जहाजसँग चरा ठोक्किने पो हो कि !

December 14, 2021

सुरज कुँवर, कान्तिपुर, मङ्सिर २८, २०७८ 

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडाउँदा पाइलटहरूको मुख्य चिन्ता हुन्छ, ‘चरा ठोक्किने पो हो कि ! इन्जिनमा क्षति पुग्ला कि !’ स्वदेशी–विदेशी सबै वायुसेवाका पाइलटको साझा चिन्ता हो, काठमाडौं अवतरण गर्दा र उड्दा । उनीहरूको चिन्ता अस्वाभाविक होइन ।

चरा ठोक्किँदा कुच्चिएको विमान र विमानको पंखामा अड्किएको चरा (बीच) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा मार्न खटिएका प्रहरी (दायाँ) र मारिएको चरा लैजाँदै कर्मचारी । तस्बिर सौजन्य : नागरिक उड्डयन प्राधिकरण

नौ वर्षअघि काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर विमान टेकअफकै क्रममा कालो चिलसँग ठोक्कियो, मनहरा खोलाछेउ झर्‍यो । काठमाडौं विमानस्थलबाट टेक अफ गरेको मिनेट पनि नबित्दै भएको त्यो दुर्घटनामा ७ बेलायतीसहित १९ जनाको ज्यान गएको थियो । सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलदेखि ४ सय मिटर मात्रै पर दुर्घटना भएको विमानबाट कसैलाई पनि सकुशल उद्धार गर्न सकिएन । चरा ठोक्किएर दायाँ इन्जिनले काम नगरेपछि उक्त जहाजको चालकदलले बायाँ इन्जिनको भरमा टेक अफ नियन्त्रणको प्रयास गर्‍यो । तर सफल भएन । जहाज मनहरामा खसेर टुक्राटुक्रा भयो ।

उक्त घटनापछि विश्वभर नेपालको उडान सुरक्षामाथि थुप्रै प्रश्न उठे । लगत्तै नेपाललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले रातो सूची (सेफ्टी कन्सर्न लिस्ट) मा राख्यो । चार वर्षपछि सन् २०१७ मा नेपालमाथि लगाइएको रातो झन्डा आइकाओले त हटायो तर २०१३ देखि नै युरोपियन युनियनले नेपाल नागरिक उड्डयन क्षेत्रको नियमनमाथि प्रश्न उठाउँदै नेपाली वायुसेवालाई आफ्ना सदस्य मुलुकहरूमा लगाएको निषेध ८ वर्षदेखि कायमै छ ।

सीताको जहाजले धावनमार्ग छाडेको ५ सेकेन्डमै दायाँ इन्जिनमा चरा ठोक्किएर भएको त्यो दुर्घटनाको हालै काठमाडौंमा आयोजित एक कार्यक्रम फेरि समीक्षा भएको छ । संसारभरका मुलुकका आकाशलाई पुलका रूपमा जोड्न ७७ वर्षअघि स्थापना गरिएको संयुक्त राष्ट्रसंघ मातहतको (आइकाओ) को स्थापना दिवसमा भेला भएका उड्डयनकर्मीहरूले नेपालमा अझै जहाजले चरा र चौपायासँग सामना गर्नुपर्ने त्रास बढिरहेको भन्दै चिन्ता कार्यक्रममा सहभागी पर्यटनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने र नियमनकारी निकायका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलगायतलाई सुनाएका थिए ।

‘सुरक्षित उडानका लागि वन्यजन्तुको व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने विषयमा पर्यटन मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली वायुसेवाहरूको छाता संगठन (आओन) ले पछिल्ला ११ महिना ४३ वटा उडान चरासँग ठोक्किएको र १२ वटा उडानले धावनमार्गमा वन्यजन्तु सामना गरेको तथ्यांक नै देखायो । यो तथ्यांक कोभिडअघिका वर्षको दाँजोमा बढेको देखिन्छ । चार वर्ष (सन् २०१८–२०२१) को अवधिमा २ सयवटा उडानमा रहेका पाइलटले चराका कारण जहाजलाई अन्यत्रै मोड्नुपरेको वा टेक अफ रिजेक्ट गर्नुपरेको घटना रेकर्ड गराएको देखिन्छ । त्यस्तै यही अवधिमा धावनमार्गमा जहाज चरा वा वन्यजन्तुसँग ठोक्किएको घटना पनि भएका छन् ।

