कान्तिपुर, बैशाख ०८, २०७७
काठमाडौं : चैत ११ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गरे पनि आयातमा उल्लेख्य असर देखिँदैन भने निर्यात वृद्घि भइरहेको छ । सरकारले मानिसको आवागमन कडाई गरे पनि मालबहाक वस्तुको आवातजावत भने खुला राखेको छ । लकडाउनपछि पेट्रोलियम पदार्थलगायत कतिपय वस्तुको मागमा समेत कमी आएको छ । तर, यो अवधिमा आयात गत आर्थिक वर्षको चैतसम्मको तुलनामा ७.४५ प्रतिशतले मात्र घटेको भन्सार विभागले जनाएको छ ।
निर्यात भने १२.८८ प्रतिशतले बढेको छ । यो अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको आयात भएको र ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको चैतसम्म १० खर्ब ६१ अर्ब ६१ करोडको आयात भएको थियो भने निर्यात ६९ अर्ब ८२ करोड रुपैयाँ थियो ।
भन्सारबाट संकलन हुने भन्सार महसुल भने गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ८१ करोड रुपैयाँले कमी आएको छ । भन्सार महसुलबाट ९३ अर्ब ६ करोड रुपैयाँ राजस्व उठेको छ ।
अघिल्लो वर्षको तुलनामा कुल व्यापारमा निर्यातको हिस्सामा २० प्रतिशतले वृद्घि भएर करिब साढे सात प्रतिशत पुगेको छ । आयातको हिस्सा ९२.५ प्रतिशत छ । समीक्षा अवधिमा भारतबाट कुल आयातको ६१.३३ प्रतिशत आयात भएको छ भने ७०.३२ प्रतिशत निर्यात भारततर्फ भएको छ ।
साउनदेखि चैतसम्मको अवधिमा भारतबाट ६ खर्ब २ अर्ब, चीनबाट १ खर्ब ५४ अर्ब, इन्डोनसियाबाट २६ अर्ब ३३ करोड, अमेरिकाबाट १७ अर्ब र संयुक्त अरब इमिरेट्सबाट १६ अर्ब ७५ करोडको आयात भएको छ । त्यस्तै निर्याततर्फ, भारतमा ५५ अर्ब ४२ करोड, अमेरिकामा ७ अर्ब ७१ करोड, जर्मनी २ अर्ब २७ करोड, टर्की १ अर्ब ८७ करोड र बेलायतमा १ अर्ब ७४ करोडको निर्यात भएको छ ।
समीक्षा अवधिमा प्रमुख आयातमा १ खर्ब ६१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, ८३ अर्ब ५६ करोडको फलाम र स्टिल, ८३ अर्ब ३७ करोडको मिल मेसिनरी तथा विद्युतीय सामग्री, ५९ अर्बको सवारी साधन र ४० अर्ब ८२ करोडको खाद्यान्न आयात भएको छ । फागुनको तुलनामा चैतमा औषधिको आयात डेढ अर्ब रुपैयाँले बढेर करिब २२ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, साउनदेखि चैतसम्मका प्रमुख निर्यातमा १६ अर्ब ७८ करोडको पाम तेल, ७ अर्ब ८२ करोडको सोयाबिन तेल, ५ अर्बको कार्पेट, २ अर्ब ४५ करोडको धागो र २ अर्ब २८ करोडको सिन्थेटिक यार्न (धागो) बाट निर्मित फ्याब्रिक्स निर्यात गरेको छ ।