कान्तिपुर, जेष्ठ ११, २०७९
काठमाडौँ — स्थानीय तहको चुनावपछिको एक सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख ३० देखि जेठ ६ गतेसम्मको अवधिमा ७ अर्ब निक्षेप थपिएको हो । वैशाख ३० गतेसम्म २७ बैंकमा कुल ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ ६ गतेसम्म आउँदा ४३ खर्ब ७७ अर्ब पुगेको छ ।
त्यस्तै सो एक साताको अवधिमा कर्जा रकम भने ३ अर्ब बढेको छ । वैशाख ३० गतेसम्म कुल ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो एक साता निक्षेप सुधार देखिए पनि वैशाख लागेयताकै तुलना गर्ने हो भने निक्षेप घटेको छ । चैत मसान्तसम्मको तुलनामा जेठ ६ गतेसम्म १२ अर्ब निक्षेप घटेको छ । चैत मसान्तसम्म यी बैंकमा कुल ४३ खर्ब ८९ अर्ब निक्षेप रहेको थियो । कर्जा प्रवाह पनि सो अवधिमा ३ अर्ब घटेको छ । चैत मसान्तसम्म ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हाल औसत ९०.३१ प्रतिशत छ । १८ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । यी बैंकलाई आगामी असार मसान्तसम्म ९० प्रतिशतभन्दा कममा झानुपर्ने बाध्यता छ ।
स्रोत: https://ekantipur.com/business/2022/05/25/16534611614469830.html