जाजरकोटमा आठ करोडको सुन्तला

February 11, 2018

जनक केसी, नागरिक दैनिक, माघ २८, २०७४

जाजरकोट – सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष आठ करोड १६ लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ । जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनअनुसार जिल्लाको कुल तीन सय ९२ हेक्टर जग्गामा लगाइएका बोटमा एक हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीराम घिमिरेले यस वर्ष जिल्लामा आठ करोड १६ लाख रुपैयाँ बारबारको सुन्तला फलेको बताए । उनले  गत वर्षभन्दा सुन्तलाको मात्रा घटे पनि बिक्री गरेर कमाइ हुने मूल्य भने बढेको बताए।   

अधिकृत घिमिरेका अनुसार गत वर्ष जिल्लामा एक हजार सात सय ६० मेट्रिक टन अर्थात सात करोड रुपैयाँभन्दा बढीको सुन्तला फलेको थियो । यस वर्ष मात्रा कम भए पनि मूल्य बढेका कारण किसानले यस वर्ष बढी आम्दानी गर्न सफल भएको उनले बताए । कार्यालयका अनुसार जिल्लाको कुसे गाउँपालिका–५ दम्दालामा सबैभन्दा बढी सुन्तला फलेको छ । दम्दालामा एक सय ४२ हेक्टरमा ६ सय ६ मेट्रिक टन अर्थात तीन करोडको सुन्तला फलेको वरिष्ठ अधिकृत घिमिरेले बताए । त्यस्तै डाडागाउँ, खलंगा, झाप्रा लगायत गाउँमा पनि सुन्तला फलेको उनले बताए।

सुन्तलाको बिरुवामा किराको आक्रमणले सुक्ने रोग लाग्नु, स्वस्थ बिरुवा अभाव हुनु र सुन्तला खेती अझै व्यवस्थित नहुनुले यस वर्ष भने जति सुन्तला उत्पादन हुन नसकेको   दम्दालाका किसान शक्तिबहादुर वलीले बताए । उनले सडक, सिँचाइ र ढुवानीका कारण  सुन्तला व्यवसायबाट आफूहरुले भनेजस्तो लाभ लिन नसकेको बताए । अर्का किसान  चन्द्रबहादुर थापाले सरकारले सिँचाइ र सुन्तला बगैंचासम्म सडकको पहुच मार्ग  बनाइदिए आफूहरु निकै लाभान्वित हुने बताए ।  धेरै फटक आफूहरुले यसबारे सरकारी निकायको ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएको र बोटमा फलेका सुन्तला बजारसम्म ल्याउन गाह्रो भएको गुनासो गरे । सरकारले जाजरकोटलाई यसै वर्षदेखि  प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोन घोषणा गरेको छ।

सुन्तला खेतीलाई व्यावसायिक बनाउन, सुन्तलाको बजार प्रवद्र्धन गर्न र सुन्तला उत्पादनलाई विकसित बनाउन विभिन्न गतिविधि गर्न सरकारले जिल्लालाई सुन्तला जोन घोषणा गरेको परियोजनाका जाजरकोट इकाई प्रमुख टंकप्रसाद रिजालले बताए । उनका अनुसार सरकारले जिल्लाको कुसे गाउँपालिकाका सबै वडा, भेरी नगरपालिकाको वडा नम्बर २ र नलगाड नगरपालिकाको वडा नम्बर ३ लाई सुन्तला जोनअन्तर्गत राखेको छ।

जिल्लामा सुन्तला खेतीलाई व्यवस्थित र आधुनिक र व्यावसायिक बनाउन सके ५० करोडको सुन्तला फलाउन सकिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । जाजरकोटको दम्दाला सुन्तलाका लागि निकै उर्वर क्षेत्र रहेको उनको भनाइ छ । सरकार, सरोकारवाला निकाय, स्थानीय कृषकले उचित लगानी र ध्यान दिए । जाजरकोटको मुख्य आर्थिक स्रोतको रुपमा सुन्तला खेती बन्न सक्ने उनले बताए।

स्रोत: http://www.nagariknews.com/news/37545/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More