News

जीर्ण सडकले कच्चा पदार्थ ढुवानीमा समस्या

August 21, 2017

निरज पिठकोटे, कारोबार आर्थिक दैनिक, ५ भाद्र २०७४ 

मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार कार्यालयको मितेरी पुलदेखि औद्योगिक करिडोर आउने बाइपास सडक जीर्ण हुँदा औद्योगिक कच्चा पदार्थ ढुवानीमा ठूलो समस्या भएको छ ।

नेपाल–भारत दशगजामा रहेको मितेरी पुलदेखि भन्सार, रजतजयन्ती चोक, नगवा, बसपार्कदेखि वीरगन्ज महानगरपालिकाको प्रतिमा चोकसम्म सडकका ठाउँठाउँमा ठूला–ठूला खाडल परेर औद्योगिक कच्चा पदार्थ ढुवानीमा पनि समस्या भएको हो ।

नेपालको औद्योगिक कच्चा पदार्थमध्ये अधिकांश रक्सोलबाट वीरगन्ज नाका हुँदै औद्योगिक करिडोरलगायत देशका विभिन्न स्थानमा ढुवानी हुने गर्छ । सडक खराब भएपछि ढुवानीकर्ताहरूले सेवा दिन नै आनाकानी गरिरहेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद बताउँछन् ।

“सडकमा पैदलै हिँड्नसक्ने अवस्था पनि छैन, रक्सोलबाट औद्योगिक करिडोरका लागि कच्चा पदार्थ ढुवानी गर्ने ढुवानीकर्ताहरू ढुवानी गर्न मानिरहेका छैनन्,” उनी भन्छन्, “कुन दिनदेखि ढुवानी नै बन्द गर्लान् भन्ने चिन्ता छ ।” ढुवानी बन्द ग-यो भने औद्योगिक उत्पादनमा प्रभाव पर्ने वैदको भनाइ छ । पहिलेदेखि नै खराब रहेको भन्सारदेखि बाइपाससम्मको सडक वर्षासँगै आएको बाढीले गर्दा झन धेरै बिग्रिएको छ ।

उनले सडक जीर्ण भएका कारण कुनै पनि ढुवानीकर्ताले ढुवानी गर्न नमानेको बताए । भन्सारमा आएका सामानहरू पनि अन्य स्थानमा ढुवानी गर्नका लागि सडकको अवस्थाका कारण उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको बताए । सडक मर्मतका लागि तत्काल पहल नगरे सबै ढुवानी बन्द हुने अवस्था रहेको उद्योगी, व्यवसायी तथा यातायात व्यवसायीहरू बताउँछन् । 

सडक खराब भएर खाल्डाखुल्डीमा लोड गाडी चलाउनुपर्दा दैनिक सयभन्दा बढी गाडी बिग्रिएर ग्यारेजमा लानुपर्ने अवस्था रहेको मोनालिसा टे«डिङका मनोज राजपाल बताउँछन् । “सडकमा मोटरसाइकलसमेत चलाउन नमिल्ने अवस्था छ । लोड गाडी चलायो भने कुन बेला कहाँ गाडी विग्रिन्छ ठेगान हुदैन,” उनी भन्छन् ।

लामो रुटमा ट्रक चलाउँदा हुनेभन्दा बढी खर्च स्थानीय ढुवानीमै हुने गरेको व्यवसायीहरू बताउछन् । सडक मर्मतका लागि स्थानीय प्रशासनमा दबाब दिन डेलिगेसन नै जाने तयारीमा व्यावसायीहरू छन् । रक्सोलबाट सामान ढुवानी गरेर ल्याउदा वीरगन्जतर्फको सडक खराब भएकाले जुनसुकै बेला पनि कुनै न कुनै गाडी बिग्रिएर बाटोमै राख्नुपर्ने बाध्यता रहेको उनीहरूको अनुभव छ ।

जीर्ण सडकमा सामान ढुवानी गर्दा बर्षातमा सामानको पनि नेक्सानी भएकाले उद्योगी व्यवसायीहरू दोहोरो मारमा पर्ने गरेका छन् ।

स्रोत: https://www.karobardaily.com/news/81677