चुइँगम पड्काउँदा ३९ करोड चट् !

August 09, 2017

नविन अर्याल, अन्नपुर्ण पोष्ट, २५ श्रावण २०७४ 

आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड २३ लाख रुपैयाँको चुइँगम नेपाल भित्रिएको छ। विभिन्न मुलुकबाट १३ लाख ११ हजार किलो चुइँगम नेपाल आयात भएको हो। नेपाली उपभोक्ताबीच चुइँगम लोकप्रिय मानिन्छ। नेपालमा चुइँगम चपाउँदै हिँड्ने जमात ठूलो छ।

स्कुल/कलेजका विद्यार्थीदेखि चुरोट सेवन गर्नेसम्मको रोजाइ चुइँगम पर्ने गरेको छ। अल्छि लागेको समयमा स्फुर्ती ल्याउन पनि चुइँगम नै रोजाइमा पर्छ। नेपालमा चुइँगम उत्पादन भए पनि उत्तिकै मात्रामा आयात गरिँदै आएको छ। मिठाई र चुइँगममा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। भन्सार विभागको तथ्यांकमा गत वर्ष चुइँगम आयातदर घटेको भए पनि आयात उच्च नै छ।

आर्थिक वर्ष २०७१/७२ मा विभिन्न मुलुकबाट ४१ करोड ९२ लाखको चुइँगम नेपाल भित्रिएको थियो । त्यस वर्ष १३ मुलुकबाट नेपालमा चुइँगम आएको थियो। अर्को वर्ष २०७२/७३ मा १० मुलुकबाट ४२ करोड ६५ लाखको चुइँगम आयात भएको भन्सार विभागको तथ्यांक छ। गत वर्ष १२ मुलुकबाट चुइँगम आयात गरिएको छ।

नेपालमा सबैभन्दा बढी भारतबाट चुइँगम भित्रिने गरेको छ। गत वर्ष भारतबाट ३५ करोड ९८ लाखको चुइँगम भित्रिएको छ। नेपालमा छिमेकी मुलुक भारत, चीनसहित मलेसिया, कोरिया, साउदी अरेबिया, युरोप तथा अमेरिकन मुलुकसम्मको चुइँगम भित्रिन्छ।

गत वर्ष बेलायतबाट १४ लाख र अमेरिकाबाट दुई लाखभन्दा बढीको चुइँगम आयात गरिएको छ। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट पौने तीन लाखको चुइँगम आएको छ।

नेपाली बजारमा विभिन्न स्वादमा चुइँगम पाइन्छ। चुइँगमको गुणस्तर, स्वाद र प्याकेजिङअनुसार मूल्य पनि फरकफरक र्छ । नेपालका हरेक पसलमा दैनिक ठूलो संख्यामा चुइँगम किन्न पुग्ने ग्राहक भेटिन्छन्।

स्रोत: http://annapurnapost.com/news/77182

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More