News

जीडीपीमा होटेल तथा रेस्टुराँको योगदान घट्दो

June 08, 2017

उत्तम काप्री, अन्नपुर्ण पोस्ट दैनिक, २२ जेठ २०७४

काठमाडौं :  देशमा अर्बौ रुपैयाँ लगानीमा होटेल तथा रेस्टुराँ थपिए पनि कुल ग्राह्स्थ उत्पादन (जीडीपी) मा यो क्षेत्रको योगदान घटेको छ । चालू आवको आर्थिक सर्वेक्षणले यो वर्ष होटेल तथा रेस्टुराँको जीडीपीमा योगदान १.९८ मात्रै रहने अनुमान गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार चालू आवमा होटेल तथा रेस्टुराँको योगदान आव २०७२/७३ को भन्दा कम हुन जान्छ । गत आवमा होटेल तथा रेस्टुराँको जीडीपीमा २ प्रतिशत योगदान थियो । तर, चालू आव यो क्षेत्रले जीडीपीका १.९८ मात्रै योगदान गर्ने प्रारम्भिक अनुमान छ । आव २०६७/६८ देखि जीडीपीमा होटेल तथा रेस्टुराँको योगदान बढ्दो थियो । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण होटेल तथा रेस्टुराँको जीडीपी योगदानमा ब्रेक लाग्न पुग्यो ।

भारतीय नाकाबन्दीका कारण आव २०७२/७३ मा आव २०७१/७२ को तुलनामा ०.०५ ले होटेल तथा रेस्टुराँको जीडीपीका योगदान घट्यो । आर्थिक वर्ष २०७१/७२ मा यो क्षेत्रको कुल योगदान २.०५ प्रतिशत थियो । तर, भारतीय नाकाबन्दीका कारण आव २०७२/७३ मा यो घटेर २ प्रतिशतमा झर्‍यो । आव २०६७/६८ मा पनि जीडीपीमा १.६३ प्रतिशत योगदान यो क्षेत्रमा थियो ।

त्यसपछि क्रमशः आव २०६८/६९ मा १.७६, ०६९/७० मा १.८९, ०७०/७१ मा १.९४ र ०७१/७२ मा २.०५ प्रतिशत योगदान पुगेको केन्द्रीय तथ्यांक विभागेको तथ्यांकले देखाउँछ । भारतीय नाकाबन्दी र भूकम्पपछि होटेल तथा रेस्टुराँ क्षेत्र सुनसान जस्तै भयो । व्यापारमा गिरावट आउन थालेपछि व्यावसयानै धरापको स्थितिका पुग्यो । व्यावसायमा भइरहेको चलायमान अर्थतन्त्र घट्न पुग्यो ।

विस्तारै विदेशी पर्यटकको आगमन बढेसँगै होटेल तथा रेस्टुराँ व्यवासाय पनि लयमा फर्कंदो छ । तारे तथा पर्यटकीय होटेल थपिने क्रम पनि बढ्दो छ । तर, जीडीपीका भने योगदान घट्दो छ । भूकम्प र भारतीय नाकाबन्दीका कारण २०१५ मा गिरावटा आएको पर्यटक आगमनमा पनि सन् २०१६ मा ३२ प्रतिशतले वृद्धि आइसकेको छ । सन् २०१७ को सुरुसँगै विदेशी पर्यटकको आगमनमा केही वृद्धि भएको अनुमान छ ।

त्यसमा पनि सन् २०२० भित्रै तारे तथा पर्यटकीय स्तरका होटेलमा ४ हजारभन्दा बढी कोठा थपिँदैछन् । अर्बौ रुपैयाँ लगानीमा होटेल शेराटन र हिल्टन होटेलमा धमाधम निर्माण भइरहेका छन् । तर, होटेल तथा रेस्टुराँको जीडीपीका भने योगदान घट्दो छ । चालू आवमा कृषि, व्यापार, निर्माण क्षेत्रको योगदान ह्वातै बढ्दा पनि अन्य क्षेत्रमा केही असर देखिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारी बताउनुहुन्छ । लामो सयमदेखि ऊर्जा क्षेत्रको घट्दो योगदान पनि चालू आवमै ह्वातै बढ्दा पनि अन्य क्षेत्रको योगदानमा केही घटेको जस्तो मात्र देखिएको उहाँ बताउनुहुन्छ ।

तर, अहिले यो अनुमान मात्र हो चालू आवमा होटेल तथा रेस्टुराँको योगदान घट्ने र अन्तिम रिर्पोट आउँदासम्म अंकमा केही तलमाथि हुन सक्ने भण्डारी बताउनुहुन्छ । ‘सबै क्षेत्रको योगदान बढेन भन्ने हुँदैन', भण्डारी भन्नुहुन्छ, ‘ केही क्षेत्रको योगदान तलमाथि हुन स्वाभाविक हो ।'

भारतीय नाकाबन्दी र भूकम्पले गर्दा पर्यटकको बसाइ र खर्चका आएको गिरावटमा पनि विस्तारै सुधार आउँदो छ । यही क्रम रहिरहेको अवस्थामा चालू आवमा केही योगदान कम भए पनि अन्य वर्षबाट यसको योगदान बढ्दै जानेमा भण्डारी आशावादी हुनुहुन्छ । हानका कार्यकारी निर्देशक प्रवेश अर्याल होटेल तथा रेस्टुराँ क्षेत्र अहिले लयमा फर्कंदै गरेको बताउनुहुन्छ ।

होटेल तथा रेस्टुराँको जीडीपीमा योगदान

आर्थिक वर्ष योगदान
२०६७/६८ १.६३
२०६८/६९ १.७६
२०६९/७० १.८९
२०७०/७१ १.९४
२०७१/७२ २.०५
२०७२/७३ २.०
२०७३/७४ १.९८ (अनुमानित)
स्रोतः केन्द्रीय तथ्यांक विभाग

 

स्रोत: http://annapurnapost.com/news/72475