News

जीर्ण सडकले बढायो दुर्घटना

February 16, 2018

प्रवीर ददेल, आर्थिक अभियान, फागुन ४, २०७४

रुकुम । दाङको अमेलियादेखि रुकुम सल्लेसम्मको राप्ती लोकमार्ग खण्ड जीर्ण बन्दै गएको छ । २०५८ मा निर्माण भएको सडकखण्डको स्तरोन्नति नहुँदा बिग्रिँदै गएको स्थानीयले गुनासो गरेका छन् ।गत आर्थिक वर्ष २०६९/७० मा विश्व बैङ्कको ६१ करोड ५० लाख ८७ हजार रुपैयाँमा ओटासिल गरिएको सडक गुणस्तरहीन भएका कारण १ वर्षमै भत्किएको हो । ओटासिल भत्किएपछि राप्ती लोकमार्ग सडकखण्ड झन् अप्ठेरो र जोखीमपूर्ण बन्दै गएको छ ।

सडक डिभिजन कार्यालय रुकुम चौरजहारीका इञ्जिनीयर नवीन शाहका अनुसार राप्ती लोकमार्गमा पर्याप्त बजेट नहुँदा कालोपत्र हुन सकेको छैन । सडक जीर्ण भएका कारण यातायातका साधनहरू सञ्चालनमा समेत अप्ठेरो भएको सानीभेरी यातायात सेवा समितिका महासचिव बीरबहादुर मल्लले बताए ।

यसैबीच, सल्यानको सिमाना खौलादेखि रुकुम सदरमुकाम मुसीकोट सल्लेसम्मको सडकखण्ड टालटुल गर्न थालिएको छ । सडक डिभिजन कार्यालय चौरजहारी रुकुम पश्चिमको २ करोड लगानीमा राप्ती लोकमार्ग रुकुम खण्ड टालटुल गर्न थालिएको छ । कार्यालयका अनुसार आगामी ३ महीनाभित्र सडकमा रहेका खाल्डाखुल्डी पुरिनेछ ।

दुर्घटना बढ्यो
राप्ती लोकमार्गमा गाडी दुर्घटना बढेको छ । सडक साँघुरो हुनु, ड्राइभरको लापरबाही, थोत्रा गाडी, यातायातमा सिण्डिकेट प्रणाली लागू भएकै कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी इञ्चार्ज गोपाल शर्माले जानकारी दिए ।

स्रोत: www.abhiyan.com.np/2018/02/16/180768