रेकर्डअनुसार मुख्यतः काठमाडौंमा चरासँग जहाज ठोक्किने घटना धेरै भएका देखिन्छन् भने विराटनगर, भैरहवा र नेपालगन्जमा जहाज धावनमार्गमा गुडिरहेका बेला स्याल र बँदेलसँग ठोक्किएका घटना भएका छन् । ‘काठमाडौंमा पाइलटहरूलाई चराले तनाव दिन्छ,’ बुद्ध एयरको उडान सुरक्षासँग सम्बन्धित विमानस्थलका एक अधिकारी भन्छन्, ‘काठमाडौंबाहिरका विमानस्थलमा स्याल र बँदेलको बिगबिगी छ । विराटनगर विमानस्थलमा जरायो पनि देखियो । यी घटनाले विमानस्थल व्यवस्थापन उडान सुरक्षामा संवेदनशील नभएको देखिन्छ ।’

वन्यजन्तु र जहाजको टकरावले भएका घटनामा मानवीय क्षतिको जोखिम अत्यधिक छँदै छ, वायुसेवाहरूले सानो फिस्टे चरासँगको जुधाइमा पनि करोडौंसम्मको आर्थिक क्षति व्यहोर्नुपरेको छ । दुई साताअघि मात्रै काठमाडौंबाट नेपालगन्ज गएको बुद्ध एयरको एटीआर जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किएको थियो । बुद्धले यो घटनाका कारण १० लाख रुपैयाँ मर्मतमा खर्च भएको र जहाजलाई १० दिनसम्म ह्यांगरमा राखिएको बताएको छ । त्यसबाट करिब ३ करोड रुपैयाँ आम्दानी गुमेको कम्पनीको दाबी छ । नेपालगन्ज एयरपोर्टमै मध्यकात्तिकमा हुम्ला जाँदै गरेको सीता एयरको डोर्नियर जहाज तीनवटा जंगली बँदेलसँग ठोक्कियो । उक्त घटनामा सीताले जहाज मर्मत र आम्दानीमा करोडौं क्षति भएको दाबी गर्दै प्राधिकरणसँग तेस्रो पक्ष बिमामार्फत राहत मागेको छ ।

यस्ता घटना आन्तरिक उडानमा मात्र सीमित छैन । तीन वर्षअघि दोहाबाट फर्किएको हिमालय एयरलाइन्सको न्यारोबडीको बायाँ इन्जिनमा अवतरणका क्रममा ठोक्किएर चिल छिर्‍यो । कम्पनीका अनुसार उक्त घटनामा हिमालयको जहाज ५ महिना ग्राउन्डेड भयो । उक्त एयरलाइन्सले करिब ७० करोड इन्जिन मर्मतमा मात्रै खर्च लागेको दाबी गरेको छ । हिमालयभन्दा बढी क्षति व्यहोर्नेमा नेपाल वायुसेवा निगम र जेट एयर पनि छन् । यिनले प्राधिकरणलाई टिपाएको रेकर्डअनुसार निगमले २१ वर्षअघि र जेटले ७ वर्षअघि काठमाडौंमा सानो चराका कारण अर्ब रुपैयाँ पर्ने एउटा/एउटा इन्जिन नै क्षति भएको थियो ।

