमतालहरु जमेका छन्। माथिल्लो मनाङमा रहेको गंगापूर्णसँगै आधादर्जन हिमताल जमेर चट्टानजस्तै बनेका छन्।
मनाङको तापक्रम दिउँसो पनि माइनसमा छ। साँझ-बिहान त माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको स्थानीय बताउँछन्। चिसो नघट्दा जनजीवन नराम्ररी प्रभावित बनेको छ। खानेपानी र ठाडो खोलासमेत जमेका छन्।
तालमा मिसिने स-साना हिमनदीसमेत जमेका छन्। फाट्टफुट्ट पुगेका पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिइरहेका छन्। घरेलु विकास समिति मनाङका उद्योग अधिकृत प्रदिप न्यौपानेले खोलानाला, खानेपानी जमेको बताए। उनका अनुसार आगो बालेर पाइप तताएपछि मात्र पानी झर्ने गरेको छ।
माथिल्लो मनाङका छिरिङ लोप्साङ गुरुङले गंगापूर्ण ताल हिउँदमा बर्सेनी जम्ने गरेको बताए। उक्त ताल समुद्र सतहबाट ३ हजार ५ सय ४० मिटर उचाइमा छ। गुरुङकाअनुसार दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन।
पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार यहाँका ताल सफा भएका बेला नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन्। 'मनाङमा विचित्रको सौन्दर्य छ। यही सौन्दर्य हेर्न पर्यटक आउँछन्' गुरुङले भने, 'चिसो समयमा समेत अलिअलि पर्यटक आइरहेका छन्।'
स्थानीयका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने केंचो ताल, धारापानीको नाचैमा पर्ने डोना अर्थात् ठूलागी र थोंचेमा पर्ने पोंकरलगायतका ताल पनि यतिबेला जमेका छन्। यी विश्व चर्चित ताल हुन ।
निस्याङ गाउँपालिका-१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेले चिसो मौसममा पनि पर्यटकहरु आइरहेको बताए । 'धेरैजसो चिसो छल्न बेसी झरिसके। हामी फाट्टफुट्ट आउने पर्यटक कुरेर जसोतसो बसिरहेका छौँ, घलेले भने, 'चिसो भएपनि यो मौसममा हिउँपर्ने हुँदा मनाङ निकै राम्रो देखिन्छ।'
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत बाबुलाल तिरुवाकाअनुसार मनाङका ताल हेर्न बर्सेनी हजारौं पर्यटक आउँछन्। हिमताल भएकाले पनि बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बन्ने गरेका हुन्। चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेको तिरुवा बताउँछन्। उनकाअनुसार मंसिर-पुसदेखि फागुनसम्म हिमताल प्रायः जमिरहेका हुन्छन्।
फागुनसम्म हिउँ परिरहने भएकाले तापक्रम बढदै गए पनि जमिसकेको पानी पग्लिन गाह्रो हुन्छ। फागुन अन्तिम सातादेखि भने पग्लिन थाल्छ। प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले चिसो छल्न जिल्लाबासी बाहिर गएकाले सुरक्षालाई अझ बढी मजबुत बनाउँदै गस्ती बढाइएको बताए।