News

जाजरकोटमा खाद्यान्न अभाव

January 23, 2018

अन्नपुर्ण पोस्ट, ०९ माघ २०७४

जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो।

आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन्। एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैया“मा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको बताएका छन्। ‘अनुदानको चामल र आयोडिन नुनसमेत पाएका छैनौं’, जुनीचाँदे २, अफगानका कालु तिरुवाले भने। यो वर्ष त सरकारले उपलब्ध गराउने अनुदानको चामल देख्नै नपाएको उनले गुनासो गरे।

खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जको चरम लापरबाहीका कारण अनुदानको चामल लक्षित वर्गसम्म नपुगेको हो। ठेकेदारले दशेरा र पजारु घोगी खाद्य डिपोबाट ढुवानी तथा चामल बिक्री गरिदिँदा दुर्गम भेगका बासिन्दा भोकभोकै परेको तिरुवाले बताए। दशेरा र घोगी डिपोका लागि प्रतिडिपो हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ तर ठेकेदारले हालसम्म अनुदानको चामल ढुवानी गरेका छैनन्।

यतिबेला जुनीचाँदेका मजकोट, गर्खाकोट, कोर्ताङ, दह र छेडागाड नगरपालिकाका दशेरा, सुवानाउने, पजारु, साल्मा, झाप्रा, कार्की गाउँका बासिन्दा खाद्यान्नको चरम अभाव झेलिरहेका छन्। उनीहरू थलह, सानाखोला, विराखोला, मोर्क, बालुवा, खारालगायत स्थानीय बजारमा व्यापारीले लगेको महँगो चामल किन्न विवश छन्।

जुनीचाँदे गाउँपालिकाका अधिकांश स्थानीय परिवार पाल्नकै लागि कालापहाड (भारतमा) मजदुरी गर्न जानुपर्ने बाध्यता छ। भाइरल प्रकोपले गाँजिएको यो गाउँपालिकामा अहिले खाद्यान्न अभाव हुन थालेको छ। आफैंले उत्पादन गरेको खाद्यान्न सकिएपछि स्थानीयलाई साँझ-बिहानको छाक टार्न धौधौ भएको छ। कालापहाड गएकाले पैसा नपठाउँदा परिवारलाई गुजारा चलाउनै मुस्किल हुन थालेको छ। यहाँका अधिकांश गुजराकै लागि भारतको मजदुरीको भर पर्नुपर्ने बाध्यता छ। भारत गएका पुरुषले पठाउने रकमबाटै गुजरा चल्ने महिलाले बताए।

तिहारलगत्तै गाउँका सबै पुरुष भारत गएपछि गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्रै छन्। पोषणयुक्त खानेकुरा नपाउँदा बालबालिका कुपोषणको सिकार भएका छन् भने रोग प्रतिरक्षा शक्ति पनि कमजोर बन्दै गएको छ।

जुनीचाँदे गाउँपालिका २ मजकोटका पे्रमबहादुर दमाईं ७ जनाको परिवार पाल्न बर्सेनि कालापहाड धाउने गर्छन्। भारतको मजदुरीबाट हुने कमाइले उनको परिवारको गुजारा चल्ने गरेको छ। खेतबारीमा उत्पादन हुने अन्नबालीले मुस्किलले ३ महिना पनि खान पुग्दैन उनको परिवारलाई।

किनेको चामलबाट उनको परिवारले ९ महिना गुजार्न पर्छ। भारतमा मजदुरी गरी कमाएको २०-३० हजार रुपैयाँले उनको परिवारले वर्षभर पुर्‍याउनुपर्छ। उनको परिवारले पेटभरि खान र जिउ ढाक्ने कपडासमेत पाएको छैन।

सोही ठाउँका ललित दमाईं, जसवीर दमाईं, डिल्ली दमाईं, मनवीरे दमाईं पनि घरखर्चकै लागि भारत गएका छन्। उनीहरू बर्सेनि भारतबाट मजदुरी गरी ल्याएको पैसाले घर व्यवहार चलाउने गर्छन्। गाउँमै रोजगारीको अवसर नहुँदा नुन-तेल जोहो गर्न भारत धाउनुपर्ने बाध्यता रहेको जुनीचाँदे २ अफगानका कालु तिरुवाले बताए।

गाउँका अधिकांश तन्नेरी-युवा मजदुरीको खोजीमा खाडीमुलुक तथा भारत गएका छन्। भौगोलिक विकटता कुपोषण र गरिबीका कारण स्वास्थ्य सेवामा समेत नकारात्मक असर पारेको छ। भिरालो खेतबारीमा सिँचाइ सुविधा छैन। आकाशे पानीको भरमा खेती लगाइन्छ। किसानका खेतबारी बाँझै छन्। लामो समयदेखि पानी परेको छैन। पानी नपरेका कारण खेतबारीमा लगाइएको गहुँ, जौ बाली पनि सुकेका छन्।

बर्सेनि मकै, धान, कोदो, फापरलगायत बालीको उत्पादन घट्दो छ। आफ्नो खेतबारीको उत्पादनले तीन महिना पनि खान नपुग्ने जुनीचाँदे गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए।

उनले भने, ‘भिरालो जमिन र सिँचाइ सुविधा नहुँदा अन्न उत्पादन खासै हुँदैन। कतिपयले गाउँमा काम गर्न पनि असजिलो मान्छन्। अधिकांशको रोजाइ कालापहाड नै हो। मजदुरी गरेर उनीहरू परिवारको एकसरो कपडा, नुन, तेल र खाद्यान्न जोहो गर्छन्।’

स्थानीयले पशुपालन छाडेका छन्। पशुपालन नगर्दा खेतबारीमा हाल्न मल अभाव छ। मल नहुँदा अन्न उत्पादन घटेको छ। भोकमरीले स्थानीयलाई बर्सेनि सताएको छ। स्थानीय बजारको महँगोमा चामल किनेर उनीहरू गुजारा चलाउन बाध्य छन्।

स्रोत: http://annapurnapost.com/news-details/88991