छोरी जन्मिए बैंक खाता

August 24, 2018

कृष्णप्रसाद गौतम, कान्तिपुर दैनिक, ८ भाद्र २०७५

र्खेत — वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो ।

परिवारले अन्नप्राशनमा जम्मा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मा गरिदिए। ‘नगरपालिकाले खाता खोलिदिएपछि छोरीका लागि बचत गर्ने प्रेरणा मिल्यो,’ आमा सुशीलाले भनिन्, ‘छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ ।’

प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक वर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि एक सय दिनको प्राथमिकताभित्र ‘छोरी जन्म बचत खाता’ कार्यक्रम समावेश गरी निरन्तरता दिएका छन् ।

कार्यक्रमले किशोरीमैत्री नगर निर्माण योजनालाई सघाउ पुर्‍याएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । लैंगिक विभेद घटाउन बचत खाता सञ्चालन गरिएको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रममै समावेश गरेर कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ, यसले राज्यले छोरीलाई सम्झिएको सन्देश दिएको छ,’ उनले भने, ‘कार्यक्रमले छोरीलाई सम्मान र माया गर्न पनि प्रेरणा दिन्छ ।’

भ्रूण हत्या र लैंगिक विभेद न्यूनीकरणका लागि बैंक खाता कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको छ । ‘यो अभियानले बैंकिङ पहुँच बढाउन समेत मद्दत गरेको छ,’ नगरप्रमुख सुवेदीले भने, ‘छोरीलाई हामीले खोलिदिएको खातामा थप रकम जम्मा गरेर अभिभावकले उनको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गराउन सक्छन् ।’

नगरले खातालाई आधूनिक खुत्रुकेका रूपमा विकसित गर्न खोजेको जनाएको छ । वीरेन्द्रनगरले ज्येष्ठ नागरिकको सम्मानका लागि ‘बा–आमा चौतारी’ कार्यक्रमलाई पनि निरन्तता दिएको छ । प्रत्येक वडामा गएर ज्येष्ठ नागरिकसँग भेटघाट र छलफल गर्दै आएको छ ।

यस्तै गुर्भाकोट नगरपालिकाले पनि दुई साताभित्रै बचत खाता सञ्चालन गर्ने गरी ‘बालिका जन्म प्रोत्साहन’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । गत आर्थिक वर्षमै सञ्चालन गर्न खोजिए पनि विभिन्न समस्याका कारण कार्यक्रम रोकिएको थियो । सबै वडाबाट बालिका जन्मको तथ्यांक आइसकेको गुर्भाकोटका नगरप्रमुख हस्त पुनले बताए ।

‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनेबित्तिकै पहिलो काम बालिकाको खाता खोल्ने हुनेछ,’ उनले भने, ‘वडाबाट पायक पर्ने बैंक, वित्तीय संस्था र सहकारीमा एक हजार जम्मा गरेर नगरपालिकाले खाता खोलिदिनेछ ।’ नगरपालिकाले खोलिदिएको खातामा अभिभावकलाई थप रकम जम्मा गर्न आग्रह गर्ने प्रमुख पुनले बताए । लैंगिक विभेद हटाउन कार्यक्रमले दीर्घकालीन सन्देश दिने उनको भनाइ छ ।

गुर्भाकोटमा छोराछोरी जन्मिए दुई बिरुवा रोप्नुपर्ने नियम पनि बनाइएको छ । करिब एक हजार ५ सय बिरुवा वितरण गरेको छ । ‘पर्यावरणमा सहयोग पुर्‍याउन कार्यक्रम सुरु गरिएको हो,’ नगरप्रमुख पुनले भने, ‘अभिभावकले दुई बिरुवा लैजानुपर्ने अनिवार्य नियम बनाइएको छ, तर आवश्यक परे बढी पनि वितरण गरेका छौं ।’ नगरपालिकाले सञ्चालन गरेको नर्सरीबाट गतवर्ष करिब १८ हजार बिरुवा वितरण गरिएको थियो । वातावरण संरक्षणमा बालबालिकाको दायित्व बढाउन कार्यक्रम प्रभावकारी हुने उनी बताउँछन् ।

दुवै नगरपालिकाले यसका लागि जन्मदर्ता हुनैपर्ने जनाएका छन् । अधिवक्ता दुर्गाप्रसाद सापकोटाले लैंगिक समानताका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । ‘यसले पुरुषप्रधान सोचाइ निरुत्साहित गर्न सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘छोरी जन्मदा अभिभावकमा उत्साह ल्याउन कार्यक्रम प्रभावकारी भएको छ ।’

स्रोत: https://www.kantipurdaily.com/news/2018/08/24/153507463952335411.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More