मंगलबारको प्रस्तुतिमा नेपाल उडान गर्ने विदेशी वायुसेवाले चरा वा धावनमार्गमा वन्यजन्तु सामान गर्नुपरेका घटना समेटिएका थिएनन् । त्यस्तै नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सबाहेकका ७ वटा वायुसेवामाथि गरिएको १० महिनाको अध्ययनमा जहाजहरूले अवतरण हुने तरखर गर्नै लाग्दा (अप्रोच) वा अवतरण (ल्यान्डिङ) का क्रममा सबैभन्दा बढी वन्यजन्तुसँग ठोक्किने घटना भएका छन् । नेपालको नागरिक उड्डयन क्षेत्रमा चरा तथा वन्यजन्तुको असरबारे अध्ययन गरेका असित बस्नेतले भने, ‘यो तथ्यांक बढ्दोक्रममा देखिन्छ ।’ हिमालय एयरलाइन्सको सेफ्टी विभागमा कार्यरत बस्नेतका अनुसार ‘पछिल्ला १० महिना धावनमार्गमा उचाइ लिन (टेक अफ) लाई गुडिरहँदा ११ उडानले चरासँग र ३ वटा उडानले वन्यजन्तुसँग ठोकिनुपर्‍यो ।’

नागरिक उड्डयन प्राधिकरणले विषयविज्ञको संलग्नतामा गराएको एउटा अध्ययनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र आसपासमा ३९ प्रकारका चराचुरुंगी पाइने देखाएको छ । जसमा ३० हाराहारी रैथाने देखिन्छन् । बाँकी हिउँदयाममा आउने आगन्तुक चरा छन् । विमानस्थल आसपासका ५९ प्रकारका बोटबिरुवा चराहरूका लागि आकर्षक बासस्थान बनेका छन् । उक्त अध्ययनले नेपालमा उडान वा अवतरणका क्रममा जहाजसँग ठोक्किरहने चराहरूमा कालो चिल, काग, परेवा र उल्लु छन् भने धावनमार्गमा जहाज गुड्दा स्याल, बँदेल, बाँदर, नीलगाई ठोक्किने गरेको देखाएको छ । चराको गतिविधि हुने मुख्य महिनामा चैत–वैशाख, जेठ–असार, भदौ–असोज र कात्तिक पर्छन् । चार वर्षमा भएका घटनालाई विश्लेषण गर्दा चरा र जहाज ठोक्किने घटना मुख्यगरी बिहान ८ देखि ११ बजे बढी हुने गरेका देखिन्छन् ।

सन् १९९६ मा थाईको एयरबस चरामा ठोकिएको घटना नेपालमा रेकर्ड भएको पहिलो हो । त्यसयता जहाजको चराचुरुंगी र वन्यजन्तुसँगको मुठभेट नघटेको भन्छन्, प्राधिकरणका निमित्त उपमहानिर्देशक तथा वन्यजन्तु जोखिम व्यवस्थापन विज्ञ देवचन्द्र लाल कर्ण । उनका अनुसार वन्यजन्तु तथा चराचुरुंगी ठोक्किने घटना विमानस्थल एक्लैले नियन्त्रण गर्न सक्दैन । यसका लागि विमानस्थल वरिपरि जोडिने स्थानीय निकाय, सर्वसाधारण र सरोकारवालाबीच प्रभावकारी समन्वय हुनुपर्छ । ‘विमानस्थलभित्र घाँस बेलाबेला काटिरहनुपर्छ । तारबार बलियो बनाई चौपाया छिर्न दिनु हुँदैन । विमानस्थलबाहिर तोकिएको सीमासम्म फोहोर तथा डम्पिङ साइट हुनु हुँदैन ।

काठमाडौं विमानस्थल तीन ठाउँमा वाग्मती र मनहरा नदीले घेरिएको छ । यी दुवै नदी फोहोर भएकाले आसपासका क्षेत्रमा चरा तथा जनावरहरू बढी देखिने गरेका छन् । सँगै विमानस्थल छेउछाउमा स्थानीय निकायले मासु तथा सेकुवा पसल सञ्चालन गर्न दिनु हुँदैन । तर, यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन । विमानस्थलभित्र चरा धपाउने सिकारी तथा उपकरणहरू चौबीसै घण्टा खटाइनुपर्छ । कर्णले भारतको मुम्बई, दिल्ली र बैंग्लोरमा जस्तै नेपालमा पनि तत्कालका लागि ससाना पटका पड्काएर चरा धपाउने उपाय अवलम्बन गर्न सकिने सुझाव दिन्छन् । काठमाडौं विमानस्थलनजिकै पशुपति क्षेत्रको वन पनि पर्छ । त्यहाँ छाडिएका बाँदर बथानमै त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिएका दृश्य पनि सामान्य बनिसकेका छन् ।

इजरायल चराले सबैभन्दा बढी उडानलाई असर पार्ने मुलुकमा पर्छ । त्यहाँ उडानलाई सुरक्षित बनाउन धावन मार्गबाहिरको क्षेत्रमा कुकुरहरू छाड्ने गरिएको छ । समयसमयै हेलिकोप्टर पनि उडाउने गरिन्छ । यता नेपालमा भने त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा चर्को आवाज निकाल्ने चरा भगाउने यन्त्र, विशेष किसिमको लाइट, कम भोल्टको तारबार, मान्छे कराउने र पटाका पड्काउनेलगायतका उपायहरू अवलम्बन हुँदै आएको क्यानको वेबसाइटमा राखिएको म्यानुअलमा उल्लेख छ । तर काठमाडौं बाहिरका विमानस्थलहरूमा भने चराचुरुंगी र वन्यजन्तुलाई लखेट्ने र धपाउने मात्र गरिन्छ ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विमानस्थलहरू जनावर लुक्ने ठाउँ हुँदै गएको बताउँदै चराचुरुंगीको ठोक्किँदा सबैभन्दा ठूलो क्षति यात्रु र वायुसेवाले बेहोर्नुपरिरहेको बताए । र, यस विषयलाई सरोकारवाला निकायले गम्भीरतापूर्वक नलिएको थापाको गुनासो छ । ‘बर्ड–हिट हुँदा जहाज महिनौं दिन थन्किन्छ ? हामीले मात्रै गर्नुपर्ने ? म पाइलट पनि हुँ । थुप्रै पटक अन्तिम समयमा उडान रोक्ने र अवतरण गर्न लाग्दा डाइभर्ट गरेको छु,’ उनले भने, ‘चराका कारण अन्तर्राष्ट्रियस्तरमै बदनाम हुने घटना भए । एयर अपरेटर पैसावालाले खोलेका संस्था होइनन् । धेरैलाई रोजगारी दिएका छौं । कर तिरेका छौं । कसलाई गुनासो गर्ने ?’

चरा र वन्यजन्तुका कारण नेपालको हवाई सुरक्षामाथि अन्तर्राष्ट्रियस्तरमै प्रश्न उठिसक्दा पनि यस विषयमा सरकारको उदासीनता उदेकलाग्दो छ । सीताको दुर्घटनापछि सन् २०१३ मा पर्यटन सचिव अध्यक्ष रहने ‘चरा नियन्त्रण तथा न्यूनीकरण समिति’ बनाइएको थियो । गृह रक्षा, वातावरण, स्थानीय मन्त्रालयका सहसचिव, मेयर, विमानस्थलमा रहेको ११ नम्बर वाहिनी प्रमुखसहित ११ सदस्य समितिको ८ वर्षयता एउटा पनि बैठक बसेको छैन । समितिले राष्ट्रियस्तरमा नीति बनाउने, अनुगमन गर्ने, अन्तरनिकाय समन्वय गर्नुपर्ने कार्यादेश छ । बैठक नबसेको विषयमा वायुसेवा सञ्चालकहरूले गुनासो गर्दै आएका छन् ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस समितिका सदस्य सचिव रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलाई एक साताभित्र बैठक राख्न निर्देशन दिएको बताए । सचिव न्यौपानेले चरा तथा वन्यजन्तुसँग जहाजले कुन विमानस्थलमा बढी खतरा सामना गर्नुपरेको छ त्यसको कार्ययोजना बनाइने दाबीसमेत गरे ।

स्रोत: https://ekantipur.com/news/2021/12/14/163944426543131207.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter