News

जंगली हात्ती नियन्त्रण गर्न सडक निर्माण

February 22, 2018

लक्ष्मी काफ्ले, नयाँ पत्रिका, फागुन १०, २०७४

झापाको कचनकवल गाउँपालिकाले जंगली हात्ती नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित पर्यटकीय सडक निर्माण सुरु गरेको छ । झापा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र लिङ्देनले कचनकवल गाउँपालिका–७ स्थित बालुबाडीमा पर्यटकीय सडकको शिलान्यास गरेका छन् ।

यसअघि झापाको हल्दिबारी गाउँपालिकाले पनि जंगली हात्ती नियन्त्रण गर्ने उद्देश्यसहित पर्यटकीय सडक निर्माण थालेको थियो । दुवै गाउँपालिका क्षेत्रमा पर्यटकीय सडकसँगै जंगली हात्तीलाई गाउँ प्रवेश रोक्नका लागि जंगलतर्फ ६ फिट गहिरो नालासमेत निर्माण सुरु गरिएको छ । सडक निर्माण सम्पन्न भएपछि ६ हजार ३ सय हेक्टर क्षेत्रफल रहेको जलथल जंगलको वरिपरि सौर्य विद्युतीय तारबारसमेत निर्माण गरिने गाउँपालिकाले जनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा हात्तीको उपद्रो रोक्न पर्यटकीय सडकले सहयोग पुग्ने विश्वास स्थानीयवासीले लिएका छन् ।

जलथलवरिपरि ५० किमि सडक बन्ने
कचनकवल गाउँपालिकामा १६ किलोमिटर लामो रहने यो सडक जलथल जंगलको वरिपरि ५० किलोमिटरको हुनेछ । सडकले कचनकवल गाउँपालिकाको १, ३, ६ र ७ नम्बर वडालाई समेट्नेछ । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने कार्यको थालनी सांसद लिङ्देनकै पहलमा सुरु भएको हो ।

‘यो त सुरुवात मात्रै हो,’ सडक शिलान्यास कार्यक्रममा सांसद लिङ्देनले भने, ‘यो सडकले हात्ती नियन्त्रणको काम मात्र गर्दैन, यहाँका बासिन्दाको जीवन समृद्धिको बाटो पनि तय गर्छ ।’ जंगल वरिपरि सौर्य विद्युतीय तारबारका लागि सरकारबाट आठ करोड रुपैयाँ विनियोजन भइसकेकाले तारबारका लागि स्थानीय तहले छुट्याइएको रकम पनि सडक निर्माणमै खर्च गर्न उनले आग्रह गरे ।

‘अब यहीँ गरिखाने ठाउँको निर्माण हुन्छ,’ उनले भने, ‘अबको अढाइ वर्षभित्र यस क्षेत्रमा आवश्यक सबै सडक निर्माण हुनेछन् ।’ जैविक विविधताले भरिएको जलथल जंगलमा वन विज्ञहरू अध्ययनका लागि आउने वातावरण निर्माण गर्ने उनले बताए ।

स्थानीयको २५ फिट जग्गा सडकमा
पर्यटकीय सडक निर्माणका लागि कचनकवल गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । यसका लागि हल्दिबारी गाउँपालिकाले २७ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । ‘वर्षौंदेखि हात्तीको आक्रमणमा परी सर्वसाधारणले ज्यान गुमाइरहेका छन्,’ अध्यक्ष आलमले भने, ‘अब विज्ञहरूसँग छलफल गरेर यस क्षेत्रको विकास अघि बढाइनेछ ।’

कचनकवलमा देवी लोहारको अध्यक्षतामा पर्यटकीय सडक निर्माण उपभोक्ता समिति गठन गरिएको छ । मंगलबार सांसद लिङ्देनले शिलान्यास गरेलगत्तै उक्त समितिले सडक निर्माण कार्य अघि बढाएको छ । जंगल र मानव बस्तीबीचबाट बन्न सुरु गरेको पर्यटकीय सडक ५० फिट चौडा हुनेछ । जंगलको भूभाग २५ फिट र स्थानीयले भोगचलन गरिरहेको जग्गाको २५ फिट गरी ५० फिटको सडक बनाउन लागिएको समितिका अध्यक्ष लोहारले बताए ।

स्रोत: www.enayapatrika.com/2018/02/22/26267/