चीनबाट तीन हजार भेडाच्यांग्रा

October 16, 2019

गणेश विशू, नागरिक, असोज २९, २०७६ 

वीरेन्द्रनगर – छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्।

चीनसँग सीमा जोडिएका हुम्लाका हिल्सा, लिमी र चुवाखोला र डोल्पाबाट सीमा जोडिएका मरिम्ला र म्याटो नाकाबाट भेडा/च्यांग्रा, खसीबोका भित्र्याएको व्यवसायी बताउँछन्। हुम्लाका लिमी, चुवाखोला र हिल्सा नाकामध्ये हिल्साबाट मात्रै सात सय ३४ भेडा/च्यांग्रा, खसीबोका भित्रिएको हुम्लाका व्यवसायी कालु बोहोराले जानकारी दिए। ‘बजारमा भेडाको माग बढेसँगै चीनबाट ल्याइएको हो,’ उनले भने, ‘यहाँबाट सुर्खेत, नेपालगन्ज, दाङलगायत ठाउँसम्म पठाइयो।’

यस्तै, डोल्पामा रहेका मरिम्ला र म्याटो नाकाबाट गरेर दुई हजारभन्दा बढी भेडा भित्रिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण रञ्जितकारले जानकारी दिए। ‘चीनमा भेडा सस्तोमा पाइने भएकाले व्यापारी त्यतैतिर आकर्षित भएका छन्,’ उनले भने, ‘डोल्पामा व्यावसायिक भेडा पाल्ने व्यवसायी कम छन्। माथिल्लो पाटन, चरन क्षेत्रतिर व्यवसायी भए पनि तल्लो भेगमा कम छन्।’

डोल्पाका नाकाबाट आएका भेडा–च्यांग्रा, खसीबोका मुस्ताङ हुँदै पोखरासम्म पनि पुग्छन्। अहिले सदरमुकाम दुनैमा पनि व्यवसायीले धेरै ल्याएका छन्। उनले थपे, ‘नाकाहरु यार्सागुम्बा संकलन गर्ने समयमा मात्रै १५ दिन खुल्छन्। त्यो समयमा व्यापारीले भेडा, च्यांग्रालाई नाका कटाउँछन्। पछि दसैंका बेला बजार पठाउँछन्।’

दसैंलगायत पर्वका बेला भेडा/च्यांग्रा, खसीबोकाको अत्यधिक माग बढ्दा व्यापारीले चीनबाट समेत आयात गर्छन्। यसले दुई देशबीचको व्यापारिक सम्बन्धसमेत स्थापित गरेको यहाँका व्यापारीको भनाइ छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/97009/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More