जनसंख्याभन्दा बैंक खाता धेरै

August 28, 2020

यज्ञ बञ्जाडे, कान्तिपुर, भाद्र १२, २०७७ 

एकै व्यक्तिले विभिन्न बैंकमा खाता खोल्न पाउँछन्, त्यसैले संख्या धेरै देखिएको हो

काठमाडौँ — गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ ।

जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता पुग्यो भन्ने हुँदैन । एउटा व्यक्तिले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा पनि खाता खोल्न पाउँछन् । त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको बताइएको छ ।

गत आर्थिक वर्षमा मात्र बैंक तथा वित्तीय संस्थामा ४५ लाख ८७ हजार थप निक्षेप खाता खुलेका छन् । ०७६ असारमा बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ७८ लाख ६६ हजार बैंक खाता खुलेकामा ०७७ असारसम्म बढेर सवा तीन करोड पुगेको छ । यो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा मात्र खुलेको खाता संख्या हो । लघुवित्त वित्तीय संस्थामा खुलेका खाता पनि समावेश गर्दा यो संख्या धेरै हुने बताइएको छ ।

हाल सञ्चालनमा रहेकामध्ये निर्धन उत्थान र छिमेक लघुवित्त वित्तीय संस्थाले मात्र निक्षेप संकलन गर्न पाउँछन् । यस्तै अन्य लघुवित्त वित्तीय संस्थाले निक्षेपको सट्टा सदस्य बचतका रूपमा नागरिकबाट रकम संकलन गर्दै आएका छन् । यसरी खुलेका खाता पनि कुल निक्षेप खाता संख्यामा समावेश छैन ।

मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ मा वाणिज्य बैंक पुगेको, सबै नेपालीको बैंक खाता नामक कार्यक्रम सञ्चालन भएको, वित्तीय साक्षरता बढेकोलगायत कारण धेरै बैंक खाता खुलेको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘वित्तीय पहुँचको विस्तार राम्रो छ, प्रायः सबै कार्यालयमा बैंकमार्फत तलब भुक्तानी दिन थालिएको छ,’ उनले भने, ‘डिजिटल बैंकिङ कारोबार बढ्दो छ ।’ यसकारण पनि बैंकमा निक्षेप खाता संख्या बढेको उनको भनाइ छ ।

कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ सम्बन्धी राष्ट्र बैंकको उक्त अध्ययन गत आर्थिक वर्ष सार्वजनिक भएको थियो । लामो समयसम्म विभिन्न अध्ययनले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेका बेला राष्ट्र बैंककै अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको थियो । नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको बताइएको छ । ‘नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्छ ।’

वित्तीय पहुँच मापन गर्ने विभिन्न आधारमध्ये बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकका रूपमा लिएको थियो । यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एकभन्दा बढी रहेका खाता हटाएर एक व्यक्ति एक खाता मात्र अध्ययनमा समावेश गरिएको थियो ।

गत असारसम्म १५ लाख ४४ हजार कर्जा खाता खुलेका छन् । यसको अर्थ सो अवधिसम्म १५ लाख ४४ हजार जनाले कर्जा लिएका थिए भन्ने हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कर्जा खाता संख्या १४ लाख ३९ हजार थियो । यसका आधारमा कर्जामा पनि एक वर्षमा करिब एक लाख खाता थप खाता खुलेको देखिन्छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये ०७७ असारसम्म ७ सय ४७ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । ०७६ असारसम्म ७ सय ३५ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको थियो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ५५ छ । ०७६ असारसम्म यो संख्या १ सय ७१ थियो ।

स्रोत: https://ekantipur.com/business/2020/08/28/159857723932416522.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter