News

जहिल्यै गैंडा सार्न मात्रै जोड

March 30, 2017

Ekantipur, Abdullah Miya, 30th March 2017, Kathmandu

पटक–पटकको गैंडा स्थानान्तरणबारे विशेषज्ञ र चितवनवासीको ‘तीव्र आक्रोश’ बीच फेरि वन मन्त्रालयले आगामी साता चितवन निकुञ्जका १० गैंडा शुक्लाफाँटा र बर्दिया निकुञ्ज लैजाँदै छ । राष्ट्रिय निकुञ्ज विभागले २१ चैतदेखि गैंडा सार्न सुरु गर्नेछ । 

गत वर्ष बर्दियाको बबई उपत्यका लगिएका एउटा भाले गैंडा र विगतमा ७० भन्दा बढी गैंडा मरेको भन्दै चितवनवासी र संरक्षण क्षेत्रका विशेषज्ञले स्थानान्तरणलाई ‘मार्ने कि सार्ने’ भनी प्रश्न उठाइरहेका बेला फेरि सार्न लागिएको हो । 

करिब ३० वर्षको अवधिमा चितवन निकुञ्जबाट ९२ गैंडा स्थानान्तरण गरिएका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन् । 

‘पहिलो चरणमा शुक्लाफाँटा निकुञ्जमा ५ गैंडा लगिनेछ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले कान्तिपुरसित भने, ‘तयारी पूरा भइसक्यो ।’ शुक्लाफाँटामा १६ वर्षअघि ४ गैंडा स्थानान्तरण गरिएका थिए । त्यहाँ अहिले १० गैंडा छन् । १६ वर्षमा ६ वटामात्र गैंडा बढ्नुलाई विशेषज्ञहरूले खासै प्रगति मानेका छैनन् । 

शुक्लाफाँटा निकुञ्जमा सारेलगत्तै बर्दियाको बबई उपत्यकामा ५ गैंडा लगिनेछ । जहाँ अहिले ४ वयस्क र एक बच्चा गैंडा छन् । गत वर्षको फागुनमा बबईमा ३ पोथी र दुई भाले गरी ५ गैंडा चितवनबाट लगेर छाडिएका थिए । त्यसमध्ये एउटा गैंडा बिरामी भएर १९ फागुनमा मरेको छ । करिब एक वर्षको बीचमा दुइटा पोथीले बच्चा जन्माएकामा एउटा बच्चा गत माघ १ गते बाघले मारिदिएको छ । विभागले शुक्लाफाँटाका बाह्रसिंगा चितवन निकुञ्ज ल्याउनेछ । 

स्थानान्तरण गरिएका गैंडा मरिरहेका बेला मन्त्रालय र निकुञ्ज विभागले भने फेरि स्थानन्तरणमै जोड दिएको छ । विभागका अधिकारीहरू भने शुक्लाफाँटा र बबईमा अहिले गैंडाको संख्या थोरै भएका कारण वंश विस्तार हुन नसकेकाले स्थानान्तरणलाई जोड दिनुपरेको तर्क गर्छन् । 

स्थानान्तरणमा संकटापन्न सूचीका वन्यजन्तु स्थानान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को मार्गनिर्देशिका पूर्णरूपमा पालना नभएको विशेषज्ञहरूको दाबी छ । ‘एकोहोरो स्थानान्तरण गरिरहनुभन्दा विगतको उपलब्धि र कमीकमजोरीबारे स्वतन्त्र विज्ञद्वारा मूल्यांकन गराई त्यसका आधारमा मात्र नयाँ कार्यक्रम बनाउनु उपयुक्त हुन्छ,’ विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा बसेर तराईका वन्यजन्तु अनुसन्धान गरेका नवराज चापागाईंले भने, ‘चितवनवासीले उठाएका प्रश्न र केही विशेषज्ञहरूको विरोध चिर्न भने पनि स्वतन्त्र विशेषज्ञहरूबाट वैज्ञानिक अध्ययन आवश्यक देखिन्छ ।

 

डब्लूडब्लूएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) जस्ता सहयोगी दाता र त्यहीं कार्यरत विशेषज्ञहरूलाई नै स्थानान्तरण र अनुगमन दुवैको जिम्मा दिँदाको परिणाममाथि नै विशेषज्ञहरूले ‘अविश्वास’ गर्ने गरेका छन् । यस पटक पनि ती संस्थासहित जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल) को आर्थिक तथा प्राविधिक सहयोगमा गैंडा सारिँदै छ । उपमहानिर्देशक भट्टराईका अनुसार स्थानान्तरणमा यो वर्ष पनि करिब एक करोड रुपैयाँ खर्च हुँदै छ । 

‘बर्दियाको बबईमा गैंडा मर्नुको कारण के हो सर्वसाधारणलाई थाहै छैन,’ त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका अध्यापक तथा वन्यजन्तुविद् डा.मुकेशकुमार चालिसे भन्छन्, ‘त्यसका लागि वैज्ञानिक अध्ययन गरेर कारण पत्ता लगाउनेतिर सरकारले ध्यान दिएको देखिन्न, त्यही भएर जनताले जहिल्यै प्रश्न उठाइरहेका छन्

चालिसेका अनुसार चितवनभन्दा बबईको वातावरण/बासस्थान फरक छ । ‘बर्दिया एक डिग्री तातो छ,’ चालिसेले भने, ‘बासस्थान पो मिलेन कि वा प्रजनन प्रक्रियामा गडबडी भयो कि त्यसबारे पहिला विस्तृत अध्ययन आवश्यक छ ।’ करिब दुई वर्षअघि बासस्थान र सुरक्षाको कारण देखाउँदै बर्दिया निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले स्थानान्तरण रोकेका थिए । सुरक्षा व्यवस्था भने अहिले मजबुत छ । 

वन्यजन्तुविद् चालिसे सारिएका गैंडा मर्दै जाने र सार्न पनि नछाड्ने हो भने दुर्लभ वन्यजन्तुको नोक्सानीबाहेक केही नहुने तर्क गर्छन् । ‘कतै हामी हचुवाको भरमा त वन्यजन्तु सारिरहेका छैनांै ?’ उनको प्रश्न छ, ‘उठेका यी प्रश्नको शंका निवारण गर्नु आवश्यक छ ।’ 

विगतमा विभिन्न निकुञ्जमा प्रमुख संरक्षण अधिकृत भएर काम गरेका वन्यजन्तुविद् डा.नरेन्द्रमानबाबु प्रधान भने बबईमा बढीमा ५० गैंडा रहन सक्ने विश्लेषण गर्छन् । ‘कर्णाली तट र बबई गरेर एक सय गैंडा बाँच्न सक्छन्,’ प्रधान भन्छन्, ‘घाँसे मैदान प्रशस्त भएकाले त्यति समस्या देख्दिन ।

एनटीएनसीका गैंडाविज्ञ डा.नरेश सुवेदी कुनै पनि बासस्थानमा वन्यजन्तुको न्यूनतम संख्या बनाउन (स्थापित गर्न) का लागि पनि स्थानान्तरण अपरिहार्य ठान्छन् । ‘गैंडालगायत वन्यजन्तुमा कम्तीमा संख्या एक सय पुग्यो भयो भने अर्को सय वर्ष त्यो लोप हुँदैन भन्ने हो,’ सुवेदी भन्छन्, ‘कुनै पार्कमा गैंडा ५० वटा छन् भने वंश विस्तार तीव्र हुन्छ ।’ 
गैंडाले १६ महिनामा बच्चा जन्माउने र हुर्काउन नै ३ देखि ५ वर्ष लाग्ने भएकाले संख्या विस्तार ढिलोजस्तो लागेको हुन सक्ने उनको बुझाइ छ । स्थानान्तरणको प्राविधिक र वैज्ञानिक पक्षबारे सर्वसाधारणलाई बुझाउन चुकेको भने उनले स्विकारे । 
विभागले बबईमा सुरक्षापोष्ट विस्तारका साथै घाँसे मैदान र पानीका कृत्रिम पोखरी बनाइएकाले गैंडाका लागि उपयुक्त वातावरण बन्दै गएको बताउँदै आएको छ । मन्त्रालयकै केही अधिकारी पनि हचुवामा स्थानान्तरण गर्न नहुने पक्षमा छन् । ‘दाताले आर्थिक सहयोग गर्‍यो भन्दैमा जथाभावी दुर्लभ वन्यजन्तु सार्नु हुँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक सहसचिवले भने, ‘स्थानान्तरणसम्बन्धी विस्तृत वैज्ञानिक अध्ययन र नीति आवश्यक देखिन्छ ।विभागका महानिर्देशक मनबहादुर खडकाले बबई र शुक्लामा संख्या कम हुनाका साथै पोथी र भाले गैंडा कम भएकाले स्थानान्तरणमा जोड दिएको बताए । ‘संख्या बढाउने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल स्थानान्तरणअघि तिनको बासस्थान, घाँसे मैदान र सिमसारको अवस्था कस्तो छ भन्नेबारे सचेत हुनुपर्ने तर्क गर्छन् । ‘स्थानान्तरणपछि कम्तीमा ५ वर्ष सूक्ष्म अनुगमन आवश्यक छ,’ ढकालले भने, ‘सुरक्षा र तल्लो तहका कर्मचारी र स्थानीय समुदायको क्षमता विकासमा पनि जोड दिनुपर्छ ।’ 
डब्लूडब्लूएफ नेपालका वन्यजन्तुविज्ञ डा.कञ्चन थापाले शुक्लामा संख्या न्यून भएकाले संख्या बढाउन अरू गैंडा थप्नुपरेको बताए । ‘संख्या बढाउन र दिगो व्यवस्थापनका लागि स्थानान्तरण नै विकल्प हो,’ उनले भने । डा.प्रह्लाद योञ्जन र डा.सुवेदीको अध्ययनले शुक्लामा गैंडा बाँच्न सक्छ भन्ने अध्ययनको निष्कर्षका साथ सन् २००१ मा त्यहाँ पहिलो पटक गैंडा स्थानान्तरण गरिएको उनले सुनाए । शुक्लामा ठूलो घाँसे मैदान र पानीको उपलब्धता भएकाले अरू गैंडा बाँच्न सक्ने उनको बुझाइ छ ।

शुक्लाफाँटा लान तयारी
भरतपुर (कास)– सरोकारवाला र संरक्षणकर्मीको असन्तुष्टिका बाबजुद चितवन निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थानान्तरणको तयारी थालिएको छ । स्थानान्तरण गर्ने सरकारी निर्णयप्रति स्थानीय र सरोकारवाला संघसंस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले बासस्थानको व्यवस्थापन तथा त्यसको सुरक्षाको प्रत्याभूतिलगायत विभिन्न माग गरेका छन् । 

वन मन्त्रालयले आगामी चैत २१ मा यहाँबाट ५ गैंडा शुक्लाफाँटा लैजान लागेको हो । सरकारकै निर्णयअनुसार गैंडा स्थानान्तरण गर्न लागेको प्रमुख संरक्षण अधिकृत रामचद्र कँडेलले बताए । ‘१ भाले र ४ पोथी शुक्लाफाँटा स्थानान्तरण गर्न लागेका हौं,’ उनले भने, ‘त्यसका लागि ३० वटा हात्ती र एक सय जना कर्मचारी खटिने भएका छन् ।’ 

बर्दिया निकुञ्जमा १ वर्ष अघि यहाँबाट ५ वटा गैंडा स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राम्रो बासस्थान भएकाले यहाँ स्थित सुकिभार, बूढीराप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट गैंडा लैजाने तयारी भइरहेको कँडेलले जानकारी दिए । 

वन्यजन्तु स्थान्तरणअघि त्यहाँको बासस्थान र त्यसको अनुकूलता सहन गर्न सक्ने/नसक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने संरक्षणकर्मीको माग छ ।

उनीहरूले विज्ञप्तिमार्फत एकसिंगे गैंडा लैजाँदै गर्दा चितवनमा गैंडाको वृद्धि सुनिश्चित हुनुपर्ने, वन्यजन्तु आदानप्रदान गर्दा जनस्तरमा त्यही किसिमको सम्बन्ध स्थापित गर्ने र स्थानान्तरण उपयुक्त भएको प्रत्याभूति स्थानीयमा गराउनुपर्ने, गैंडाको सन्तुलित वितरण हुने गरी निकुञ्ज वरपरका क्षेत्रमा सघन व्यवस्थापन हुनुपर्ने, वन्यजन्तु जोगाउन निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको योगदान र त्यसको अनुपातमा उनीहरूले लाभ पाइरहेको अवस्थामा आर्थिक समाजिक विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाएका छन् । 

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा संरक्षणकर्मी वासु ढुंगानाले गैंडा शुक्लाफाँटा लैजाने निर्णयको आलोचनात्मक समर्थन मात्रै रहेको बताए । ‘गैंडाको सुरक्षा र उचित बासस्थान नभएसम्म स्थानान्तरण गर्नुहुँदैन,’ उनले भने । गैंडा स्थान्तरणको स्थानीय र संरक्षणकर्मीले चर्को आलोचना गरेका छन् । 

यसअघि सन् २००१ मा निकुञ्जबाट चारवटा गैंडा शुक्लाफाँटा लगिएकोमा अहिले ९ वटा पुगेका छन् । शुक्लाफाँटामा गैंडालाई चाहिने घाँसेमैदान, बासस्थान उपयुक्त रहेको निकुञ्जले जनायो । यसअघि सन् २००० मा ४ वटा गैंडा छोडिएको थियो । यहाँबाट थप लगिएपछि त्यहाँ गैंडाको संख्या १४ वटा पुग्नेछ ।

 

 

 

Source: http://kantipur.ekantipur.com/news/2017-03-30/20170330082136.html