जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

December 04, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, १८ मंसिर २०७४ 

जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा पारेको प्रभाव र एसिया क्षेत्रको दिगो विकासबारे बहस गर्न २५ देशका विशेषज्ञ आइतबारदेखि काठमाडौंमा भेला भएका छन् । 

वातावरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा भएको ‘हिन्दुकुश हिमालय क्षेत्रको समयानुकुल र एसिया क्षेत्रको दिगो विकास’ सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनमा करिब ३ सय जना सहभागी छन् । सम्मेलनमा अफगानिस्तानदेखि म्यानमारसम्मका हिन्दुकुश हिमालय क्षेत्रका राजनीतिज्ञ, नीति निर्माता, जलवायु परिवर्तन र हिन्दुकुश हिमालय क्षेत्रसम्वन्धि अनुसन्धानकर्ता र विशेषज्ञ छन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा चुनौती थपिरहेका बेला विश्वभरका विशेषज्ञ र सरोकारवालाहरु सहभागी भएर बहस हुनु सकारात्मक भएको बताइन् । ‘हिन्दुकुश हिमालय क्षेत्रमा परेको गम्भीर असर न्युनीकरणका लागि यो सम्मेलनले मार्गदर्शन तयार गर्ने विश्वास लिएकी छु,’ भण्डारीले भनिन्, ‘त्यसो भयो भने अर्बौ मानिसको भविष्य सुनिश्चित हुनेछ ।’

हिन्दुकुश हिमालय क्षेत्रमा देखा परेका समस्या समाधानमा एकल प्रयासले मात्र सफलता हात नपर्ने उल्लेख गर्दै उनले त्यसका लागि साझा रणनीति र सामुहिक कार्यक्रमको खाँचो औंल्याइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनजन्य जोखिम बढाउन र वातावरणीय क्षय गराउन विकसित मुलुकहरुको योगदान बढी रहेको उल्लेख गर्दै पृथ्वी र मानव रक्षाका लागि उनीहरुले लगानी बढाउनुपर्नेमा जोड दिइन् । 

सम्मेलनमा वातावरणमन्त्री मिथिला चौधरीले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनजन्य जोखिम न्युनिकरणका रणनीति र कार्यक्रम तयार गर्न सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । भुटानको वन तथा कृषी मन्त्रालयका सचिव तथा इसिमोड बोर्डका अध्यक्ष दासो रिन्जिन दोर्जीले जलवायु परिवर्तनको चपेटामा परिरहेका बेला भएको अन्तराष्ट्रिय सम्मेलनले सुखद भविष्यका लागि समयानुकूलन कार्यक्रमा तर्जुमा गर्न सहयोग गर्ने बताए ।

इसिमोडका महानिर्देशक ड्याभिड मोल्डनले पर्वतीय क्षेत्रका समस्याबारे इसिमोडले लामो समयदेखि काम गरिरहेको बताउँदै ती समस्यासंग जुध्न आवश्यक कार्यक्रम तयार गर्न सम्मेलन आयोजना गरिएको प्रस्ट्याए । बुधवारसम्म चल्ने सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रको दिगो विकास र उक्त क्षेत्रका जनताको सुखद भविष्य निर्माण गर्न बहस हुनेछ । 


स्रोत: http://bit.ly/2AoCjLN

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More