सरस्वती ढकाल, कारोबार, शुक्रवार, जेठ ४, २०७५
नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा अहिलेसम्म दूरसञ्चार क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता नदिइए पनि अब भने नीतिगत परिवर्तन हुने संकेत देखिएको छ । मुलुकको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी)मा सूचना प्रविधि क्षेत्रको योगदान नगण्य रहेको तथ्य स्मरण गर्दै नीति निर्माताहरू यसलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउने तयारीमा जुटेका छन् । संसारभार आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ को प्रयोग बढ्दै गएकाले नेपालमा पनि यसको उपयोगिता बढाउने योजना रहेको यस क्षेत्रका नीति निर्माता तथा नियामकहरूले जानकारी दिए ।
सरकारले अगाडि सारेको ‘खुसी नेपाली र समृद्ध नेपाल’को नारा साकार पार्न तथा जीडीपीमा प्रविधिको योगदान बढाउन एआईको सही उपयोग हुनुपर्नेे । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा बताउँछन् । बिहीबार अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसरमा एआईको उपयोगले विश्वले धेरै छलाङ मार्न सकेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालको विकासमा पनि यसको भूमिका महत्वपुर्ण हुने बताए । “हामी कल्पनामा अगाडि छौं तर अभ्यासमा अरु देश अगाडि छन्” राज्यमन्त्री बास्कोटाले भने, “एआईले जीवन्तताभित्रको सहजतालाई सहजता उपलब्धता गराउने भएकाले यसको सकारात्मक प्रयोग बढाउन ध्यान दिनुपर्नेछ ।”
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आर्टिफिसियल इन्टेलिजेन्समा अब नीतिगत रूपमै व्यवस्था गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिए । दिगो विकास लक्ष्य प्राप्तीका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग सहयोगी बन्ने उनको तर्क छ । राष्टिङय योजना आयोगका सदस्य मीनबहादुर शाहीले पनि अब बन्ने १५ औं पञ्चवर्षीय योजनामा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकता राखिने उल्लेख गर्दै अब सामाजिक रूपान्तरण आईसीटीबाट गर्न सकिने बताएका छन् । उनले इन्नोेभेटिभ आइडिया लिएर आउन निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् ।
सन् १८६९ मे १७ तारिखमा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन यूनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको सम्झनामा सन् २००५ देखि यो दिवस मनाउने गरिएको हो । विश्व दूरसञ्चार दिवस २०१८ को नारा ‘आर्टिफिसियल इन्टलिजेन्सको सकारात्मक उपयोग गर्न सबैलाई सक्षम बनाऔं’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको हो ।
पछिल्लो समय मोबाइल फोनमा आर्टिफिसियल इन्टलिजेन्सले मानिसको कामलाई धेरै सहज बनाएको छ । यसले म्यासेज पठाउन, भाषा अनुवाद गर्न, राम्रो क्वालिटीको क्यामेराद्वारा तस्विर कैद गर्न, फोनमा कुरा गर्न र इन्टरनेट चलाउन सहज गराएको छ । जसका कारण मानिसले घण्टौं लगाएर गर्ने काम केही समयमै गर्न सकेका छन् । आर्टिफिसियल इन्टलिजेन्सले बिनाझन्झट धेरै काम थोरै समयमा गर्न सम्भव तुल्याएको छ ।
नेपालमा अहिले जनसंख्याको तुलनामा १ सय ३० प्रतिशतभन्दा बढीले मोबाइल सीम प्रयोग गर्ने गरेका छन् भने ४० प्रतिशत बढीले डेटासहितको इन्टरनेट चलाउने गरेका छन् । यस्तै, नेपालका ११.१५ प्रतिशत घरपरिवारमा कम्प्युटर रहेको छ । अहिलेसम्म ३ करोड ७५ लाख सिमकार्ड विक्री भएको छ । कुल जनसंख्याको ३५ प्रतिशत व्यक्ति मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् । विश्वका १७० देशमध्ये सूचना प्रविधिको विकासको हिसाबले नेपाल १४० औं स्थानमा पर्छ ।
स्रोत: https://karobardaily.com/news/information_technology/5492